बैतडी, बझाङ र दार्चुलामा समानुपातिकतर्फ एमाले पहिलो

बैतडी, बझाङ र दार्चुला — निर्वाचनमा बैतडी, बझाङ र दार्चुलामा प्रदेश र प्रतिनिधिसभामा समानुपातिकतर्फ एमाले पहिलो भएको छ । प्रत्यक्ष निर्वाचनमा लज्जास्पद हार व्यहोरे पनि एमालेले समानुपातिकतर्फ भने आफ्नो जनमत कायम राख्न सफल भएको हो । सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्र क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

बैतडी, बझाङ र दार्चुलामा समानुपातिकतर्फ एमाले पहिलो

बैतडीमा प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार ७६१ मत खसेकामा एमालेले सबैभन्दा बढी २९ हजार ४० मत प्राप्त गरेको छ । यस्तै, कांग्रेसले २४ हजार ५ सय र माओवादी केन्द्रले ११ हजार ४० मत पाएको छ । राप्रपाले १ हजार ९ सय ८८ मत पाउँदा चौथो स्थानमा रहेको एकीकृत समाजवादीको पोल्टामा १ हजार ४ सय मात्रै मत परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाभर ५ हजार ४ सय २१ मत बदर भएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ पनि एमालेलाई सर्वाधिक ३० हजार ८ सय ७९ मत प्राप्त भएको छ । कांग्रेसले २१ हजार ६ सय १९, माओवादीले १३ हजार १ सय २, राप्रपाले २ हजार १ सय १२ र एकीकृत समाजवादीले १ हजार ८ सय ४५ मत पाएका छन् । प्रदेशसभाको समानुपातिकतर्फ ७७ हजार ४ सय २३ मत खसेकामा ५ हजार ५५ मत बदर भएको कार्यालयले जनाएको छ ।

प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्षर्फ एउटै सिट जित्न नसकेको एमाले बझाङमा समानुपातिकतर्फ भने पहिलो भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मत परिणामअनुसार एमालेको पक्षमा २३ हजार ३ सय २७ मत परेको छ । दोस्रो ठूलो दल बनेको कांग्रेसले २० हजार ९३ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार माओवादीले ८ हजार ५ सय १६ मत, एकीकृत समाजवादीले ४ हजार ८ सय ६३ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ कुल ६४ हजार ९ सय ४३ मत खसेकामा ३ हजार ९ सय २३ मत बदर भएको छ ।

यस्तै, प्रदेशसभातर्फको समानुपातिक मत परिमाणमा पनि एमाले नै पहिलो दल बनेको छ । निर्वाचन कार्यालयका अनुसार एमालेले २२ हजार २ सय ४, कांग्रेसले १६ हजार ६ सय ४३, माओवादीले ७ हजार ९ सय ७५ र एकीकृत समाजवादीले ७ हजार ५ सय ७४ मत पाएका छन् । प्रदेशसभा समानुपातिकतर्फ कुल ६१ हजार १ सय ३ मत खसेकामा ३ हजार ८ सय १६ मत बदर भएको गौतमले जानकारी दिए ।

दार्चुलामा शनिबार सम्पन्न मतगणनाअनुसार एमालेले नै समानुपातिक निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा दुवै क्षेत्रमा एमाले पराजित भएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा समानुपातिकतर्फ एमालेले २४ हजार ८ सय ८३, कांग्रेसले २० हजार ६ सय ५५, माओवादीले ८ हजार १ सय ९०, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ सय ७९, राप्रपाले ५ सय ४ र एकीकृत समाजवादीले ४ सय ६३ मत पाएका छन् । जिल्लाका ९ वटै स्थानीय तहमा समानुपातिकतर्फ ५८ हजार ९ सय ९१ मत खसेको थियो । जसमध्ये २ हजार ४ सय ६९ मत बदर भएको छ । सदरमध्ये सबैभन्दा बढी मत सूर्य चुनाव चिह्नले पाएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताए । उनका अनुसार जिल्लामा समानुपातिकतर्फ सूचीकृत ४४ राजनीतिक दलले एक हजारभन्दा कम मत ल्याएका छन् ।

त्यस्तै, प्रदेशसभा सामानुपातिकमा कुल खसेको ५८ हजार ८ सय ६० मध्ये ५५ हजार १ सय ३५ मत सदर भएको छ । सदर मतमध्ये सबैभन्दा बढी एमालेले २४ हजार ६ सय २१ मत प्राप्त गरेको छ । कांग्रेसले १६ हजार ८ सय, माओवादीले १० हजार ६ सय ५६ मत पाउँदा सत्ता गठबन्धनकै अर्को दल एकीकृत समाजवादीलाई १ हजार १ सय ७१ मत मात्रै प्राप्त भएको छ । प्रदेशतर्फ समानुपातिकमा ३० पार्टीले १ हजारभन्दा कम मत ल्याएका छन् ।

प्रकाशित : मंसिर १२, २०७९ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?