मन्दिर छोएको भन्दै दलितमाथि कुटपिट : वडाध्यक्षसहित दुई जना पक्राउ

अर्जुन शाह

धनगढी — दलित समुदायका व्यक्तिले मन्दिर छोएको भन्दै कुटपिट गरेको आरोपमा बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन् । वडाध्यक्ष जुद्धबहादुर अयडीलगायतले कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि मंगलबार कुटपिट गरेको बाजुरा प्रहरीले जनाएको छ ।

मन्दिर छोएको भन्दै दलितमाथि कुटपिट : वडाध्यक्षसहित दुई जना पक्राउ

नाटेश्वरी मन्दिर छोएको भन्दै वडाध्यक्षसहित स्थानीय रंग उपाध्याय र विनोद अयडीले कुटपिट गरेको पीडितको आरोप छ । वडाध्यक्ष अयडी बुधबार साँझ र विनोद बिहीबार पक्राउ परिसकेका छन् भने उपाध्याय फरार छन् ।

बाजुराका प्रहरी प्रमुख डीएसपी सूर्यबहादुर थापाका अनुसार पीडित सुनारले दिएको जाहेरीमा उनी नाटेश्वरी मन्दिरमा नवरात्रि पूजामा बसेको अवस्थामा रंग उपाध्याय र विनोद अयडीले मन्दिर छोएको भन्दै पूजा सामग्री फाल्दै कुटपिट गरेको उल्लेख छ । उनीहरूलाई सँगै रहेका वडाध्यक्ष अयडीले पनि साथ दिएको सुनारको भनाइ छ । सुनारले ६० हजार नगदसमेत लुटेको आरोप लगाएका छन् । उनको आँखामा गहिरो चोट लागेको छ । वडाध्यक्ष अयडीले भने कुटपिटमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

सुनारको पुर्ख्यौली ठेगाना बाजुराको बुढीगंगा नगरपालिका–५ नुवाघर हो । बुधबार नगरपालिकाको बैठकमा पनि उक्त घटनाबारे कुरा उठेपछि मिलापत्र गराउने प्रयास गरिएको स्थानीयले बताए । तर, सुनारले कानुनी उपचार खोज्ने अडान लिएपछि प्रहरीले वडाध्यक्ष अयडीलाई सुरुमा नियन्त्रणमा लिएको थियो । जातिय विभेदको कसुर कानुनअनुसार मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १३, २०७९ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?