कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विष्टको हत्यामा संलग्न ‘अभियुक्त’ सार्वजनिक

मनोज बडू

दार्चुला — व्यास गाउँपालिका–४ डोकटका नरसिंह विष्टको हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । घटनाको एक साता बढी समय लगाएर प्रहरीले विष्ट हत्यामा संलग्न उनकै गाउँले २५ वर्षीय दीपक विष्टलाई सार्वजनिक गरेको छ । 

विष्टको हत्यामा संलग्न ‘अभियुक्त’ सार्वजनिक

सोमबार दिउँसो दार्चुला प्रहरीले फेसबुक पेजमार्फत मंसिर ३ गते रातिको हत्या घटनालाई सार्वजनिक गरेको हो । हत्यामा संलग्न डोकट, चौपखेका २५ वर्षीय दीपक विष्ट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंसिर ३ गते राति १० बजेतिर गाउँपालिका–४ डोबस्थित दार्चुला–तिंकर सडक खण्डमा नरसिंह र दीपकले मादक पदार्थ सेवन गरेको अवस्थामा भेट हुँदा विवाद भएको तथा दीपकले नरसिंहको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको खुल्न आएको छ ।

हत्या गरेर मृतक नरसिंहको शव घिसारेर अन्दाजी २ सय मिटर तल गोदार खोलामा लगेर ढुंगाले च्यापेको अभियुक्त दीपकले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अभियुक्त विष्टलाई पक्राउ गरी दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको दार्चुला प्रहरीका डीएसपी तर्कराज पाण्डेयले बताए । उनका अनुसार मृतक नरसिंहको शव मंसिर ४ गते घरभन्दा अलि टाढा खोल्सामा भेटिएको थियो ।

मंसिर ३ गते रातिदेखि बेपत्ता भएका विष्ट भोलिपल्ट मृत अवस्थामा भेटिएका थिए । विष्टको शरीरमा चोटपटक लागेको अवस्थामा स्थानीयले शव फेला परेका थिए । जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित होटल चलाउँदै आएका नरसिंह मतदानका लागि मंसिर ३ गते दिउँसो खलंगाबाट घर गएका थिए ।

घटनालगत्तै प्रहरीले अनुसन्धान सुरु गरेर थिए । सोधपुछका क्रममा अभियुक्त दीपकलाई पक्राउ गरी दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अभियुक्त विष्टलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । आफन्तले अभियुक्तलाई कारबाहीको माग गर्दै पाँच दिनसम्म मृतकको शव बुझ्न मानेका थिएनन् ।

प्रहरीले तीन दिन पहिले जिल्ला अस्पताल दार्चुलामा शवको पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाएको थियो । मृतक विष्टका आफन्तले हत्या भएको आशंका गर्दै संलग्न पत्ता नलाग्दासम्म शव नउठाउने बताउँदै आएका थिए । पछि प्रहरीले दोषीलाई कारबाही गर्न आश्वासन दिएपछि आफन्तले शव बुझ्न तयार भएका थियो । पोस्टमार्टमपछि शनिबार नै मृतकको अन्त्येष्टि गरिएको छ ।

प्रकाशित : मंसिर १२, २०७९ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?