अधिकांश उजुरी तामेलीमा

भवानी भट्ट

कञ्चनपुर — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा दर्ता भएकामध्ये अधिकांश उजुरी तामेलीमा जाने गरेका छन् । अधिकांस उजुरी फर्जी तथा व्यक्तिगत रिसिइबीका हुने भएका कारण अनुसन्धानका क्रममा पर्याप्त प्रमाण नपुगेर तामेलीमा जाने गरेका हुन् ।

अख्तियारको महेन्द्रनगरस्थित कार्यालयमा गत आर्थिक वर्षमा दर्त्ता भएका ७ सय ७ मध्ये ५ सय ७९ मुद्दा तामेलीमा राखिएका छन् । ४९७ उजुरी सिधै र ८२ उजुरी सुझावसहित तामेलीमा राखिएको आयोगको महेन्द्रनगरका शाखा अधिकृत नारायण ढकालले बताए ।

‘अनुसन्धानका क्रममा प्रमाण नभेटिने तथा कारबाहीका आधार नभेटिएका उजुरीहरू तामेलीमा राख्ने गरिएको छ,’ बुधबार आयोगको ३२ औं प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सुचना अधिकारीसमेत रहेका ढकालले भने, ‘कतिपय व्यक्ति रिसिइबी र सामान्य विषयका उजुरीसमेत परेका छन्, तिनै उजुरी अनुसन्धानका क्रममा प्रमाण नपुगेर तामेलीमा जाने गरेका हुन् ।’

गत आर्थिक वर्षमा दर्ता भएकामध्ये ७३ उजुरीमा मात्रै विस्तृत अनुसन्धान भएको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिमका ९ वटै जिल्लामध्ये सबैभन्दा बढी कैलालीबाट १९८ उजुरी दर्त्ता भएका छन् । यसैगरी कञ्चनपुरका १४२, बैतडी र बझाङका ६३/६३, डोटीका ६०, डडेल्धुराका ५७, बाजुरा र दार्चुलाका ४३/४३ र अछामबाट ३८ उजुरी दर्त्ता भएका छन् ।

आयोगको महेन्द्रनगर कार्यालयमा जिल्लागत तहमा सबैभन्दा बढी उजुरी कैलालीका र स्थानीय तहगत आधारमा सबैभन्दा बढी उजुरी कञ्चनपुरको भीमदत्तका परेका छन् । विषय क्षेत्रका आधारमा संघीय मामिला मन्त्रालयका बढी उजुरी पर्ने गरेका छन् । बुधबार आयोगको कार्यालयले आफ्तो ३२ औं प्रतिवेदन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छ । आयोगले भ्रष्टाचार विरुद्ध कार्यक्रम पनि गरेको छ ।

प्रकाशित : आश्विन १४, २०७९ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?