कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

परिवारकै सदस्य सुत्केरीलाई छुन मान्दैनन्

मेनुका ढुंगाना

अछाम — अछामको साँफेबगर नगरपालिका–११ देवीस्थानकी रत्ना (नाम परिवर्तन) २१ वर्षकी भइन् । गत साता उनले जिल्ला अस्पताल मंगलसेनमा पहिलो सन्तान छोरा जन्माइन् । श्रीमान् र सासूससुरा कामका लागि भारत गएपछि उनी सुत्केरी भइन् । सुत्केरी भएपछि माइतीघर मंगलसेन आइन् ।

परिवारकै सदस्य सुत्केरीलाई छुन मान्दैनन्

पहिलो पटक आमा बनेकी रत्नाले स्याहार र बच्चाको रेखदेख गरिदिने कोही भेटाइनन् । सुत्केरीलाई छोए अपवित्र भइने भन्दै उनकी आमाले समेत उनलाई छोइनन् । ‘सुत्केरीलाई छोए मलाई सञ्चो हुँदैन । देउता पनि रिसाउँछन् । अब नौ दिन भएपछि मात्रै छोरीलाई छुन मिल्छ । नातीको मुख पनि त्यही दिन हेर्छु,’ उनकी आमा राधा (नाम परिवर्तन) ले भनिन्, ‘सुत्केरी र छाउ (महिनावारी) भएकी महिला दुवैलाई छुन मिल्दैन ।’

जिल्ला अस्पतालमै पुगेका उनका आफन्तले उनलाई छुन मानेन । ‘आमाले पनि मलाई सञ्चो हुँदैन भन्नुभयो । झन् अरूले छुने कुरै भएन । अन्तिममा बज्यै नाता पर्नेले छुनुभयो,’ रत्नाले भनिन्, ‘सुत्केरी व्यथाभन्दा धेरै त आफूलाई छुने मान्छे नभेट्दा पीडा भयो ।’

कमलबजार नगरपालिका–५ की मैना (नाम परिवर्तन) पनि सुत्केरी भइसकेपछि छुने मान्छे पाइनन् । जसोतसो कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याएर शुक्रबार छोरी जन्म दिएकी उनले घरसम्म बच्चा बोकिदिने कोही पाइनन् । ‘सुत्केरी भएको नौ दिनसम्म त अछूतो नै ठान्छन् । सानो गोठमा आफैं पकाएर खानुपर्छ । यो बेला गह्रौं सामान उठाउन नमिल्ने भए पनि अरू कसैले सहयोग गर्दैनन्,’ मैनाले भनिन्, ‘मेरा त पहिले नै दुई छोरी थिए । फेरि पनि छोरी नै जन्मिन् । मैले परिवारबाट के माया पाउँथे र ?’ उनका अनुसार अझै पनि सुत्केरीलाई गरिने विभेद हटेको छैन । छोरा भए एकनासको र छोरी भए अर्को खालको व्यवहार गर्ने चलन अझै रहेको उनको भनाइ छ ।

गर्भवती भएपछि भारी सामान उठाउनु हुँदैन, अस्पताल गएर समयसमयमा चिकित्सकलाई जाँच गराउनुपर्छ भन्ने ज्ञान भए पनि विपन्न र दलित समुदायका महिला परिवारबाटै सहयोग नपाइने बताउँछन् ।

सरकारले घोषणा गरेको सुरक्षित मातृत्व कार्यक्रम अछाममा प्रभावकारी नभएको उनको भनाइ छ । ‘गर्भवती भएका बेला, सुत्केरी हुँदा र सुत्केरीपश्चात् ६ हप्ताभित्र गरिने ‘विशेष सेवा’ नै सुरक्षित मातृत्व सेवा हो भनेर सिकियो । अन्तमा आफैंलाई समस्या पर्‍यो,’ उनले भनिन् । यही सेवा नपाएका कारण आमा र बच्चाले ज्यान गुमाउने क्रम रोकिएको छैन । जिल्ला अस्पताल अछामका अनुसार घरमै सुत्केरी हुनेको संख्या २५ प्रतिसत छ । जिल्लामा ६५ वटा बर्थिङ सेन्टर भए पनि अधिकांश ग्रामीण महिला सुविधा लिनबाट वञ्चित छन् ।

प्रकाशित : मंसिर ८, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?