दार्चुलामा दसैं सुरक्षा योजना

कान्तिपुर संवाददाता

दार्चुला — दार्चुलामा शान्तिपूर्ण रूपमा दसैंतिहार मनाउन विशेष सुरक्षा योजना लागू भएको छ । ट्राफिक नियम उल्लंघन, जुवातास र मापसेमा निगरानी गर्न दसैं विशेष सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ । 

रोजगारीका लागि भारतका विभिन्न सहर पसेका आफ्नो जन्मथलो फर्कन पुलघाट नाका हुँदै दार्चुला पुग्ने गरेका छन् । अध्ययन तथा जागिरका सिलसिलामा काठमाडौंलगायत सहर गएका पनि केही घर फर्केका छन् । केही फर्कने क्रममा छन् । नागरिकको सहायताका लागि सदरमुकाम खलंगा र शैल्यशिखर नगरपालिका गोकुलेश्वरमा प्रहरीले हेल्प डेस्क सञ्चालन गरेको छ ।

खलंगामा दुई ठाउँ र गोकुलेश्वरमा गरी तीन ठाउँमा राखिएको हेल्प डेस्कले शान्ति सुरक्षामा सहयोग मिल्ने प्रहरीले जनाएको छ । जिल्लाका अन्य ठाउँमा आवश्यकता परे अझ थप हेल्प डेस्क राखिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीले बताए । उनका अनुसार चाडपर्व केन्द्रित सुरक्षाका लागि सादा, बर्दिधारी र ट्राफिक गरेर जिल्लाभरिमा दुई सय ४४ प्रहरी परिचालित छन् ।

‘दसैं–तिहारमा जुवातास र मादक पदार्थ सेवन रोकथाम तथा नियन्त्रणमा विशेष ध्यान दिएका छौं,’ सूचना अधिकारी शाहीले भने । आवागमन बढेकाले सर्वसाधारण ठगिन नदिन प्रहरीले निगरानी बढाएको छ । यस्तो बेला आपराधिक मानसिकताका व्यक्तिको क्रियाशीलता बढ्ने, लुटपाट र ठगी हुन सक्ने भएकाले सूचना संकलनमा सादा पोसाकमा प्रहरी खटाइने उनले बताए ।

प्रकाशित : आश्विन १६, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?