घर पोत्ने माटो खोज्न सास्ती- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घर पोत्ने माटो खोज्न सास्ती

‘पक्की घर हुनेहरु चुनाले घर पोत्छन्, कच्ची घरमा रातो माटो र कमेरो नै लगाउँछौं’
मेनुका ढुंगाना

अछाम — गाउँमा चाडबाडसँगै बर्खे बाली भित्र्याउन सबै व्यस्त देखिन्छन् । अध्ययन र रोजगारीको सिलसिलामा घरबाहिर भएकाहरू गाउँमा आउँदा चहलपहल बढेको छ । विशेषगरी रोजगारीका लागि भारत गएकाहरू दसैंको मौकामा घर फर्किने गर्छन् ।

हिउँदेबाली लगाएर फेरि कामको खोजीमा जान्छन् । दसैंलाई धार्मिक रूपले पूजाआजाका माध्यमबाट शुद्ध बनाउनका लागि यो बेला महिलाहरू घर पोत्न रातो माटो र कमेरो माटो पाउने ठाउँमा लाइन लागेर पालो पर्खन्छन् । बर्सेनि दसैंमा पूरै घर पोत्नुपर्ने प्रचलन भएकाले घण्टौं हिंडेर माटो ल्याउने गरेको कमलबजार नगरपालिका ५ की कुन्ता विकले बताइन् । ‘कमेरो माटो त घर छेउमै पाइन्छ तर रातो माटो लिन ४/५ घण्टा नै हिंड्नुपर्छ’ उनले भनिन् , ‘घरमा कोही बितेको छ भने पूरै घर पोत्न मिल्दैन । घरलाई चोख्याउन कमेरो र रातो माटाले पोत्नुपर्छ ।’

मंगलसेन ५ की लल्ता भाटलाई माटो ल्याउन जाने चहलपहल भएपछि मात्रै दसैं आए जस्तो लाग्छ । नजिकै रातो माटो नपाइने भएपछि गाउँका सबै महिलाहरू जम्मा भएर मंगलसेन नगरपालिका–३ मा रहेको गाद्धेमा माटो लिन जान्छन् । ‘पक्की घर हुनेहरू चुनाले घर पोत्छन्, कच्ची घरमा रातो माटो र कमेरो नै लगाउँछौं,’ उनले भनिन्, ‘माटो निकाल्दा बोटबिरुवा सुक्न थालेको भन्दै कतिपय ठाउँमा माटो खन्न बन्द गरेपछि भने हामीलाई दुःख थपिएको छ ।’ घर शुद्ध पार्न वनजंगलमा माटो खोज्दै भौंतारिनुपरेको भाटले बताइन् । ‘घर पोत्ने रातो माटो र सेतो कमेरो जहाँसुकै पाइँदैन,’ उनले भनिन्, ‘दसैंमा कसको घर चिटिक्क छ भनेर दाँजिन्छ । त्यही भएर वर्षाभरि पानीले पखालेको भित्तो टाढाबाट हेर्दै टलक्क टल्किने गरी पोत्न थालेकी छु ।’


गाउँमा पक्की घर छिटफुटमात्रै छन । घटस्थापनाअघि नै घर चोख्याइन्छ । टपरीमा जमरा नयाँ माटोमा उमारिन्छ । त्यसैले पनि अहिलेदेखि नै आफूहरू माटोको जोहोमा लागेको स्थानीयले सुनाए ।

घरको माथिल्लो भागमा सेतो र तल रातोले भित्ता पोतिन्छ । कतिपयले धार्मिक मान्यताले पूरै घर रातो माटोले पोत्ने विरपथकी नमिता शाहीले बताइन् ।उनी घर पोत्ने तयारीमा छिन् । ‘हामीले सधैं पूरै घर रातो माटोले पोत्छौं,’ उनले भनिन्, ‘खाल्डोबाट आफैं खनेर ल्याउछौं । बजारको रंग लगाएर हामीलाई शुभसंकेत हुँदैन ।’ माटोको खानी सुरक्षित राखेपछि कतै हराउने र पुरिने गरेको उनले बताइन । माटोले पोत्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।

घरबाट पन्ध्र किलोमिटर टाढाको खानीबाट रातो माटो घरमा ल्याइसकेको उनले बताइन छन् । ‘एक/दुई दिनमा घर पोत्ने हो । पोतेपछि घर पवित्र हुन्छ । दसैंमा टीका लगाएपछि मनै शान्ति हुन्छ,’ शाहीले भनिन्, ‘झ्याल, ढोकामा कालो रंग लगाइन्छ । विस्तारासहित सबै कपडा धोइन्छ ।’ उनका अनुसार कसले घर राम्रो पोतेको छ र चिटिक्क पारेको छ भन्ने छिमेकीबीच चर्चा चल्छ ।

खाल्डा असुरक्षित

माटो खन्दा धेरै ठुलो खाल्डो भएका ठाउँमा पुग्दा मात्र डर लाग्ने तर सामान्य खाल्डामा कुनै डरको महसुस नहुने मंगलसेन ४ की नैना केसीले बताइन् । ‘हतार हतार हुन्छ , कतीखेर माटो खनेर घर फर्किने र केटाकेटी हेरबिचार गर्ने भन्ने नै चिन्ता हुन्छ’ उनले भनिन् । माटो पोत्न महिलाले नै जानुपर्ने बाध्यात्मक अवस्थाले उनीहरू जोखिममा पर्ने गरेको उनको ठहर छ ।

प्रकाशित : आश्विन १३, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

स्याउ बेचेर दसैं

राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका–४ ताल्चका कर्ण भाम बारीको स्याउ बेचेर दसैं मनाउने सोचमा छन् । उनको बारीमा स्याउका झन्डै ३ सय बोटहरू छन् । उत्पादित स्याउ विभिन्न सहरमा पठाउने र त्यो पैसाले दसैंमा खसीबोका, चामल, तेल र परिवारलाई नयाँ कपडा किनेर रमाइलो गरी दसैं मनाउने उनको भनाइ छ ।

‘अब थोरै मात्र स्याउ बेच्न बाँकी छ, यो वर्ष कम्तीमा ४ लाख रुपैयाँ स्याउबाटै कमाउने योजना छ,’ उनले भने, ‘स्याउले गर्दा ठूला चाडपर्व मनाउनेदेखि घर खर्च चलाउन, बालबालिकाको पढाइ खर्च जुटाउन र परिवारका सदस्यलाई औषधिमुलो गर्न पुगेको छ ।’

उनका छिमेकी हरि रोकाया पनि बारीको स्याउ सहर पठाउन व्यस्त छन् । उनले आफ्नो बारीमा उत्पादन भएको दुई तिहाइ स्याउ बजार पठाइसके । ‘अब १/२ दिनमा सबै स्याउ सकिन्छ,’ उनले भने, ‘त्यसपछि ढुक्कले दसैं मनाउन पाइने भयो ।’ उनले झन्डै ७ रोपनी जग्गामा ४ सय बोट स्याउ रोपेका छन् । बारीको स्याउ बेचेपछि ३ देखि ४ लाख रुपैयाँ आम्दानी हुने उनको भनाइ छ ।

मुगुका किसानलाई अहिले स्याउ टिप्ने र बजार पठाउने चटारोले छोएको छ । उनीहरू बिहान सबेरैदेखि राति अबेरसम्म बारीमै व्यस्त देखिन्छन् । दसैंको अष्टमी नलाग्दै सबै स्याउ बिक्री गरिसक्ने उनीहरूको योजना छ । कतिपय किसानहरू भने गाडीमा स्याउ लिएर नेपालगन्ज, सुर्खेतलगायत बजार गएका छन् । उनीहरूले फर्किंदा कमाइ भएको पैसाले दसैंका लागि चाहिने खाद्यवस्तु, लत्ताकपडालगायत सामग्री ल्याउने गरेका छन् । करिब ७ सय कार्टुन स्याउ नेपालगन्ज लगेर प्रतिकिलो ६५ रुपैयाँमा बिक्री गरेको स्थानीय मायाराम रोकायाले बताए । उनका अनुसार अझै ३ सय कार्टुन स्याउ घरमै छ । त्यो स्याउ पनि दसैंअघि नै सुर्खेत लिएर बिक्री गर्ने उनको योजना छ ।

दुःखकष्ट गरी बारीमा फलाएको स्याउ बेचेर आएको पैसाले दसैं तिहार मनाउन र अरू व्यवसायमा लगानी गर्न टेवा पुगेको स्थानीय बाँचे महतराले बताए । उनका अनुसार मुगुमा प्रतिदाना ५ देखि १० रुपैयाँमा स्याउ बिक्री भइरहेको छ । एक किलोमा ४ देखि ६ दानासम्म स्याउ जान्छ । ‘यहाँ बिक्री गरेर राम्रो मूल्य पाइँदैन,’ उनले भने, ‘त्यसैले धेरैजसो स्याउ बाहिर पठाउने गरेका छौं ।’ उनका अनुसार छिमेकी गाउँहरू ढुम, कालापाल्त, झयारी, माथितुम, गिमखोला, मुन्दुलगायत लेकाली बस्तीका सबैजसो किसानलाई अहिले स्याउ टिप्ने र बजार पठाउने चटारो छ । विगत वर्षहरूमा सडक सुविधा नहुँदा बारीको स्याउ खेर गरे पनि अहिले सडक पुगेपछि स्याउले राम्रै बजार पाइरहेको उनको भनाइ छ । दुई वर्षअघिसम्म गमगढी–नाग्मा सडक पनि भरपर्दो नहुँदा स्याउले बजार पाउन सकेको थिएन । अहिले सडक स्तरोन्नति भएपछि स्याउ टिप्दै सहर पठाउन सजिलो भएको उनले जानकारी दिए ।

छायानाथरारा नगरपालिकाका झन्डै ४ सय किसानको बारीमा अहिले स्याउ फलेको छ । उनीहरूले कार्टुनमा प्याक गरेर सुर्खेत, नेपालगन्जलगायत सहरहरूमा धमाधम स्याउ पठाइरहेका हुन् ।

प्रकाशित : आश्विन १३, २०७९ १०:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×