कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली किन भए सुदूरपश्चिम केन्द्रित ?

यसपटक एमालेका विगतका सुदूरपश्चिम ‘कमान्डर’ भीम रावल चुनावी अभियानमा छैनन् । नयाँ कमान्डर बनेका लेखराज भट्ट कैलालीमा सीमित भएका छन् ।
डीआर पन्त

धनगढी — ‘यो चुनाव मात्र होइन राष्ट्रियताको लडाइँ पनि हो,’ कात्तिक १७ मा दार्चुलाबाट चुनावी प्रचार अभियान सुरु गर्दै एमाले अध्यक्ष केपी ओलीले भनेका थिए । उनले सुदूरपश्चिमबाट चुनावी प्रचार सुरु गर्नुको पछाडि विजयको सुरुवात पनि यसै क्षेत्रबाट हुने दाबी गरेका थिए ।

ओली किन भए सुदूरपश्चिम केन्द्रित ?

भारतसँगको प्रमुख सीमा समस्या रहेको दार्चुलाबाट चुनावी प्रचार अभियान सुरु गरेका ओलीले एक साता नबित्दै सुदूरपश्चिममा आधा दर्जनभन्दा बढी चुनावी सभालाई सम्बोधन भ्याएका छन् । दार्चुला, बैतडी, कञ्चनपुरमा सम्बोधन गरेर फर्किएका ओलीले शनिबार फेरि कैलाली र डोटीमा पनि चुनावी सभालाई सम्बोधन गरेका छन् । देशका अन्य प्रदेशको तुलनामा यो निर्वाचनमा ओली सुदूरपश्चिममा बढी केन्द्रित देखिएका छन् ।

ओलीले प्रचारप्रसारका क्रममा सुदूरपश्चिमलाई महत्त्व दिनुको पछाडि एमाले नेता कार्यकर्ताहरू यस क्षेत्रमा सत्ता गठबन्धनभन्दा बढी क्षेत्रमा जित्न सकिने आंकलनलाई प्रमुख कारण ठान्छन् । दुई दिनअघि एमाले सुदूरपश्चिम इन्चार्ज तथा कैलाली–४ का उम्मेदवार लेखराज भट्टले पनि एमालेले १६ मध्ये १० सिटमा निर्वाचन जित्ने दाबी गरेका थिए ।

‘भट्टले मात्र होइन अध्यक्ष ओलीलाई पनि प्रदेशका एमाले नेताहरूले धेरै क्षेत्रमा चुनाव जित्न सकिने विश्वास दिलाएका छन्,’ एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘कांग्रेसभित्रको अन्तरविरोध, वाम मतहरू एमालेमा ध्रुवीकरण हुन सक्ने अनुमान, माओवादी र कांग्रेस एकअर्काका उम्मेदवारप्रति विश्वस्त हुन नसकेको अवस्था र धेरै ठाउँमा कांग्रेस नेताहरू स्वतन्त्र उम्मेदवार रहेकाले एमालेले धेरै सिट जित्ने अनुमान नेताहरूले गरेका छन् ।’ अध्यक्ष ओली सुदूरपश्चिम केन्द्रित भएको प्रमुख कारण यही हुन सक्ने ती केन्द्रीय सदस्यको अनुमान छ ।

एमालेका स्थानीय तहका नेता कार्यकर्ताको बुझाइ भने फरक छ । सुदूरपश्चिममा प्रभावशाली मानिने एमाले पूर्वउपाध्यक्ष भीम रावलका कारण पार्टीभित्र देखिएको असन्तुष्टि, टिकट वितरणका कारण भएको अन्तरविरोधलाई सहज तुल्याउन ओली सुदूरपश्चिम केन्द्रित भएको हुन सक्ने अनुमान एमालेका स्थानीय नेताहरूको छ । अन्तरविरोध कम भए केही क्षेत्रमा चुनाव जित्न सकिने भएकाले निरन्तर यस क्षेत्रमा अध्यक्ष ओली केन्द्रित भएको एमाले नेता/कार्यकर्ताहरू बताउँछन् ।

कात्तिक १८ गते दार्चुलाको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओली ।

यसपटक एमालेका विगतका सुदूरपश्चिम ‘कमान्डर’ भीम रावल चुनावी अभियानमा छैनन् । नयाँ कमान्डर बनेका लेखराज भट्ट कैलालीमा सीमित भएका छन् । माओवादीबाट गएका भट्टले रावलजस्तै सुदूरका सबै जिल्लामा सांगठनिक प्रभाव राख्दैनन् । रावललाई टिकट नदिइएका कारण यहाँ तल्लो तहसम्मै कार्यकर्तामा असन्तुष्टि छ । एमाले फुटेर बनेको एकीकृत समाजवादी र अघिल्लो निर्वाचनमा गठबन्धनमा रहेको माओवादी केन्द्रको कांग्रेससँग गठबन्धनका कारण एमाले सुदूरपश्चिममा कमजोर देखिएकाले अध्यक्ष ओलीले अरू प्रदेशभन्दा बढी गृहकार्य गरिरहेको बुझाइ धेरैको छ ।

प्रतिनिधिसभाका १६ सिट रहेको सुदूरपश्चिममा ८ क्षेत्र तराईका कैलाली र कञ्चनपुरमा छन् । प्रदेशका ७ पहाडी जिल्लामा ८ छन् । बैतडी, डोटी र कैलाली ५ मा प्रभावशाली कांग्रेस नेताहरू स्वतन्त्र उम्मेदवार भएकाले चुनाव जित्न सहज हुने अनुमान एमालेको छ । एमाले अध्यक्ष ओली सुदूरपश्चिममा बढी केन्द्रित हुनुको कारण जे भए पनि स्थानीय तह र गत निर्वाचनमा दलहरूले पाएको मतको आधारमा भने एमाले कमजोर अवस्थामा देखिन्छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले स्थानीय तहमा पाएको मतका आधारमा एमाले डोटी, बैतडी र दार्चुलाबाहेक सबै ठाउँमा निकै पछाडि छ ।

ओलीको चुनावी दौडाहालाई सत्ता गठबन्धनका नेताहरूले भने निरर्थक प्रयासको संज्ञा दिएका छन् । ‘गठबन्धनका कारण मात्र होइन ओली शासनको पीडा भोगेका आम मतदाता यस पटक गठबन्धनसँग आकर्षित छन्,’ सबैभन्दा बढी ५ संसदीय क्षेत्र भएको कैलाली कांग्रेसका सचिव नृप सुनार भन्छन्, गणितीय हिसाबमा गठबन्धन निकै अगाडि छ ।’

प्रकाशित : कार्तिक ३०, २०७९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?