१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

शुक्लाफाँटामा बाह्रसिंगाको संख्या ८ वर्षदेखि स्थिर

बाह्रसिंगा हेर्नकै घाँसै मैदानमा तीन तलासम्मका मचान निर्माण
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तराईका निकुञ्जमध्ये सबैभन्दा सानो हो । क्षेत्रफलका हिसाबले सानो भएपनि यसको पहिचान र महत्त्व भने बेग्लै छ । विशाल घाँसे मैदान र त्यसमा विचरण गर्ने बाह्रसिंगाको बथान शुक्लाफाँटाको प्रमुख आकर्षण हो । दक्षिण एसियाकै ठूलो शुक्लाफाँटा घाँसे मैदानलाई यहाँ घुम्न आउने पर्यटकहरूले सभाना ग्रासल्यान्डसँग पनि तुलना गर्ने गरेका छन् ।

शुक्लाफाँटामा बाह्रसिंगाको संख्या ८ वर्षदेखि स्थिर

३०५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको निकुञ्जको ५५ वर्गकिलोमिटर क्षेत्रमा शुक्लाफाँटा घाँसे मैदान छ । उक्त घाँसे मैदानमा हजारौंको संख्यामा बाह्रसिंगा चरिरहेको दृश्यले यहाँ पुग्ने पर्यटकको मन लोभ्याउँछ । अझ सिजनअनुसार शरीरको रंग फेरिने भएकाले बाह्रसिंगा हरेक सिजनमा आकर्षित लाग्छ ।

यस वर्ष गरिएको गणनाअनुसार शुक्लाफाँटामा २३ सय १४ बाह्रसिंगा छन् । जसमा २६२ वयस्क भाले, ८५८ वयस्क पोथी, ४३ अर्ध वयस्क भाले, १५२ अर्ध वयस्क पोथी, १६४ पाठापाठी र लिंग पहिचान हुन नसकेका ८३५ बाह्रसिंग छन् । बाह्रसिंगाको यो संख्या २०१४ यता स्थिर छ । बाघको प्रमुख आहारा मानिने बाह्रसिंगाको संख्या स्थिर रहनु पनि निकुञ्जको ठूलो उपलब्धिे छ ।

मृग प्रजातिमै आकर्षक देखिने बाह्रसिंगा विशाल घाँसे मैदानमा फुत्तफुत्त उफ्रेको दृश्य निकै मनमोहक देखिन्छ । बर्खायामपछि घाँसे मैदान व्यवस्थापन गरेर हराभरा भएको क्षेत्रमा बाह्रसिंगा चर्ना आउँछन् । बाह्रसिंगा हेर्नकै लागि घाँसे मैदानमा तीन तलासम्मका मचानहरू पनि निर्माण गरिएका छन् । निकुञ्जमा बर्सेनि ३ हजारको हाराहारीमा पर्यटकहरू भित्रिने गरेका छन् । जसमध्ये अधिकांश बाह्रसिंगा हेर्नकै लागि आउने गरेका छन् । प्राकृतिक रूपमा पनि बाह्रसिंगाको बासस्थान शुक्लाफाँटा नै भएको संरक्षणकर्मीहरू बताउँछन् । पछिल्लो समय शुक्लाफाँटाबाटै बार्दिया र चितवनमा समेत स्थानान्तरण गरिएको थियो । तर चितवनमा स्थानान्तरण गरिएको बाह्रसिंगा सबै मरे भने बर्दियामा भने संख्या बढ्दै गएको छ । बर्दियामा केही रैथाने र स्थानान्तरण गरिएका सहित १ सयका हाराहारी बाह्रसिंगा पुगेका छन् ।

बाह्र्रसिंगा बासस्थान शुक्लाफाँटा घाँसे मैदान निकुञ्जको प्रवेशद्वार मजगाउँबाट १८ किलोमिटर दक्षिण पश्चिममा पर्छ । जिप सफारीमार्फत यहाँसम्म पुग्न सकिन्छ । असारदेखि असोजसम्म बर्खाका कारण बाटो बिग्रिने भएकाले समस्या हुन्छ । त्यसबाहेकको समय सहजै सफारी गर्न सकिन्छ । घाँसे मैदानमा बाह्रसिंगासँगै बाघ, नीलगाई, मयूर र लघुनालगायत वन्यजन्तुसमेत हेर्न पाइन्छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कम क्षेत्रफलमा बढी बाघ पाइने संरक्षित क्षेत्रका रूपमा पनि चिनिन्छ । २०२२ को राष्ट्रिय गणनाअनुसार यहाँ ३६ वयस्क बाघ रहेका छन् । २०१८ को राष्ट्रिय गणनाको तुलनामा यहाँ बाघको संख्या झन्डै दोब्बर पुगेको हो । २०१८ मा यहाँ बाघको संख्या १९ थियो ।

केही वर्षयता शुक्लाफाँटा गैँडा हेर्नसमेत परिचित हुन थालेको छ । २०७५ मा चितवनबाट ५ वटा गैंडा स्थानान्तरण गरेपछि यहाँ गैंडाको संख्या वृद्धि भएको हो । दुई वर्षअघि गरिएको गणनाअनुसार यहाँ गैँडाको संख्या १६ पुगेको छ । चितवनबाट स्थानान्तरण गर्नुअघि यहाँ गैँडाको संख्या १० थियो ।

यसैगरी निकुञ्जको हिरापुर फाँटा कृष्णसार पनि संरक्षित गरी राखिएको छ । यहाँ कृष्णसारको संख्या २०३ रहेको छ । बर्दियाको खैरापुर र बाँकेको नेपालगन्ज मिनी चिडियाखानाबाट गरी २०१२ देखि ०१५ सम्म ४२ कृष्णसार स्थानान्तरण गरिएको थियो । उक्त संख्या बढेर अहिले ६७ भाले, ८७ पोथी र ४९ पाठापाठी गरी २०३ पुगेको छ । एकनासको साल वन, सीमसार क्षेत्र, घाँसे मैदान र आधा दर्जन बढी तालहरू निकुञ्जका आकर्षणका केन्द्र हुन् । चराचुरुंगी अवलोकनका लागि पनि निकुञ्ज प्रमुख गन्तव्य मानिन्छ । निकुञ्जमा ४५० प्रजातिको चरा र ५६ प्रजातिको स्तनधारी जनावर छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमणका लागि संघीय राजधानी काठमाडौंबाट हवाई र सडक यातायात दुवै माध्यमबाट पुग्न सकिन्छ । हवाई यातायातका लागि काठमाडौंबाट धनगढीसम्म १ घण्टाको हवाई यात्रापछि धनगढीबाट झन्डै ५० किलोमिटर बस तथा अन्य सवारीसाधनको प्रयोगबाट महेन्द्रनगरसम्म पुग्न सकिन्छ । सडक यातायातका लागि काठमाडौंबाट महेन्द्रनगरसम्म झन्डै ७ सय किलोमिटर बस तथा अन्य सवारीसधानबाट यात्रा गर्न सकिन्छ । बसमा यात्रा गर्न १८ देखि २२ घण्टासम्म लाग्छ ।

महेन्द्रनगरबाट निकुञ्जको प्रवेशद्वारसम्म पुग्नका लागि अटो तथा अन्य चारपांग्रे सवारीसाधनको प्रयोग गर्न सकिन्छ । निकुञ्ज प्रवेशद्वारमा सफारीका लागि भाडाका सवारीसाधन पाउन सकिन्छ । निकुञ्जभित्र घुम्न तथा वन्यजन्तु अवलोकनका लागि बिहान वा साँझको समय उपयुक्त हुने निकुञ्जका कर्मचारी बताउँछन् ।

प्रकाशित : आश्विन १३, २०७९ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?