हुलाक बैंक पीडितहरूले फिर्ता पाउँदै- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुलाक बैंक पीडितहरूले फिर्ता पाउँदै

वसन्तप्रताप सिंह

बझाङ — बझाङको हुलाक बचत बैंकमा जम्मा गरेको रकम बचतकर्ताहरूले तीन वर्षपछि फिर्ता पाउन थालेका छन् । तत्कालीन जिल्ला हुलाक कार्यालयका प्रमुख रणबहादुर कडायत र खरिदार शिवराज उपाध्यायले बचतकर्ताको रकम हिनामिना गरेपछि बचतकर्ताले आफुले जम्मा गरेको रकम झिक्न पाएका थिएनन् । 

आर्थिक वर्ष ०७०/७१ बाट सेवा सुरु गरेको हुलाक बचत बैंकमा बझाङका होटल व्यवसायी, महिला समूह, विभिन्न सहकारी, विद्यालय र व्यक्तिगत गरी १ हजार ७ सय जना बचतकर्ताहरूले झन्डै ५ करोड बढी जम्मा गरेका थिए । तत्कालीन कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायले कार्यालयको बचत किताबमा बचतकर्ताले जम्मा गरेको देखाउने तर रकम आफैं चलाउने गरेका कारण रकम हिनामिना भएको थियो । रकम हिनामिना भएपछि बचतकर्ताहरूमा साँवा गुम्छ कि भन्ने चिन्ता थियो ।

बचतकर्ताहरूको बचत गरेको पैसा हुलाकको खातामा आई रकम भुक्तानी दिन सुरु भइसकेको जिल्ला हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले बताए । आर्थिक बर्ष ०७५/०७६ मा हिनामिना भएको साँवा ४ करोड ९५ लाख र हालसम्मको ब्याजसहित ५ करोड ५९ लाख १४ हजार रुपैयाँ हुलाक सेवा विभागअन्तर्गतको केन्द्रीय धनादेश कार्यालयलले रकम दिएपछि भुक्तानी सुरु भएको उनले जनाए ।

हुलाक कार्यालयले एक सूचना जारी गर्दै बचतकर्ताहरूलाई चेकबुक, पासबुक, र खातावालाको नागरिकताको प्रतिलिपिसहित रकम लैजान अनुरोध गरेको छ । बचतकर्ताहरूको रकम हिनामिना भएको बारे कान्तिपुरमा ०७७ फागुन १६ गते र ०७८ पुस ७ मा समाचार प्रकाशित भएको थियो ।

हुलाक बैंकमा जम्मा गरेको रकमको साँवा नै गुम्ने होकी भन्ने चिन्तामा रहेका बचतकर्ताहरू रकम फिर्ता पाउने भएपछि खुसी भएका छन् । रकम झिक्न हुलाक कार्यालयमा बचतकर्ताको भीड लाग्न थालेको छ । ‘पेट काटीकाटी जम्मा गरेको पैसा फिर्ता नपाइने होकी भनेर चिन्ता लागेको थियो,’ जयपृथ्वी नगरपालिका वडा नं ८, बारिलकी राममती बोहराले भनिन्, ‘ढिलै भए पनि फिर्ता पायौं, खुसी लागेको छ,’ उनले आफूले पेवाको ४० हजार रकम जम्मा गरेको र सो रकम झिक्न नपाउँदा यो अवधिमा निकै तनाव ब्यहोरेको सुनाइन् ।

बचत बैंकको रकम लामो समयसम्म झिक्न नपाएपछि न्यून आय भएका बचत कर्ताहरूले राममतीको जस्तै हैरानी मात्रै ब्यहोरेका थिएन, ठूलो रकम बचत गरेका कतिपय बचतकर्ताको परिवारले नै मानसिक समस्या भोग्नुपरेको थियो । रकम झिक्न नपाउँदा कतिपयको दैनिक घर खर्च चलाउन समस्या भएको थियो भने कतिपयले उपचार गराउनसमेत सकिरहेका थिएनन् ।

चैनपुरमा चियापसल सञ्चालन गर्दै आएका डडेलधुराको अमरगढी नगरपालिका–५ का शिवराज पन्तले पनि पटकपटक गरी ११ लाख बढी रकम हुलाक बचत बैंकमा जम्मा गरेको भए पनि रकम गुम्ने डरले आफू डिप्रेसनको सिकार भएको बताए । ‘यत्रो वर्ष दुःख गरेको पैसा फिर्ता आउँदैन कि भनेर मेरो परिवार नै तनावमा परेको थियो ।’ उनले भने, ‘अस्ति भुक्तानी लैजानु भन्ने खबर पाए पछि खुशीको सिमा नै छैन,’ उनले यही कारणले परिवारका केही सदस्यको मानसिक उपचार समेत गराउनु परेको उनको भनाई छ ।

‘बचतकर्ता मात्रै होइन हामीले पनि लामो समय तनाव ब्यहोर्नुपर्‍यो । रकम फिर्ता माग्न आउनेलाई सम्झाउँदा सम्झाउँदा थाकिसकेका थियौं,’ कार्यालय प्रमुख बोहराले भने, ‘यो रकम फिर्ता गराउनका लागि विभागदेखि मन्त्रालय धाउँदाधाउँदा बल्ल सफल भइयो ।’ उनले न्यून आए भएका विपन्न बचतकर्ताहरूले दैनिक रकम माग्न आएर हैरानी गर्न थालेपछि कर्मचारी पनि समस्यामा परेको बताए ।

कसरी भयो हिनामिना ?

आर्थिक वर्ष ०७०/०७१ बाट बझाङमा हुलाक बचत बैंकले सेवा सुरु गरेको थियो । आकर्षक ब्याज पाउने विज्ञापनसहित हुलाकले बचत गर्न अनुरोध गरेपछि यहाँका स्थानीयहरू (खास गरी न्यून आयस्रोत भएका, महिला, बालबालिका र ज्येष्ठ नागरिक) यसतर्फ आकर्षित भएका थिए ।

फलस्वरूप पहिलो वर्ष नै ३ करोड ४९ लाख ७८ हजारभन्दा बढी रकम बचत भएको थियो । आकर्षक ब्याज आउने लोभले बचत गरेका एक हजार ७०१ जनाको ५ करोड ७८ लाख ६४ हजार रकम जम्मा गरेका थिए ।

जब हुलाकमा बचतकर्ताको भीड लाग्न थाल्यो । उनीहरूको बचत रकममाथि कार्यालय प्रमुखसहितका कर्मचारी नै आँखा लगाउन थाले । तत्कालीन कार्यालय प्रमुख कडायत र खरिदार उपाध्यायले पहिलो वर्ष नै ७४ लाखभन्दा बढी रकम हिनामिना गरे । ‘कार्यालयको लेजरमा बचत गरेको भनेर देखाउँदा रहेछन् तर रकम चाहिँ आफैं राख्दा रहेछन्,’ हुलाक कार्यालयका प्रमुख राजेन्द्र बोहराले भने, ‘हरेक दिन बैंकमा जम्मा गर्नुपर्ने पैसा आफैले राखेर बाहिर ब्याजमा लगाउने, घर जग्गा खरिद गर्ने गर्दा रहेछन्,’ कोही बचत फिर्ता माग्न आएमा वा ऋण माग्न आएमा पनि खल्तीबाटै दिएर बैंक चलाउने गरेका कडायत र उपाध्यायले चार वर्षसम्म (०७०/७१ देखी ०७४/७५) जम्मा गरेको ५ करोड ७८ लाखमध्ये ४ करोड ९५ लाख रकम अपचलन गरेको पाइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा त्यससम्बन्धी प्रतिवेदनमा पेस गरे । ‘जनताले जम्मा गरेको रकमको सुरक्षा गर्नुपर्ने र सहुलियत दिनुपर्ने निकायका कर्मचारीले रकम अपचलन गरी उल्टै घाटा भएको भनिएकाले यहाँ व्यापक अनियमितता भएको देखिन्छ । त्यस सम्बन्धमा थप छानबिन गरी आयोगबाट कारबाहीको पहल होस्,’ प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

खसी बेचेरै वर्षमा २४ लाख आम्दानी

सुनिता बराल

महोत्तरी —  ३० हजार ऋण लिएर ३ वर्षअघि बाख्रापालन सुरु गरेकी बर्दिवास–१ की अञ्जु दाहाल अहिले आफ्नो व्यवसायबाट खुसी छिन् । यो व्यवसायबाट वर्षमा १२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेपछि व्यवसाय थप विस्तार गर्ने उनको योजना छ ।अञ्जु र उनका भाइले गरी वार्षिक २४ लाख रुपैयाँ आम्दानी हुने गरेको हो ।

६ वटा पाठी किनेर व्यवसाय थालेको ३ वर्षमा कृषि विकास बैंकबाट लिएको ऋण तिरेर उनले बाख्रापालनकै आम्दानीले जग्गासमेत जोडिसकेकी छन् । श्रीमान् क्यान्सरपीडित भएकाले परिवार धान्ने, बालबच्चा पढाउने जिम्मेवारी पनि आफैंले सम्हाल्नुपरेको र बाख्रापालनबाटै घर–परिवार सहजै चलिरहेको अञ्जुले बताइन् ।

२ छोरी, १ छोरालाई पढाउने मात्रै हैन, श्रीमान्लाई मासिक लाग्ने ३० देखि ३५ हजार रुपैयाँ उपचार खर्च र घरखर्चको जोहो पनि खसी बेचेरै गरिरहेको उनले सुनाइन् । अञ्जुले गरेको व्यवसाय फस्टाउँदै गएपछि १४ वर्ष वैदेशिक रोजगारीमा रहेका उनका भाइ कृष्णप्रसाद तिमिल्सिना पनि अहिले स्वदेश फर्किएर बाख्रापालनमा सघाइरहेका छन् । दुबईबाट आफ्नै परिवारसँंग बसेर काम गर्ने र कमाउने मनसायले फर्किएको उनले बताए ।

दुईवटा खोरमा पाठापाठीसहित अहिले जम्मा ६५ वटा बाख्रा रहेको कृष्णले बताए । दिदीपट्टिको ३५ वटा र अन्य बाख्रा आफ्नो भएको उनले सुनाए । पाठापाठी नमरी हुर्किने हो भने बाख्रापालनबाट मनग्य कमाइ हुने कृष्णले बताए ।

अघिपछि भन्दा बजारमा दसैंताका खसीको मूल्य र माग बढ्ने हुँदा माग भने पूरा गर्न नसकेको उनीहरू बताउँछन् । धेरै ठूलो व्यवसाय आफूहरूको नभएकाले दसैंका लागि खसी खोज्न आउने ग्राहक खाली हात फर्कने अञ्जुले बताइन् । यस वर्ष दसैंका लागि खोरमा रहेका अधिकांश खसी मासु व्यवसायीले बैना दिएर रोक्का गरिसकेकाले बाहिरका ग्राहकलाई फर्काउन परिरहेको कृष्णले बताए ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×