कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

तीन महिनाको तलबले असहाय बालबालिकालाई कपडा बाँड्दै धनगढीका मेयर

अर्जुन शाह

धनगढी — धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले पाउँदै आएको पारिश्रमिक सुविधावापतको रकम नगर क्षेत्रका विभिन्न असहाय संरक्षण सस्थाहरूलाई वितरण गर्दै आएका छन् ।

तीन महिनाको तलबले असहाय बालबालिकालाई कपडा बाँड्दै धनगढीका मेयर

यसै क्रममा उनले दसैंमा आफूले पाउने तीन महिनाको पारिश्रमिक रकम २ लाख ६७ हजार ८ सय रुपैयाँसमेत विभिन्न संस्थाहरूको संरक्षणमा रहेका २६९ जना बालबालिका तथा असहायहरूलाई पोसाक किन्नका लागि उपलब्ध गराउने भएका छन् ।

मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरू, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपांग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहीन विद्यार्थीलाई पोसाक किन्न खर्च गरिने बताएका हुन् ।

चुनावका बेला आफू निर्वाचित भए उपमहानगरबाट कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका मेयर हमालले भने‚ ‘दसैंमा मिठो-मसिनो र एकसरो नयाँ लुुगा लगाउन पाए हुुन्थ्यो भन्ने रहर नेपालीहरू सबैमा हुुन्छ । बालबालिकाहरूमा त अझ धेरै रहर हुन्छ । त्यही भएर यो पटक तीन महिनाको पारिश्रमिक रकमबाट बालबालिकालगायत असहायहरूलाई कपडा किनिदिने विचार गरेको हुुँ ।’

आफ्नो नाममा उपमहानगरबाट ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको पारिश्रमिक र दसैंको चाडपर्वबापतको २९ हजार रुपैयाँ प्राप्त भएको उनको भनाइ छ ।

यस्तै उनले नगर विकास समितिको अध्यक्षबापतको सुविधा रकम कटौती गर्ने निर्णय पनि गरेका छन् । हमालले नगर विकासबाट ४० लाख बजेट वृक्षरोपणमा खर्च गर्न लागेको बताए ।

प्रकाशित : आश्विन १६, २०७९ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?