मतगणनास्थल सुनसान

‘पाँच वर्षअघिको निर्वाचनको मतगणना हुँदाको क्षण सम्झँदा लाग्छ, यसपटक चुनाव भएको हो कि होइन?’ 
डीआर पन्त

डडेल्धुरा — सदरमुकामको मुख्य बजारनजिकैको जिल्ला अदालतमा प्रतिनिधि र प्रदेशसभा सदस्यको मतगणना भइरहेको छ । तर, आमनिर्वाचनको मतगणनाजस्तो चहलपहल देखिँदैन ।

मतगणनास्थल सुनसान

विगतका निर्वाचनमा डडेल्धुराको बसपार्कदेखि जिल्ला अदालत जाने सडक छेउमा अबेर रातिसम्म पनि भीडभाड हुन्थ्यो । नेताकार्यकर्ता मात्र होइन, सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति हुने गरेको मतगणनास्थल यसपटक भने सुनसान छ । मतदान र प्रचारप्रसारमा जसरी मतदाता उदासीन देखिएका थिए, मतगणनाप्रति पनि यसपटक त्यस्तै उदासीनता देखिएको छ । ‘सागर ढकालको समर्थनमा डडेल्धुरा बाहिरबाट आएका केही युवाबाहेक मतगणना स्थलमा अरूको उपस्थिति नगण्य छ,’ स्थानीय व्यवसायी करन ऐरले भने ।

मुख्य बजारमा मत परिणाम सार्वजनिक गर्न माइकको व्यवस्था छ । हरेक घण्टामा गणनाको परिणाम पनि आउँछ तर कसैलाई यसपटक सामान्य चासोसमेत भएको जस्तो नदेखिएको ऐर बताउँछन् । मतगणनास्थल जाने बाटो छेउमा फलफूल बिक्री गर्ने सीता धामी विगतका निर्वाचनमा जस्तो चहलपहल नभएको बताउँछिन् । उनले भनिन्, ‘पाँच वर्षअघिको निर्वाचनको मतगणना हुँदाको क्षण सम्झँदा लाग्छ यसपटक चुनाव भएको हो कि होइन ? जसरी मतदानप्रति कसैको चासो थिएन, मतगणनामा पनि कसैको चासो देखिँदैन ।’

अघिल्ला निर्वाचनमा मतगणना हुँदा गाउँगाउँबाट सबै दलका कार्यकर्ता तथा सर्वसाधारण चासो राखेर सदरमुकाम पुग्थे । मतगणनास्थलमा धर्ना दिएजस्तै दिनभरि मत परिणाम सुन्नका लागि उपस्थित हुन्थे । सुरक्षाकर्मीहरूलाई पनि मतगणनास्थल आसपासका क्षेत्रमा हुने भीडभाड सामान्य गर्न हम्मेहम्मे हुन्थ्यो । ०७४ को मतगणनामा झडप हुँदा दुई जना घाइतेसमेत भएका थिए । यसपटक भने त्यस्तो केही देखिएको छैन । सदरमुकामका अगुवा केशव ऐर भन्छन्, ‘यसपटक कसले जित्ला, हार्ला भन्ने सामान्य चासो पनि देखिँदैन । सामाजिक सञ्जालका कारण पनि होला सदरमुकामकै सर्वसाधारणलाई पनि यसपटक चासो राखेको देखिँदैन ।’

‘कस्ले जिते के हुने हो र ?,’ सदरमुकाम नजिक डोटी घटालका युवा नरेन्द्र बिष्टले भने ‘आमजनताको प्रतिक्रिया पनि यस्तै छ । प्रधानमन्त्री देउवाले जित्ने निश्चित जस्तै अरु पार्टीको नगण्य अवस्था छ ।’ उनले गुल्मीबाट आएर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका सागर ढकाललाई जसरी जनताले मत दिएर नेता र चुनावप्रतिको बितृष्णा झल्के जस्तै मतपरिणामप्रति पनि त्यस्तै बितृष्णा देखिएको बताए । सदरमुकाम नजिकै भलियाका युवा हरिसिंह ऐरले पनि यसपटक जितहार प्रति कसैको चासो समेत नरहेको सुनाए । डडेलधुरा क्याम्पसका प्राध्यापक युवराज जोशी डडेलधुरा मात्र होइन देशका सवै ठाउंमा दल र नेताका क्रियाकलापका कारण यस्तो अवस्था आएको वताउंछन् । ‘राजनैतिक दल र नेताहरूले जनतामा नयांँ आशा जगाउन नसक्नु यसको मुख्य कारण हो’ उनले भने ।

प्रकाशित : मंसिर ७, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?