२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मूल्यवृद्धिको मारमा उपभोक्ता

मेनुका ढुंगाना

अछाम — बजार अनुगमनदेखि जरिवानासम्मको अधिकार पाएका स्थानीय तहले अनुगमन नगर्दा अछामका बजारदेखि ग्रामिण भेगका उपभोक्ता मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयको सहकार्यमा केही समयअघि बजार अनुगमन भए पनि स्थानीय तहले चासो नदिँदा उपभोक्ता मारमा परेका छन् । चाडपर्वको बेला मूल्यवृद्धि गरेपछि सर्वसाधारण मर्कामा परेका छन् ।

मूल्यवृद्धिको मारमा उपभोक्ता

‘यहाँ त रातारात सामानको मूल्य बढ्ने रहेछ । अघिल्लो दिन ९० रुपैयाँमा किनेको एक पोका तेलको मूल्य पछिल्लो दिन १ सय ४० हो भन्छन्,’ मंगलसेन नगरपालिका –५ की धनसरा सुवेदीले भनिन्,‘एक पोका तेलकै मूल्यमा ५० रुपैयाँ बढ्छ भने हामीलाई गुजारा चलाउन गाह्रो भइसक्यो ।’ खाद्यान्नको मूल्य बढ्दा समस्या भएको उनको गुनासो छ । ‘गरिबले किनेर खानै नसक्ने बनाइदिन्छन्’ मंगलसेनमा लामो समयदेखि मजदुरी गरिरहेकी सितादेवि विकले गुनासो गर्दै भनिन् , ‘जति मूल्य बढाए पनि किनिहाल्छन् भनेर मनोमानी मूल्य बढाउँछन् ।’

होलसेलबाटै सामानको मूल्य बढेर आएकाले सोहीअनुसार सामान बेच्नु परेको मुजाबगरका खुद्रा व्यापारी नरेन्द्र शाहले बताए ।‘ होलसेलमा आएको सामान नै महगों छ तर ग्रहाकलाई बुझाउन गाह्रो छ । केही समयअघिको महामारी र चाडपर्वको समयमा यसरी मूल्य नबढाउँदा नै राम्रो हुन्थ्यो’ शाहले भने, ‘सामान्य मूल्य बढाउँदा ग्राहकहरू मात्रै होइन हामी पनि मारमा परेका छौं ।’

पसल सञ्चालकहरूले होलसेलमै मूल्य बढाएर दिने गरेकाले खुद्रामा मूल्यवृद्धि गरेर बेच्न बाध्य भएको जयगढका खुद्रा व्यपारी पदम बोहरा बताउँछन् । उनका अनुसार बजारमा चामल, चिनी, दाल, चना, मटर, तेललगायतका खाद्यवस्तुमा मूल्यवृद्धि भएको छ । एक व्यपारीका अनुसार मुसुरोको दाल २ दिन अगाडि १ सय ८ रुपैयाँमा पाइरहेकोमा कोरोना भाइरसको संक्रमणपछि १ सय ३५ देखि ५० रुपैयाँ किलोसम्ममा दिने गरेको बताए । सनफ्लावर खानेतेस मेत मूल्यवृद्धि गरेर होलसेलरहरूले खुद्रा व्यापारीहरूलाई प्रति कार्टुनको २ हजार २ सय २५ मा दिने गरे तापनि अहिले २ हजार ६ सय ५० मा दिने गरेका छन् ।

खुद्रा व्यापारीका अनुसार होलसेलले दालमा प्रतिकेजी २७ देखि ४०, चनामा प्रतिकेजी २०, चामलमा १० देखि १२ रुपैयाँ तथा सनफ्लावर तेल प्रतिकार्टुन २ सयदेखि २ सय ५० रुपैयाँ, चिनीमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि गरेका छन् । होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा बिक्रेताले समेत बाध्य भएर मूल्य बढाउनुपरेको व्यवसायीको भनाइ छ । ढुवानी तथा लोड अनलोड गर्ने मजदुरको अभाव देखाउँदै होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएको खुद्रा विक्रेताको भनाइ छ ।

जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि बजार अनुगमन गर्न नसकेको मंगलसेन नगरपालिकाकी उपप्रमुख संगिता रावल सोडारीले बताइन् । ‘अहिलेसम्म बजार अनुगमन गरेका छैनौं । केही दिनमा गर्ने योजना बनेको छ,’ उनले भनिन्, ‘गाउँमा म्याद नाघेका सामान जान्छन् भन्ने गुनासो पनि छ । मूल्यवृद्धिका कुरालाई पनि समेटेर अनुगमन गर्छौं ।’

प्रकाशित : आश्विन १४, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?