१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चाडका बेला बजार अनुगमन तीव्र

तृप्ति शाही

बैतडी — बैतडीमा अहिले जिल्ला प्रशासन कार्यालयले ग्रामीण क्षेत्रमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ । स्थानीय तहलाई बजार अनुगमन गर्ने अधिकार भए पनि अधिकांशले अनुगमन गर्दैनन् । बजार अनुगमनमा स्थानीय तह मौन बसेपछि जिल्ला प्रशासन कार्यालय आफैंले जिल्लाका पालिकाका विभिन्न स्थानीय बजारको अनुगमन गरिरहेको हो । 

चाडका बेला बजार अनुगमन तीव्र

जिल्लाको दशरथचन्द नगरपालिकाका गोठलापानी, शाहीलेक, देहिमाण्डौं बजारसँगै सुर्नया गाउँपालिकाको फाटीगडा, रौलेश्वर र मोतीनगर बजारमा प्रशासन कार्यालयले अनुगमन गरेको छ । सिगास गाउँपालिकाको बजपानी बजार, पुचौडी नगरपालिकाको ढोले बजार, हाट पुरचौडी बजारमा अनुगमन गरिएको छ । दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र खोचलेक बजारमा अनुगमन गरिएको छ । डिलासैनी गाउँपालिकाको स्थानीय बजारमा पनि प्रशासनले अनुगमन गरेको जनाएको छ ।

७७ वटा पसल अनुगमनको क्रममा ८ वटा पसललाई ८५ हजार बराबरको कारबाही स्वरूप जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । १ लाख १० हजार रुपैयाँ बराबरको म्याद नाघेका सामग्री बरामद गरी नष्ट गरिएको छ । पालिकाहरूले अनुगमन गर्ने अधिकार भए पनि उनीहरूले गरेको अनुगमनमा अखाद्य वस्तुहरू नभेटिने क्रम जारी रहेपछि प्रशासनले अनुगमन गर्न थालेको हो । स्थानीयको गुनासोका आधारमा ग्रामीण क्षेत्रमा पनि अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । ‘पालिकाले गरेका अनुगमनमा खासै कैफियत भेटिँदैन,’ उनले भने, ‘हामीले गर्दा प्रशस्त अखाद्य वस्तुहरू भेटिने गरेका छन् । यसले गर्दा प्रभावकारी अनुगमन नभएको देखिएको छ ।’

पहाडी जिल्लाका उपभोक्ताहरू पनि धेरै सचेत नहुने र व्यवसायीले पनि ख्याल नगरेका कारण अखाद्य वस्तु धेरै भेटिने गरेका प्रजिअ पन्थीले बताए । अनुगमनका क्रममा ६ महिना अगाडि नै म्याद नाघेका सामग्रीहरूसम्म भेटिएका उनले बताए ।

अनुगमनका क्रममा मेडिकलहरूको पनि अनुगमन गर्ने गरिएको छ । अनुगमनकै क्रममा जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाका ३ वटा मेडिकलमा सिल गरेको छ । मेडिकल अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा रहेका मेडिकलहरू भेटिएकाले सिल गरिएको हो । चार वटा मेडिकल अनुगमनका क्रममा ३ वटा मेडिकलले गैरकानुनी रूपमा सञ्चालन गरेका क्लिनिक सेन्टर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । मुस्याचौरस्थित प्रकाश मेडिकल हल र जयदुर्गे मेडिकल हलको क्लिनिक बन्द गरिएको हो । देहिमाण्डौंस्थित निङ्लासैनी फार्मेसी एकको नाममा दर्ता भएर अर्कैले सञ्चालन गरेको भेटिएकाले सिल गरिएको प्रशासनले जनाएको छ ।

अनुगमनका क्रममा मेडिकलहरूले बेच्न नपाइने औषधिहरू पनि बेच्ने गरेको भेटिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए । अहेव बस्ने मेडिकलहरूले क्लिनिक सञ्चालन गरेर बेडहरू राखेको भेटिएकाले बन्द गरिएको छ । ‘भिडियो एक्सरे पनि मेडिकलमा राखेको भेटिएको थियो । ल्याबका कर्मचारी नभएर ल्याब पनि सञ्चालन गरेका थिए,’ उनले भने, ‘मेडिकलमा औषधि पनि फार्मेसी नपढेकाले बेचेको भेटियो । नियमविपरीत खोलिएका क्लिनिक, ल्याब, एक्सरे, फार्मेसीहरू बन्द गरेका छौं ।’

प्रकाशित : आश्विन ९, २०७९ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?