‘थारूमाथिका अन्यायविरुद्ध बोल्छु’- सुदूरपश्चिम - कान्तिपुर समाचार

‘थारूमाथिका अन्यायविरुद्ध बोल्छु’

मोहन बुडाऐर

धनगढी — कैलाली निर्वाचन क्षेत्र नं. ३ मा नागरिक उन्मुक्ति पार्टीका ४४ वर्षीय गंगाराम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्ता गठन्धनका कृष्णकुमार चौधरीलाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । गंगारामले २३ हजार १ सय २० मत प्राप्त गर्दै गठबन्धनका उम्मेदवार माओवादीका कृष्णकुमार चौधरीलाई ५ हजार ३ सय ७१ मतको अन्तरमा जिते ।


गठबन्धनका चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरेका थिए । कैलालीको क्षेत्र नम्बर ३ संविधानसभा २०६४ देखि लागतार माओवादीका उम्मेदवार जित्दै आएका थिए । यसअघि माओवादीबाट जितेका गौरीशंकर चौधरी एमाले प्रवेश गर्दै उम्मेदवार बनेका थिए । उनले ९ हजार ८ सय मत प्राप्त गरेका छन् ।

कैलालीको भजनी २ को मोहनपुरमा साधारण किसान परिवारमा जन्मेका चौधरीले स्नाकोत्तरसम्मको शिक्षा लिएर धेरै वर्ष गैरसरकारी संस्थामा काम गरेको अनुभवसमेत छ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय सदस्य नहुँदासम्म उनी गैरसरकारी सस्थामा कामसमेत गर्दै आएका थिए । गत स्थानीय तहको निर्वाचनभन्दा ३ महिनाअघि जन्मेको उन्मुक्ति पार्टीका उनी संस्थापक केन्द्रीय सदस्य हुन् । उनको राजनीतिमा प्रवेश भने कांग्रेसको विद्यार्थी संगठनबाटै सुरु भएको थियो । २०७४ अघिसम्म उनी कांग्रेसको भजनी क्षेत्रीय समितिका सभापति थिए । चौधरीले ०७४ बाट कांग्रेसको सक्रिय राजनीति त्यागेका हुन् । ०७४ कै निर्वाचनमा उनले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई जिताउन लागेका थिए । रेशम ०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । रेशमले त्यसबेला जसपाबाट उम्मेदवारी दिएका थिए । उनलाई ०७२ भदौमा टीकापुरको हिंसात्मक घटनापछि सोझा किसान थारू परिवारमाथि अन्याय र अत्याचार भएको लाग्यो । उनले भने, ‘म कांग्रेस छोड्दैन थिएँ तर टीकापुरको घटनालाई राजनीतिक अधिकारको आन्दोलनको रूपमा समेत कांग्रेसले लिएन । निर्दोष थारूमाथिको कारबाहीमा उल्टै साथ दियो,’ गंगारामले भने ।

उनी ०७८ फागुनमा निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीका संस्थापक सदस्य तथा संगठन विभागमा काम गर्दै आएका छन् । प्रतिनिधिसभा सदस्यमा मंगलबार निर्वाचित भएपछि चौधरीले भने, ‘हामी न्यायका लागि चुनावमा होमिएका थियौं । टीकापुर हिंसात्मक घटनापछि थारूमाथि भएको अन्याय र राजबन्दीको रिहाइका लागि प्रतिनिधिसभामा बिगुल फुक्ने काम गर्नेछु ।’ उनले आफ्नो दोस्रो एजेन्डा स्थानीयको समृद्धि र विकासका लागि पहल गर्ने भएको बताएका छन् । उनले निर्वाचन क्षेत्र ३ को अधिकांश भूभाग डुबान क्षेत्रमा पर्ने भएकाले त्यसको निकासका लागि पहल गर्ने बताए । कैलालीको ५ वटा निर्वाचन क्षेत्रमध्ये १, र २ मा पनि नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।

प्रकाशित : मंसिर ७, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्

कञ्चनपुरमा बदर मत ८ प्रतिशत

भवानी भट्ट

कञ्चनपुर — स्थानीय तहको निर्वाचनमा मतपत्र ठूलो थियो । एउटै मतपत्रमा धेरै छाप लगाउनुपर्ने थियो । जसका कारण बदर मतको संख्या पनि बढी थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मतपत्र सानो छ । निर्वाचन चिह्न पनि थोरै छन् । तर पनि बदर मतको संख्या भने ८ प्रतिशतका हाराहारी छ ।


तीन वटा विर्नाचन क्षेत्र रहेको कञ्चनपुरमा मंगलबार दिउँसोदेखि मतगणना सुरु भएको छ । बुधबार साँझसम्म भएको मतगणनामा झण्डै ७ प्रतिशत मत बदर भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा ४५ हजार मतगणना भएको छ । जसमा ३ हजार ४ सय १७ मत बदर भएको छ ।

क्षेत्र नं. १ मा ७ हजार ९७७ मत गणना हुँदा बदर मतको संख्या ४३७ छ । बदर मतको संख्या अन्य क्षेत्रको तुलनामा क्षेत्र नं.२ मा बढी छ । उक्त क्षेत्रमा १६ हजार ४९५ मतगणना हुँदा १ हजार ४६८ मत बदर भएको छ ।

यसैगरी क्षेत्र नं. ३ मा २१ हजार ३१६ मतगणना हुँदा १ हजार ५१२ मत बदर भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतमा दोहोरोतेहोरो छाप लागेका छ । कतिपय क्षेत्रमा धेरै मत खाली छन् । एउटा चिह्नमा छाप लगाउन खोज्दा अर्कोमा परेको मतको संख्या भने निकै कम छ । ‘धेरै मतपत्र खाली आएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ताराप्रसाद शर्माले भने, ‘एउटै मतमा तीन/चारसम्म छाप लागेका मत पनि देखियो ।’

धेरै मतपत्र खाली देखिनु नो भोटको अभियानले समेत काम गरेको अनुमान गरिएको छ । कसैलाई मत नदिएर धेरै मतदाताले यो संकेत देखाएको शर्माले बताए । उनले स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्र सानो भएका कारण बदर कम हुनुपर्ने भए पनि मतदाता शिक्षाको अभाव तथा गठबन्धनका कारण मतदाता अल्झिएर बढी बदर भएको हुन सक्ने बताए । ‘एउटै मतपत्रमा धेरै छाप लगाएको मतपत्र धेरै आएको छ,’ क्षेत्र नं. १ का निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले भने, ‘पट्याउन नजानेर दुईतिरै लतपतिएर पनि मत बदर भएको छ ।’ उनका अनुसार ग्रामीण भेगमा मतदाता शिक्षाको अभावका कारण समेत बढी मत बदर भएको हो । ३ लाख बढी मतदाता रहेको कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा करिब ६२ प्रतिशत मतदान भएको छ ।

प्रकाशित : मंसिर ७, २०७९ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×