कञ्चनपुरमा बढ्यो डेंगी

शुक्रबारसम्म जिल्लमा ११२ जनामा संक्रमण, किट अभावका कारण पर्याप्त परीक्षण हुन सकेन
भवानी भट्ट

कञ्चनपुर — चाडपर्व नजिकिँदै गर्दा देशका विभिन्न भागबाट र भारतबाट घर फर्किनेको चाप बढ्न थालेसँगै डेंगीको संक्रमण पनि बढ्दै गएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहमा डेंगीको संक्रमण देखिएको हो । संक्रमण तीव्र भए पनि किटको अभावका कारण पर्याप्त परीक्षण हुन सकिरहेको छैन । 

कञ्चनपुरमा बढ्यो डेंगी

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म जिल्लामा ११२ जनामा संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा बढी महाकाली प्रादेशिक अस्पतालमा ४० र दोधारा चाँदनी नगरपालिकामा ३६ जनामा संक्रमण देखिएको छ । पुनर्वास नगरपालिकामा १२, बेलडाँडीमा ३, कृष्णपुरमा, बेलौरी र लालझाडीमा २/२ र विभिन्न निजी प्रयोगशाला र अस्पतालमा १५ जनामा संक्रमण देखिएको छ । ‘संक्रमित धेरैजसो काठमाडौं र भारतबाट फर्केका छन्,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले भने, ‘चाडपर्वका लागि घर फर्किने चाप बढेसँगै डेंगु संक्रमणको दर पनि बढेको छ ।’ उनका अनुसार संक्रमितमध्ये १५ जनाभन्दा बढी काठमाडौंबाट फर्केका छन् ।

दोधारा चाँदनी नगरपालिकामा संक्रमित देखिएका ३६ जनामध्ये २२ जना भारतबाट र ८ जना काठमाडौंबाट फर्केका छन् । पछिल्लो समय यात्रा नगरेका संक्रमित ६ जना मात्रै छन् । नगरपालिका आफैंले किट खरिद गरेर परीक्षण बढाएको दोधारा चाँदनीका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए । उनका अनुसार डेढ लाख बढीमा ४ सय किट खरिद गरिएको हो ।

‘किटको अभाव भए पनि नगरपालिका आफैंले खरिद गरेर परीक्षण गरिरहेको छ,’ महराले भने, ‘केही दिनयता संक्रमितको संख्या घटना थालेको छ, अब नियन्त्रण हुन्छ भन्ने आशा छ ।’ उनका अनुसार अहिले स्वास्थ्य शाखाले डेंगी सार्ने लामखुट्टे फुल नष्ट पार्ने तथा बासस्थान सफा गर्ने अभियान सुरु गरिएको छ । स्वास्थ्य स्वयंसेविकादेखि कर्मचारी र जनप्रतिनिधिसम्म सबै यसमा जुटेको उनले बताए ।

पुनर्वास नगरपालिकामा किटको अभावले परीक्षण नै हुन नसकिरहेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले बताए । ‘पालिकाबाट पनि खरिद गर्न सकिएको छैन, प्रदेशबाट पनि आएन,’ उनले भने, ‘आजसम्म दुई/चार किट थियो, अब त्यो पनि सकियो ।’ उनका अनुसार प्रदेश आपूर्ति केन्द्रबाट हालसम्म १ सय किट प्राप्त भएको छ ।

धामीका अनुसार अहिले पनि ज्वरो र डेंगीका लक्षण भएका बिरामी स्वास्थ्य संस्थामा आइरहेका छन् । तर किटको अभावका कारण सबैको परीक्षण हुन नसकेको उनले बताए । पुनर्वास नगरपालिकामा हालसम्म १२ जनामा डेंगी संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक भट्ट भने अहिले केही पालिकाले पनि खरिद गरेको र स्वास्थ्य कार्यालयले पनि खरिद गरेका कारण किटको अभाव नभएको बताउँछन् । ‘पर्याप्त मात्रामा नभए पनि किटको अभाव छैन,’ उनले भने, ‘स्वास्थ्य कार्यालयसँगै केही पालिकाले पनि खरिद गरेका छन् ।’ उनका अनुसार स्वास्थ्य कार्यालयले ४ सय किट खरिद गरेर पालिकाहरूमा पठाउने काम गरिरहेको छ ।

किटको अभावका कारण मलेरिया, टाइफाइडलगायत परीक्षणपछि मात्रै डेंगीको परीक्षण भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । लक्षण देखिएको सबैको परीक्षण गर्न सकिने अवस्था नरहेको उनीहरू बताउँछन् । कतिपय पालिकामा गम्भीर बिरामीको समेत परीक्षण हुन सकिरहेको छैन ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?