२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अछामका अधिकतर वडा सचिवविहीन

स्वास्थ्य, कृषि, पशु सेवा र अन्य शाखाका कर्मचारी वडा सचिवका रुपमा खटिएका छन् 
मेनुका ढुंगाना

अछाम — अछामका १० स्थानीय तहका ९१ मध्ये अधिकांश वडामा सचिव नहुँदा कार्यसम्पादनमा अप्ठ्यारो भएको छ । सामान्यतया प्रशासनतर्फका चौथो र पाँचौं तहका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिने गरेको भए पनि अधिकांश वडामा स्वास्थ्य, कृषि, पशु सेवा र अन्य शाखाका कर्मचारी नै वडा सचिवका रूपमा खटिएका छन् ।

अछामका अधिकतर वडा सचिवविहीन

सदरमुकाममा रहेको मंगलसेन नगरपालिकाका १४ मध्ये अधिकांश वडामा समेत सचिव छैनन् । जिल्लाका अन्य पालिकाभन्दा सुगम मानिने मंगलसेनमा नै दुर्गम ठानेर कर्मचारीहरू धेरै नबस्ने गरेको नगरपालिकाका सूचना अधिकारी विष्णु जैसीले बताए । ‘हाम्रा नगरपालिकाका १४ वडामध्ये ५ वडामा मात्रै प्रशासनतर्फका स्थायी कर्मचारीहरू वडा सचिवका रूपमा खटिएका छन् । बाँकी ९ वडामा पशु र कृषि शाखाका स्थायी कर्मचारीलाई पञ्जिकाधिकारीको जिम्मेवारी दिइएको छ,’ जैसीले भने, ‘प्रशासनतर्फका कर्मचारीले वडामा जति काम गर्दा प्रभावकारी देखिन्छ, त्यति अन्य कर्मचारी खटिँदा हुँदैन । केही समय कर्मचारी सबै वडामा आए पनि अहिले तराईका जिल्लामा जानेको संख्या बढेको छ ।’

जिल्लाको दुर्गम मानिने रामारोशन गाउँपालिकाका ७ वडामध्ये वडा ४ बाटुलासैनमा मात्रै दरबन्दीअनुसारको सचिव छन् । बाँकी वडामा स्वास्थ्यका कर्मचारीलाई सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताए । ‘एकै कर्मचारीलाई वडा सचिव र स्वास्थ्य चौकीसमेत हेर्नुपर्ने दोहोरो जिम्मेवारी दिँदा दुवै क्षेत्रको काम प्रभावकारी हुन सकेको छैन,’ उनले भने, ‘कर्मचारी समायोजन गर्ने बेला हाम्रो गाउँपालिकामा आवश्यक कर्मचारीको संख्या लोक सेवा आयोगसँग माग गरेका थियौं । त्यसको केही समयपछि कर्मचारी पनि आए ।’ अहिले स्थानीय तहका कर्मचारीले पनि सरुवा हुन पाउने व्यवस्था भएपछि दुर्गम भनेर धेरैजसो आफूलाई पायक पर्ने स्थानमा जान थालेपछि कर्मचारीे अभावले कार्यसम्पादनमा चुनौती थपिएको उनले सुनाए ।

प्रदेशको लोक सेवा आयोगलाई पनि आवश्यक कर्मचारीको संख्या माग गरेको तर आयोग आफैंमा अलमल रहेकाले काम चलाउने तरिकाले पालिकाको काम गरिरहेकोे भण्डारीले बताए । प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्ना गर्ने या नगर्ने सन्दर्भमा चाँडो निर्णय लिनुपर्ने उनको भनाइ छ ।

दुर्गमका स्थानीय तहमा आफ्नै ठाउँका कर्मचारीसमेत बस्न नरुचाएको कमल बजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए । नगरपालिकाका १० वटा वडामध्ये ४ वडामा मात्रै वडा सचिव रहेको उनको भनाइ छ । ‘दुर्गमका मान्छे लोक सेवा आयोगमा न्यून संख्यामा नाम निकाल्छन् । ती नाम निकालेकाहरू सुरुमा आफ्नै स्थानीय तहमा आए । सेवा सुविधा र आफ्नो व्यक्तित्व विकासका लागि भए पनि उनीहरू यस्तो ठाउँमा बस्न मन पराउँदैनन्,’ उनले भने, ‘कर्मचारीले आफूले रोजेको ठाउँमा जान पाएपछि सबैले सुगम नै रोजेको र दुर्गमका स्थानीय तहमा कसैले आउन खोजेका छैनन् ।’ अहिले नगरपालिकाका ६ वटा वडामा शिक्षा, कृषि र पशु सेवा शाखातर्फका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएको उनले बताए ।

रामारोशन गाउँपालिका–७ सुतारमा कार्यरत अहेव श्याम भण्डारी अहिले पनि दोहोरो जिम्मेवारीमा छन् । अहेव विषय पढेर स्थायी कर्मचारीका रूपमा रामारोशन गाउँपालिकामा आउनेबित्तिकै वडा सचिव र स्वास्थ्य चौकी इन्चार्जको जिम्मेवारी उनलाई आयो । जिल्लाकै दुर्गम मानिने सुतार र भाटाकाटियामा उनले ३ वर्षदेखि दुईतिर काम गर्दै आएका छन् । ‘प्राविधिक विषय पढेर आएको यता प्रशासनको काम पनि गर्नुपर्ने भएकाले सुरुमा गाह्रो भएको थियो । अहिले जसोतसो दुवैतिरको काम गरिरहेको छु,’ उनले भने, ‘जीर्ण भवनबाट सेवा दिनुपर्छ । कामको चाप एकातिर हुन्छ, वर्षामा पानी परेपछि छानो उडाउने हो कि भन्ने चिन्ता अर्कातिर हुन्छ । ढुक्कले काम गर्न पाएको त कुनै दिन छैन । कार्यालय सहयोगीदेखि वडा सचिवको काम आफैं गर्नुपर्ने बाध्यता छ ।’

प्रकाशित : आश्विन ८, २०७९ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?