१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बझाङमा भानुभक्तको पुनरागमन

बझाङ — ०५१ र ०६४ गरी बझाङबाट दुई पटक सांसद निर्वाचित भएका एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

बझाङमा भानुभक्तको पुनरागमन

आइतबार सम्पन्न निर्वाचनमा बझाङ–१ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जोशीले एमालेका ऐन महरलाई पराजित गर्दै पुनः संसदीय राजनीतिमा पुनरागमन गरेका छन् । उनले एमालेका ऐन महरलाई ९ सय ९८ मतले पछि पारेका थिए ।

जोशीले २८ हजार १ सय ४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महरले २७ हजार १ सय ४५ मत प्राप्त गरेका छन् । यो जितसँगै उनी २०४६ पछि जिल्लाबाट सबैभन्दा बढी (तीन) पटक सांसद निर्वाचित हुने व्यक्ति पनि भएका छन् ।

शिक्षण पेसाबाट राजीनामा दिएर २०४८ को आमनिर्वाचनमा एमालेबाट बझाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका जोशी कांग्रेसका अर्जुनजंगबहादुर सिंहसँग पराजित भएका थिए । त्यसलगत्तै ०५१ को मध्यावधि निर्वाचनमा कांग्रेसका उनै सिंहलाई सोही क्षेत्रमा हराउँदै पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यसयता बझाङमा एमालेको मियोका रूपमा रहेका जोशी २०६४ को संविधानसभा निर्वाचन बझाङ–१ बाट निर्वाचित भएका थिए ।

त्यतिबेला नवोदित माओवादीको पक्षमा देशैभर उठेको जनलहरका कारण एमाले र कांग्रेसका स्थापित नेताहरूले पराजय भोग्नुपरेका बेला ०६४ को निर्वाचन जितेका जोशी ०६८ सालमा वनमन्त्री पनि बनेका थिए । त्यसयता उनी सत्ता राजनीतिबाट टाढा रहे । ०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विरोधी कित्तामा रहेका जोशी एमाले विभाजन भई एकीकृत समाजवादी पार्टी गठन भइसकेपछि एमालेमै रहेका थिए । उनी २०७८ असोज २१ गते एकीकृत समाजवादी प्रवेश गरेर स्थायी कमिटी सदस्य नियुक्त भए ।

लामो समयसम्म सत्ता र संसदीय राजनीतिमा रहेर पनि जिल्लाको विकासका लागि कुनै स्मरणयोग्य काम गर्न नसकेको उनीमाथि आरोप छ । उनले यो कार्यकाल स्मरणयोग्य बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । ‘हिजो निरंकुशताविरुद्ध लडेका दलबीच अब विकास र स्थायित्वका लागि सहकार्य हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि पनि मैले भूमिका खेल्ने छु ।’

प्रकाशित : मंसिर १०, २०७९ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?