सुदूरपश्चिममा मुख्यमन्त्री को ?- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा मुख्यमन्त्री को ?

मुख्यमन्त्रीमा माओवादी केन्द्रका खगराज भट्ट, कांग्रेसका बहादुरसिंह थापा र दिवानसिंह विष्टको चर्चा बढी
डीआर पन्त

डडेल्धुरा — बाजुराबाहेक सुदूरपश्चिम प्रदेशसभाका सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको मतगणनाको परिणाम आउन बाँकी छँदै प्रदेशको भावी मुख्यमन्त्रीको होला र कसको नेतृत्वमा सरकार बन्ला भन्ने चर्चा सुरु भइसकेको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको प्रत्यक्षतर्फ गरी २१ जनाले जित हात पारेका छन् । बाजुरामा मतगणना हुन बाकी छ ।

सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका लागि अघि सारिएका माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्जार्च खगराज भट्ट, कांग्रेसका बहादुरसिंह थापा, दिवानसिंह विष्टको चर्चा बढी छ । डडेलधुरा प्रदेश २ बाट उम्मेदवार रहेका गोविन्द बोहरा पराजित भएपछि कांग्रेसबाट मुख्यमन्त्रीको बलियो उम्मेदवार देखिएको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका समयमा गठबन्धनले जिते माओवादी प्रदेश इन्जार्च खगराज भट्ट नै मुख्यमन्त्री बन्ने बताएका थिए । गठबन्धन दलका शीर्ष नेताबीच पहिलो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको सार्वजनिक भएको थियो ।

प्रत्यक्षतर्फका ३२ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ११, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एकीकृत समाजवादीले २, एमालेले ३ र एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । बाजुराका दुई स्थानको परिणाम आउन बाँकी छ । समानुपातिकको मतगणना जारी छ । समानुपातिक मतगणनाको प्रारम्भिक परिणामअनुसार माओवादी अहिलेसम्म अगाडी छ ।

सवै परिणाम सार्वजनिक भइसकेपछि सरकार बनाउँदासम्म गठबन्धन कायम रह्यो भने सुदूरपश्चिममा गठबन्धनलाई सरकार बनाउन चाहिने आवश्यक संख्या सहज रूपमा पुग्न सक्ने देखिएको छ । ‘पहिलो चरणमा माओवादीवाटै मुख्यमन्त्री वन्ने निश्चित जस्तै छ,’ देउवानजिक एक कांग्रेस केन्द्रीय सदस्यले भने, ‘सम्भवतः डडेल्धुराबाट निर्वाचित माओवादी केन्द्रका खगराज भट्ट नै मुख्यमन्त्री बन्ने सम्भावना छ ।’ प्रधानमन्त्री देउवाले निर्वाचनअघि नै उनलाई नै मुख्यमन्त्रीका रूपमा सार्वजनिक रूपमा अगाडि सारेका कारण पनि उनको सम्म्भावना बढी रहेको उनले बताए ।

तर कांग्रेसभित्र पनि मुख्यमन्त्रीका लागि दौडधुप सुरु भइसकेको छ । कञ्चनपुर २ बाट निर्वाचित कांग्रेसका पुराना नेता बहादुरसिंह थापा, क्षेत्र नं १ बाट निर्वाचित दिवानसिंह विष्ट, बैतडीबाट निर्वाचित शिवराज भट्ट र दार्चुलाबाट निर्वाचित विक्रमसिंह धामी पनि मुख्यमन्त्रीका आकांक्षी छन् । माओवादीभन्दा प्रत्यक्ष र समानुपातिकमा बढी सांसद कांग्रेसका हुने भएकाले पनि कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने भन्दै प्रधानमन्त्री देउवालाई दबाब दिन सुरु गरेको छ । कांग्रेसका प्रदेश अध्यक्ष तथा कैलाली ४ का निर्वाचित सांसद वीरबहादुर वलायरले भने अहिले नै यो विषयमा प्रवेश गरी नसकेको बताए । समानुपातिक मतगणना सकिएपछि पार्टी नेतृत्वसंँग यस विषयमा आवश्यक छलफल हुने पनि बलायरले बताएका छन् ।

सम्भावित मुख्यमन्त्रीका रूपमा चर्चामा आएका भट्टले पनि अहिले नै सरकार बनाउने विषयमा छलफल भई नसकेको बताएका छन् । समानुपातिक प्राणालीको गणनापछि यस विषयमा छलफल हुन सक्ने उनको प्रतिक्रिया छ । भट्टले भने, ‘सरकार निर्माण गठबन्धनको सहमतिअनुरूप नै हुन्छ ।’

गठबन्धन दलहरू अलग भए भने सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी निर्णायक हुने देखिएको छ । उक्त पार्टीले कैलालीका ५ वटा निर्वाचन क्षेत्रबाट जितेको छ । समानुपातिकमा ३ जनाको संवाभन छ । नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले सरकार गठनबारे बोलिहाल्नु चाँडो बताए । ‘केही दिन प्रतीक्षा गरौं, त्यसपछि सरकार बन्ने विषयमा स्पष्ट चित्र बाहिर आउन सक्छ’ उनले भने ।

प्रकाशित : मंसिर ११, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा अधिकांश नयाँ अनुहार

प्रतिनिधिसभातर्फ ३ क्षेत्रमा एमाले, कांग्रेस र राप्रपाका उम्मेदवार निर्वाचित
रुपा गहतराज

नेपालगन्ज — बाँकेमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ क्षेत्रमा अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ तीन क्षेत्रमा एमाले, कांग्रेस र राप्रपाका उम्मेदवार निर्वाचित भएका हुन् । 

प्रदेशसभाका ६ सिटमा जसपाका दुई, एमालेका दुई, कांग्रेस र नेकपा माओवादीका एक/एक जना उम्मेदवार निर्वाचित भएका छन् । माओवादी केन्द्रकी कृष्णा केसीबाहेक निर्वाचित सबै नयाँ अनुहार हुन् । क्षेत्र नं. ३ (१) बाट प्रदेश सभामा निर्वाचित कृष्णा लुम्बिनी प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनी बाँकेबाट प्रत्यक्ष निर्वाचित एक्ली महिला हुन् ।

यसपटक बाँकेमा बहालवाला मन्त्री एवं माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराजलाई पराजित गर्दै एमाले नेता सूर्य ढकाल निर्वाचित भएका छन् । बाँके–१ मा ढकालले सत्ता गठबन्धनका उम्मेदवार गहतराजलाई ५ हजार ३ सय ९४ मतान्तरले पराजित गरी प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।

बाँके–२ मा निवर्तमान मन्त्री एवं जसपाका नेता मोहम्मद इस्तियाक राईलाई दोब्बर मतले पछि पार्दै नेपालगन्जका पूर्वप्रमुख धवलशमशेर राणा निर्वाचित भएका छन् । राणाले २९ हजार ५ सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी राईले २३ हजार ५ सय २० मत ल्याए । क्षेत्र नं ३ प्रतिनिधिसभामा कांग्रेसका महामन्त्रीसमेत रहेका किशोरसिंह राठौरले खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कक्षपतिलाई पराजित गरे ।

राठौरले २९ हजार ४० मत प्राप्त गर्दा कक्षपतिले २४ हजार २ सय ४७ मत पाएका थिए । कक्षपति नेकपा एमाले बाँकेका अध्यक्षसमेत हुन् । बाँके–१ (१) बाट माओवादी केन्द्रकी कृष्णा केसी निर्वाचित भएकी छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार केसी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सोमराज चौधरीलाई १ हजार १ सय ३७ मतान्तरले पराजित गर्दै लुम्बिनी प्रदेशसभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनले ९ हजार १ सय ३ मत प्राप्त गरेकी छन् ।

बाँके–१ (२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारूलाई ८ सय ७७ मत अन्तरले पराजित गरेका हुन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दुर्गाले १५ हजार ६ सय ५७ प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी फूलारामले १४ हजार ७ सय ८० मत प्राप्त गरेका थिए । क्षेत्र नं. १ (२) मा ६५ हजार २ सय ५५ मतदाता रहेकामा ४१ हजार २ सय ४३ मत खसेको थियो । प्रदेससभा सदस्यमा विजयी चौधरी माओवादीका पूर्वडेपुटी कमान्डर हुन् ।

बाँके–२ (१) मा जसपाका भण्डारीलाल यादव निर्वाचित भएका छन् । उनी ११ हजार ५ सय ४ मत ल्याएर निर्वाचित भए । यस्तै बाँके–२ (२) मा जसपाकै आदेशकुमार अग्रवाल जित हासिल गरेका छन् । प्रदेशसभामा पहिलोपटक निर्वाचित भएका अग्रवालले माओवादी केन्द्र त्यागेर निर्वाचनकै समयमा जसपा प्रवेश गरेका थिए । उनले पूर्व वन, वातावरण तथा भूसंरक्षण मन्त्री समेत रहेका सुरेन्द्र हमाललाई पराजित गरेका हुन् । कांग्रेसले २०७४ सालको निर्वाचनमा बाँकेका अन्य क्षेत्रमा हार बेहोर्दा हमालले मात्रै जित हासिल गरेका थिए ।

बाँके–३ (२) मा नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । कुर्मीले एमालेका भीम वलीलाई पराजित गरेका हुन् । २०४८ र २०५६ सालमा कांग्रेसको किल्ला बनेको बाँके–३ मा कुर्मीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचन लडे पनि जित भने हासिल गर्न सकेका थिएनन् । संघीय संसदको उम्मेदवार बने पनि तत्कालीन वाम गठबन्धनका उम्मेदवारले उनलाई झिनो मतान्तरले पराजित गरेका थिए । कुर्मी २०६४ र २०७० सालमा समानुपातिक सभासद भएका थिए ।

प्रकाशित : मंसिर ११, २०७९ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×