कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

स्वास्थ्य संस्थामा पानी अभाव

तृप्ति शाही

बैतडी — पाटन नगरपालिका—४ स्थित भूमेश्वर स्वास्थ्यचौकीमा पानीको अभाव छ । २०५४ मा स्थापना भएको स्वास्थ्यचौकी वरपर कुनै पानीका मुहान पनि छैनन् । पानी अभावमा बिरामी आफैंले बोकेर वा किनेर ल्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकीका इन्चार्ज जगदीश विकले बताए ।

स्वास्थ्य संस्थामा पानी अभाव

‘खाने पानी हामी पनि बजारबाटै किनेर खान्छौं । बिरामीहरूले पनि आफैं व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ विकले भने , ‘अन्य कामका लागि वर्षात्को समयमा आकाशेपानी संकलन गछौं । अरु बेला कहिले बजारबाट किनेर त कहिले नगरपालिकाको दमकलबाट ल्याउने गरेका छौं ।’

पानी अभावमा बिरामीहरूसँगै संस्थाको सरसफाइमा समस्या भएको उनले दुखेसो पोखे । हरेक बेला पानी चाहिने भए पनि आफूहरूले जहिल्यै पानीको समस्या भोगिरहेको उनले सुनाए । पानीकै कारण सुत्केरी गराउँदा जटिलता थपिने गरेको छ । जेततेन व्यवस्थापन गराएर बिरामीलाई सेवा दिइरहेको उनको भनाइ छ ।

भूमेश्वर स्वास्थ्य चौकीमा मात्र होइन, जिल्लामा अधिकांश स्वास्थ्य संस्थाको अवस्था यस्तै छ । २४ सैं घण्टा पानी हुनुपर्ने स्वास्थ्य संस्थाहरू पानीकै अभाव झेलिरहेका छन् । आफूले पनि स्वास्थ्य चौकीमा पानीकै समस्या भोगिरहेको सिगास गाउँपालिका–९ स्थित चौखाम स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्र क्षेत्री बताउँछन् । संस्थाबाट टाढा रहेको खोलाको पानीले काम चलाइरहेको उनले बताए । कार्यालय सहयोगीले बोकेरै संस्थामा पानीको जोहो गरिरहेका छन् । ‘पानी अभावमा निकै समस्या झेलिरहेका छौं । जतिबेला पनि स्वास्थ्य चौकीमा पानी चाहिन्छ । हामी यही समस्या भोगिरहेका छौं,’ क्षेत्रीले भने । पानी नहुँदा सबैभन्दा बढी गाह्रो सुत्केरी गराउनपर्दा हुने गरेको उनले बताए । उनले भने, ‘महिलाहरूलाई सुत्केरी हुँदा पानी धेरै चाहिन्छ । हामीले बोकेको पानीले धान्नुपरिरहेको छ । धेरै गाह्रो हुन्छ ।’

१/२ लाख जति खर्च गर्ने हो भने पानीको समस्या समाधान हुने भए पनि कसैले चासो नदिएका गुनासो उनले गरे । उनले भने, ‘थोरै लगानीमा समस्या समाधान हुने भए पनि वडा, पालिका कसैले वास्तै गर्दैनन् ।’

यस्तै, पञ्चेश्वर गाउँपालिका-१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीले पनि पानीको अभाव झेलिरहेको छ । पानी अभावले गर्दा दैनिक क्रियाकलापामा बाधा पुगेको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले बताए । पानी अभावकै कारण संस्थामा सरुवा भएर आएका कर्मचारीहरू पनि आउनासाथ सरुवा भएर अन्त जाने बाध्यता रहेको उनले बताए । स्वास्थ्य चौकी अगाडिबाट पालिकाको सल्लाटोलमा पानी गए पनि आफूहरूले भने पानीको समस्या भोगिरहेको उनले बताए । ‘स्वास्थ्य चौकीलाई पानी दिएमा सुत्केरीले पनि प्रयोग गर्ने र पानीको मुहान सुक्ने भएको भन्दै संस्थालाई पानी दिन मान्दैनन्,’ सार्कीले भने । आफूले बेलाबेला पानीका लागि कुरा गरिरहेको हुन्छु । पानी पुग्दैन भनेर टारिरहेका छन् ।’

पानी नहुँदा बर्थिङ सेन्टरको काम सबैभन्दा बढी प्रभावित भइरहेको उनले बताए । कार्यालय सहयोगीले बोकेर केही पानीले काम चलाइरहे पनि सुत्केरीहरू अन्य कपडाहरू बोकेरै घर लैजान बाध्य हुने गरेका उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार जिल्लाका १० वटै पालिकाका अधिकांश स्वास्थ्य संस्थामा पानी छैन । पानी अभावमा स्वास्थ्य संस्थाहरू समस्या भोगिरहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । जिल्लाको पाटन नगरपालिकाका २१ स्वास्थ्य संस्थामध्ये ९ वटामा पानीको सुविधा छैन । सिगास गाउँपालिकाका–७ वटा स्वास्थ्य संस्था पानीविहीन छन् । सुर्नया गाउँपालिकाका पनि ११ संस्थामध्ये ६ वटामा पानी छैन । दोगडाकेदार गाउँपालिकाका ५ वटामा पानी छैन भने पुर्चौडी नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थामा पानी नभएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत विपिन लेखकले बताए । उनका अनुसार मेलौली नगरपालिकाका ८ वटा स्वास्थ्य संस्थामध्ये ४ वटामा पानी छैन ।

डिलाशैनी गाउँपालिकाका ११ वटा संस्थामध्ये ५ वटामा पानी छैन भने सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका पनि ३ वटा स्वास्थ्य संस्थामा पानी नभएको लेखकले बताए । शिवनाथ गाउँपालिकाका ७ वटा स्वास्थ्य संस्थामध्ये ३ वटामा पानी छैन भने पञ्चेश्वर गाउँपालिकाको १ स्वास्थ्य संस्थामा पानी छैन ।

प्रकाशित : आश्विन ८, २०७९ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?