कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

बाढीपीडित अझै सडक र विद्यालयमै

गत साता कान्द्रा, काडा, मोहना, पथरिया र कर्णाली नदीको बाढी बस्ती पस्दा विस्थापित भएका हजारभन्दा बढी परिवार अझै घर फर्किन पाएनन्
मोहन बुडाऐर

धनगढी — बस्ती नै डुबानमा परेपछि भजनी नगरपालिका–८ कृष्णपुरका लालबहादुर चौधरीको परिवार एक सातायता हुलाकी सडकमा त्रिपालमुनि बसिरहेको छ । ‘वर्षा रोकिएर डुबान घट्ने भयो, अब घर फर्किन पाइन्छ होला भनेको फेरि पानी पर्‍यो । घर अझै हिलाम्मे छ । बस्ने अवस्था नभएकाले अहिलेसम्म पनि सडकमै छौं,’ उनले भने, ‘अझै पानी थपिएर फेरि बाढी आउने हो कि ? यस्तोमा कसरी घर फर्किनु ?’

बाढीपीडित अझै सडक र विद्यालयमै

उनका अनुसार घरमा भएको सबै अन्न र लत्ताकपडा पनि भिजेको छ । अहिलेसम्म विभिन्न सहयोगी सस्था र स्थानीय तहले उपलब्ध गराएको खाद्यान्नकै भरमा छन् । ‘उनीहरूले पनि कतिञ्जेल दिइराख्लान् र ? पानी नरोकिने हो भने त हाम्रो उठीबास नै लाग्ला जस्तो छ,’ उनले भने ।

भजनीका कृष्ण चौधरीको पनि गतसाता बाढीले डुबाएको घर अझै सुकेको छैन । ‘अहिले त आकाशमा कालो बादल मडारिनेबित्तिकै चिन्ता लाग्छ,’ उनले भने, ‘अन्न, लत्ताकपडा सबै भिजेको छ । ३ दिन हुलाकी सडकमा रात कटाएर घर फर्किएका त छौं तर फेरि बाढी आउँछ कि भन्ने लाग्छ ।’ उनको परिवार घर फर्कंदा हिलो सुकेको थिएन । ‘भुसा र पराल ओछ्याएर बस्न लायक बनायौं,’ उनले थपे, ‘जसोतसो बसिरहेका त छौं, रोगव्याधिको जोखिम पनि छ ।’

यस क्षेत्रमा शनिबार रातिदेखि पुन: वर्षा हुन थालेको छ । आसपासका नदीखोलमा जलस्तर बढेको छ । बाढी बस्ती पसेमा उनीहरूलाई फेरि सडकमै आउनुको विकल्प छैन । गत साताको बाढीले भजनी–८ कै रामकृष्ण चौधरीले पालेका २४ वटा बंगुर मरे । बेलैमा सुरक्षित स्थानमा सार्न नसक्दा बाढी पसेर ती बंगुर खोरमै मरेका उनले सुनाए । अहिले उनको परिवार घर त फर्केको छ तर अन्न, लत्ताकपडा भिजेकाले कसरी बस्ने भन्ने चिन्ता रहेको उनको भनाइ छ ।

भजनी नगर प्रमुख केवल चौधरीका अनुसार गत साताको बाढी र डुबानका कारण वडा–१ देखि ९ सम्मका ८ हजार घरधुरी प्रभावित भए । जसमध्ये धेरैजसो परिवार आ–आफ्नो घर फर्किए पनि सयौं परिवारको बास अझै पनि हुलाकी सडक र सार्वजनिक स्थलमा छ । हिलोका कारण घर फर्किएका कति परिवारले चुल्हो बाल्न नपाएको बताएको उनले सुनाए । ‘घर फर्किन नसकेका परिवार हुलाकी सडक र विद्यालय भवनमा बसिरहेका छन्,’ उनले भने, ‘घर फर्केका परिवारहरूलाई पनि केही दिनका लागि पुग्ने खाद्यान्न र एकसरो कपडा राहतस्वरूप वितरण गरिरहेका छौं ।’

प्रमुख चौधरीले पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडाको अति आवश्यक रहेकाले सबैलाई सहयोग गर्न अपिल गरे । ‘स्थानीय तहको बजेटले बाढीपीडित परिवारलाई तत्कालको राहत पनि दिन सक्ने अवस्था छैन,’ उनले भने, ‘प्रदेश र संघ सरकारसहित मानवीय सेवामा कार्यरत संघसंस्थाहरू सबैलाई राहतका लागि अपिल गरेका छौं ।’

कैलारी गाउँपालिकामा ५५ परिवार पडेगा सामुदायिक वनमा पाल टाँगेर बसेका छन् । गत साताको वर्षापछिको बाढी र डुबानका कारण कैलालीको दक्षिणी पूर्वी भेगका ५ स्थानीय तह भजनी, कैलारी, टीकापुर, जानकी र जोशीपुरमा धेरै क्षति पुगेको हो । कान्द्रा, काडा, मोहना, पथरिया र कर्णाली नदीको बाढी बस्ती पसेको हो । टीकापुरमा अझै ४ सय परिवार घर फर्कन पाएका छैनन् । भजनी र कैलारीका गरी ४ सय ९७ परिवार अझै विद्यालय, सामुदायिक भवन, हुलाकी सडक र अग्लो स्थानमा पालमुनि बसिरहेको कैलाली प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार भजनी–२ पल्टुपरस्थित राष्ट्रिय माविमा ४३ परिवार, वडा–३ धुसीस्थित राष्ट्रिय माविमा ६० परिवार, वडा–५ का ५५ र वडा–७ का १५ परिवार हुलाकी सडकमा, वडा–८ स्थित सोनाफाँटा सेफ हाउसमा १५ परिवारले आश्रय लिएर बसेका छन् । त्यस्तै, वडा–८ का ३० परिवार सोनाफाँटा आधारभूत विद्यालयमा, १ सय २० परिवार गुप्तेश्वर आधारभूत विद्यालयमा र १ सय ६० परिवार डोगेपुर सामुदायिक वनमा त्रिपाल टाँगेर बसेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपीडित २ हजार ५ सय परिवारलाई त्रिपाल, भाँडाकुँडा, लत्ताकपडा, झुल र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार बाढीका कारण ज्यान गुमाउने धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरी र भजनी–८ का ५५ वर्षीय कालुराम चौधरीको परिवारलाई समेत राहत दिने निर्णय भएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?