बझाङका भेडाच्यांग्रा पोखरा

दुई वर्षअघिसम्म १० हजारमा पाइने भेडाच्यांग्राको मूल्य अहिले स्थानीय बजारमै दोब्बर
वसन्तप्रताप सिंह

बझाङ — दसैं बजारलाई लक्षित गरेर बझाङका हिमाली क्षेत्रका भेडाच्यांग्रा पोखरा लगिएका छन् । पोखरा र आसपासका क्षेत्रमा दसैंका बेला भेडाच्यांग्राको माग उच्च हुने भएकाले बझाङबाट प्रत्येक वर्ष दसैंको छेकोमा यहाँका भेडाच्यांग्रा पोखरा पुग्ने गरेका छन् ।

बझाङका भेडाच्यांग्रा पोखरा

यो वर्ष भने हालसम्मकै बढी करिब १ हजार १ सय भेडाच्यांग्रा पोखरा लगिएको व्यापारीले बताएका छन् । ‘यो वर्ष सधैंभन्दा बढी च्यांग्रा पोखरा लगिएको छ,’ एक जना व्यापारी बझाङ साइपाल गाउँपालिकाका घुरन बोहराले भने, ‘पहिला पहिला दुई/चार जनाले मात्रै ल्याउने गरेका थिए । यो वर्ष यहाँ व्यापारीका समूहमात्रै सात/आठ पुगेका छन् ।’ उनले बझाङभरिबाट संकलन गरेर ल्याइएका १८ ट्रक भेडाच्यांग्रा पोखरा लगेर बिक्री सुरु भइसकेको बताए । पोखरामै बसेर दसैंको अष्टमीसम्म भेडाच्यांग्रा बिक्री गरिने उनको भनाइ छ ।

एक दशकअघिसम्म बझाङबाट भेडाच्यांग्रा बेच्न अन्त लैजाने चलन थिएन । पोखरा र आसपासका स्थानीय बजारमा दसैंमा हिमाली क्षेत्रका भेडाच्यांग्राको माग उच्च हुने थाहा पाएपछि यहाँका व्यापारीहरूले २०६८ सालदेखि नियमित रूपमा यहाँका भेडाच्यांग्रा पुर्‍याउन थालेका हुन् । सुरुमा उनीहरूले तिब्बतको ताक्लाकोट बजार र आसपासका गाउँबाट तिब्बतमा पाइने रिउ जातका च्यांग्रा खरिद गरेर पोखरा पुर्‍याउने गरेका उनीहरूले अहिले भने बझाङकै गाउँबाट संकलन गरेर लैजाने गरेका छन् । कोरोनाका कारण देखाउँदै चीनले बझाङको उरै भन्ज्याङलगायत उत्तरी नाका बन्द गरेपछि जिल्लाबाट नै संकलन गर्न थालिएको अर्का व्यापारी रामबहादुर बोहराले बताए । तिब्बती च्यांग्रा सस्तोमा पाइने र पोखरामा महँगोमा बेचेर मनग्य आम्दानी हुने गरेकामा आजभोलि पहिलाको जस्तो फाइदा नहुने गरेको उनको भनाइ छ । ‘पहिला चार/पाँच हजारमा एउटा च्यांग्रा किनेर यहाँ २०/२५ हजारसम्म बिक्री गर्न पाइन्थ्यो,’ उनले भने, ‘अचेल उतै २०/२५ हजारमा किन्नुपर्छ । पहिला जस्तो फाइदा हुँदैन ।’

बझाङदेखि ट्रकमा बोकेर तीन रात तीन दिनको यात्रापछि भेडाच्यांग्रालाई पोखरा पुर्‍याइन्छ । दिउँसोभरि भेडालाई चराउनुपर्ने र राति मात्रै हिँडाउनुपर्ने भएकाले समय लाग्ने गरेको साइपाल गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका राजेन्द्र धामीले बताए । अहिले ढुवानी भाडा पनि निकै महँगो भएको उल्लेख गर्दै उनले पहिलाजस्तो बिक्री पनि नहुने गरेको बताए । ‘पहिला भेडाच्यांग्रा पनि कम आउँथे । एउटै परिवारले दुई/तीनवटासम्म किन्थे’ उनले भने, ‘अहिले भएभरका भेडाच्यांग्रा यतै छन् । मूल्य महँगो भएकाले चार/पाँच परिवार मिलेर एउटा मात्रै किन्छन् । पहिलाजस्तो व्यापार पनि छैन ।’

जिल्लाका भेडाच्यांग्राको पोखरा निकासी हुन थालेपछि बझाङमा भने केही वर्षयता मूल्य अकासिएको छ । दुई वर्षअघिसम्म १० हजारमा पाइने भेडाच्यांग्राको मूल्य अहिले स्थानीय बजारमै दोब्बर भएको छ । जसले गर्दा स्थानीय ग्राहकले अस्वाभाविक महँगोमा भेडा किन्नुपरेको छ । ‘पोखरा लैजानेहरूले भनेको मोल दिएर किन्छन् । यसको मर्का स्थानीयलाई पनि परेको छ,’ जयपृथ्वी नगरपालिकाका एक जना भेडापालक अर्जुन सिंहले भने, ‘हामीले पनि राम्रो मूल्य पाउँदा पाउँदै सस्तोमा बेच्ने कुरा आएन,’ उनले पोखरामा भेडाच्यांग्रा बिक्री हुन थालेदेखि स्थानीय बजारमा यसको माग स्वात्तै घटेको बताए ।

प्रकाशित : आश्विन ११, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?