बिदा भए म्यादी प्रहरी

कञ्चनपुर — तेस्रो पटक म्यादी प्रहरी भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ झलारीका रामसिंह धामी जिल्ला प्रहरी कार्यालयको गेटमा हँसिलो मुद्रामा भेटिए । बिहीबार बिदा भएर घर जान लागेका उनी त्यतिकै खुसी पनि थिए ।

बिदा भए म्यादी प्रहरी

डेढ महिनाअघि म्यादीमा छनोट भई तालिम गरेर निर्वाचनका लागि मतदान केन्द्रमा खटिए । मतदान सकिएपछि गणना स्थलमा पनि खटिए । प्रत्यक्षतर्फको मतगणना सकिएपछि बिहीबार उनीहरूको बिदाइ गरिएको हो । बिदाइपश्चात् घर जान लागेका उनीहरू निकै खुसी देखिन्थे ।

‘एक/डेढ महिना निकै रमाइलो भयो, निर्वाचनमा खटिएर काम गर्दाको अनुभव भयो,’ धामीले भने, ‘थोरै भए पनि घरखर्च चलाउन सकिने भयो ।’ मतदान केन्द्रमा र मतगणना स्थलमा खटिँदा त्यति धेरै गाह्रो नहुने उनको अनुभव छ । पहिलो पटक म्यादी हुँदा उनलाई निकै डर थियो । सामान्य विवादसमेत नभई निर्वाचन सकिएपछि उनले पुनः म्यादी हुने विचार गर्दै निर्वाचनमा खटिए ।

शुक्लाफाँटा नगरपालिकाकै कलुवापुरका राकेश राना पहिलो पटक म्यादी भएका हुन् । उनी पनि निर्वाचन सकिएपछि बिहीबार घर जाने तयारीमा थिए । मतदान हुनुभन्दा दुई/तीन दिन अघिदेखि मतगणनासम्म निरन्तरको ड्युटीका कारण उनी थकित थिए । ‘गाह्रो त खासै नहुने रहेछ, तर पहिलो पटक हुँदा केही थकान लागेको छ,’ उनले भने, ‘म्यादीमै भए पनि सरकारी काममा खटिन पाइयो ।’ उनी विपन्न परिवारका हुन् । घरखर्च चलाउन उनलाई समस्या छ । म्यादीमा भर्ना भएबापत आउने रकमले घरखर्च चलाउन सहज हुने उनको आशा छ ।

राना लालझाडी गाउँपालिका ४ को मतदान केन्द्रमा खटिएका थिए । सदरमुकामभन्दा टाढा भएका कारण उनी केही डराएका थिए । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकाले धेरै अप्ठेरो नभएको उनी बताउँछन् । लालझाडी गाउँपालिका रानाथारू समुदायको बाहुल्य छ । राना पनि त्यही समुदायका हुन् । प्रतिनिधिसभामा ३ लाख बढी मतदाता रहेको कञ्चनपुरमा १ सय ३२ मतदान स्थल र ३४६ मतदान केन्द्र तथा कञ्चनपुर कारागार र भीमदत्त नगरपालिकामा गरी २ अस्थायी मतदान केन्द्र थिए ।

हरेक मतदान केन्द्रमा अवश्यकताअनुसार कम्तीमा एक महिलासहित ६ देखि ९ जनासम्म म्यादी प्रहरी खटाइएको थियो । कञ्चनपुरमा १६ सय ३२ म्यादी भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए । उनका अनुसार म्यादी प्रहरीको अवधि ४० दिन र उनीहरूले ४२ हजार हाराहारी पारिश्रमिक पाउनेछन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई प्रशंसापत्रसहित बिदाइ गरेको छ । ‘सबै म्यादीको बिदाइ गरियो,’ एसपी चौधरीले भने, ‘छोटो अवधि भए पनि उनीहरु हामीसँगै निर्वाचनमा रातदिन खटिएका थिए ।’


प्रकाशित : मंसिर १०, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?