२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

शैक्षिक सुधारमा विद्यालय छनोट

दार्चुला — चालु आर्थिक बर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका ३९ विद्यालय छनोट भएका छन् । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा उक्त कार्यक्रममार्फत विद्यालय भवन निर्माण र आईसीटी ल्याव स्थापना गरिने छन् ।

शैक्षिक सुधारमा विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सबैभन्दा बढी महाकाली नगरपालिकाका ७ विद्यालय र सबैभन्दा कम ब्यास गाउँपालिकाका २ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय दार्चुलाले जनाएको छ । कमजोर भौतिक संरचना भएका विद्यालय भवन निर्माणका लागि २१ वटा विद्यालयमा ४ कोठे र २ कोठे भवन निर्माण गरिने छन् । जिल्लाभरिका १८ विद्यालयमा आईसीटि ल्याव स्थापना गरिने छन् । विगत केही बर्षदेखि बर्षेनी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत जिल्लाका विद्यालयका भवन निर्माण कार्य भईरहेका छन् । जिल्लाभरिका ८५ विद्यालयमध्ये चालु आवमा ३९ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ ।

९ वटै स्थानीय तहका १२ विद्यालयमा ४ कोठे विद्यालय भवन निर्माण हुने छन् । जसमा महाकाली नगरपालिकामा ४ वटा विद्यालय र अन्य स्थानीय तहहरूमा एक/एक विद्यालयमा ४ कोठे विद्यालय भवन निर्माण गरिने छन् । ४ कोठे विद्यालय भवन निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा एक/एक वटा २ कोठे विद्यालय भवन निर्माणका लागि कार्यक्रममा छनौट भएका छन् । २ कोठे भवन निर्माणका लागि २७ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा महाकाली नगरपालिकाका २ विद्यालय, मार्मा गाउँपालिकामा तीन विद्यालय, नौगाड गाउँपालिकामा तीन विद्यालय छनोट भएका छन् । अपी हिमाल गाउँपालिकामा २ वटा विद्यालय, लेकम गाउँपालिकामा २ विद्यालय, शैल्यशिखर नगरपालिकाका २ विद्यालय, मालिकार्जुन गाउँपालिकामा २ विद्यालय, दुहु गाउँपालिकामा आईसिटी ल्याव स्थापना गर्न २ विद्यालय छनोट भएका छन् । ब्यास गाउँपालिकामा भने आईसीटी ल्याबको कार्यक्रम नपरेको इकाइ प्रमुख पन्तले जानकारी दिए । उनका अनुसार विद्यालयमा आईसीटी ल्याब स्थापनाका लागि ६ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

प्रकाशित : आश्विन ७, २०७९ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?