१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सामुदायिकमा विद्यार्थी संख्या न्यून

तृप्ति शाही

बैतडी — जिल्लाका केही विद्यालयमा विद्यार्थी संख्या न्यून छ । जिल्ला सदरमुकाम गढीमै रहेको दशरथ प्राविमा जम्मा ८४ जना विद्यार्थी छन् । शिक्षक भने ७ जना छन् । सदरमुकाममा निजी विद्यालय भएकाले विद्यार्थी उतै पढ्ने गरेको विद्यालयका प्रधानाध्यापक सरपसिंह ठगुन्नाले बताए । निजी विद्यालयकै कारण आफ्नो विद्यालयमा विद्यार्थी संख्या न्यून रहेको उनले बताए ।

सामुदायिकमा विद्यार्थी संख्या न्यून

‘जिल्लाको पुरानो यो विद्यालयमा पढ्ने सबै दलित बालबालिका मात्र छन्,’ उनले भने, ‘१/२ जना मात्र अन्य विद्यार्थी छन् । अरु सबै दलित मात्र छन् । आर्थिक अवस्था कमजोर भएकाहरूले मात्र बालबालिकाहरूलाई सरकारी विद्यालयमा पढाउन पठाउँछन् ।’

यस्तै दशरथचन्द नगरपालिका—८ मा रहेको शिव आधारभूत विद्यालयमा ३० विद्यार्थी छन् । अभिभावकहरूले बालबालिकालाई पढाइका लागि बाहिर पठाउने भएकाले विद्यार्थी संख्या कम भएको विद्यालयका प्रधानाध्यापक खड्क सिंह बोहराले बताए ।

यस्तै मेलौली नगरपालिकामा रहेको भूमिराज आधारभूत विद्यालयमा १० देखि १२ जना मात्र विद्यार्थी रहेका पालिकाकी शिक्षा अधिकृत मनुकुमारी क्षेत्रीले बताइन् । विद्यालयमा ३ शिक्षकले पढाइरहेका उनले बताइन् । यस्तै मेलौली नगरपालिका—२ मा रहेको केदारेश्वर मावि दुर्गास्थानमा पनि २५० जना विद्यार्थी मात्र छन् । सबैभन्दा कम ८ कक्षामा ४ जना मात्रै विद्यार्थी छन् । नजिकै अन्य विद्यालयहरू पनि भएकोले विद्यालयमा विद्यार्थी संख्या कम भएको विद्यालयले जनाएको छ ।

विद्यार्थी कम भएका विद्यालय मर्ज हुँदै

विद्यार्थी संख्या कम भएका विद्यालयलाई मर्ज गरिएको छ । केहि वर्षयता मात्र दरथचन्द नगरपालिकाका ६ वटा विद्यालयलाई मर्ज गरिसकिएको छ । अझै ३ देखि ४ वटा विद्यालयलाई मर्ज गर्ने तयारी भइरहेको नगर शिक्षा शाखाका मोहन नाथले बताए । बढ्दो बसाइसराईको कारणले गर्दा विद्यालयमा विद्यार्थीहरू कम हुँदै गएका उनले बताए । अंग्रेजी भाषाको मोह बढेकाले पनि बालबालिकाहरूलाई बोर्डिङ स्कुलमा पढाउन थालिएको छ । ‘सामुदायिक विद्यालयको पढाइ कमजोर भएकोले पनि विद्यार्थीहरू कम भएका छन् । जन्मदर घटेकोले पनि कम विद्यार्थीहरू छन्,’ उनले भने ।

दशरथचन्द नगरपालिकामा मात्र नभएर जिल्लामा अन्य पालिकामा पनि विद्यालयहरू मर्ज भएका छन् । गत वर्ष डिलाशैनी गाउँपालिकामा २ वटा विद्यालयलाई मर्ज गरिएको छ । यस्तै मेलौली नगरपालिकामा ३ वटा विद्यालय मर्ज भएका छन् । शिवनाथ गाउँपालिकामा पनि विद्यालयहरू मर्ज भएका छन् । राष्ट्रिय नीतिअनुसार नै विद्यार्थी संख्या कम भएका विद्यालयहरू मर्ज गर्ने गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । विद्यार्थीहरू कम भएको ठाउँबाट अन्त बढी भएको ठाउँमा शिक्षकहरू सारेर दरबन्दी मिलान र मर्ज गर्ने कुरा स्थानीय पालिकामा परिपत्र भइसकेको उनले बताए ।

‘कतिपय पालिकाले मिलाइए पनि सकेका छन्,’ अवस्थीले भने, ‘यसमा भौगोलिक दूरी पनि हेर्नुपर्छ । विद्यार्थीलाई धेरै मर्का परेको खण्डमा हेरिन्छ नभए विद्यालय मर्ज गर्ने कुरा छ । नीति पनि आउँदै छ । पालिकाले यसमा काम पनि गरिरहेका छन् ।’ दरबन्दी मिलानको विषयमा पनि आफूहरू गम्भीर रहेको उनले बताए । अहिले पुराना जनप्रतिनिधि गएर नयाँ आएको बेला मंसिरमा सबैसंँग छलफल गरेर निष्कर्ष निकाल्दै अगाडि बढ्ने उनले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?