सुकुम्बासीलाई बाढीको पीडा

‘खाना पकाउने भाँडाकुँडासमेत बाढीमै बग्यो, शरीरको कपडाबाहेक अरू केही बाँकी रहेन’
भवानी भट्ट

कञ्चनपुर — खाटभरि पुराना लुगाकपडा । छेउमै चुलो । त्यही चुलोमा दिउँसोको खाना पाकिरहेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बनहरा नदीको पुलमुनिको दृश्य हो यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको राजमार्ग किनारको बनहरा सुकुम्बासी शिविरकी जानकी बोहराको बास ४ दिनदेखि यही पुलमुनि छ ।

सुकुम्बासीलाई बाढीको पीडा

भदौ ३१ गते राति आएको बाढीले बनहरा नदी किनारको सुकुम्बासी बस्तीको पूरै घर भत्केपछि उनीसहित केही परिवार पुलमुनि बस्न थालेका हुन् । ‘बाढीले घर मात्रै भत्काएन, पिठो, चामल र लुगाकपडा सबै बगायो,’ बोहराले भनिन्, ‘राहतमा पाएको चामल पनि सकिन लाग्यो, अब के खाने भन्ने चिन्ता छ ।’ बनहरा नदी किनारकै उनको छाप्रो शुक्रबार रातिको बाढीले भत्काएको छ ।

घरभित्रका ओढ्ने–ओछ्याउनेदेखि लगाउने लुगाकपडासमेत बाढीमा बगेको उनले बताइन् । ‘वर्षभरिका लागि किनेको धान गहुँसमेत बाढीमै बग्यो,’ बोहराले भनिन्, ‘रातभरि भागेर ज्यान जोगाउन सक्यौं ।’ शुक्रबार दिउँसैदेखि वर्षा भइरहेको थियो । मध्यरातमा बोहरा परिवार निदाएकै थियो । घरभित्र बाढी पसेपछि मात्रै उनले थाहा पाइन् । त्यतिबेला बाहिर निस्कँदा जताततै पानी नै पानी थियो ।

पूर्वपश्चिम राजमार्ग छेउमा बनहरा नदी किनारमा ३० परिवार सुकुम्बासीको बसोबास छ । सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट बाढी र पहिरोबाट विस्थापित भएका परिवारहरू डेढ दशकदेखि कृष्ण सामुदायिक वन क्षेत्रमा छाप्रो बनाएर बसोबास गरिरहेका हुन् । सुकुम्बासीहरू बसोबास गरिरहेको क्षेत्रभन्दा केही माथिबाट बनहराको बाढी वन क्षेत्रमा पसेर जलमग्न भएको थियो । अहिले पनि केही घर पूरै भत्केका छन् भने अधिकांश घरको बार भत्केको छ । घरभित्र अहिले पनि लेदो र पानी सुकेको छैन । कतिपय त्यही लेदोभित्र पुरिएका लुगाकपडा खोजेर धोइपखाली गरिरहेका छन् । ‘लेदोभित्रका कपडा खोजेर धुने काममै लागेका छौं,’ अर्की विस्थापित पार्वती बोहराले भनिन्, ‘जंगलको बास छ, हात्ती आएर रातभरि सुत्न पाएका छैनौं ।’ उनका अनुसार सोमबार राति कृष्ण सामुदायिक वनमा हात्ती आएका थिए । पालमुनि रातभरि अनिँदै बसेको उनले बताइन् ।

‘खाना पकाउने भाँडाकुँडासमेत बाढीमै बग्यो,’ २०६२ मा बाजुराको बाह्रबिसबाट पहिरोका कारण विस्थापित भई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बनहरा नदी किनार बसोबास गरिरहेकी राधिका सुनार सोपले भनिन्, ‘शरीरको कपडाबाहेक अरू केही बाँकी रहेन ।’ राति एक्कासि बाढी आउँदा उनी पनि बगेकी थिइन् । स्थानीयले थाहा पाएर तत्कालै जोगाएको उनले बताइन् । ‘घरभित्र पानी भरिएर घाँटीसम्म पुगेको थियो, भाग्ने बेला बगाइहाल्यो,’ सोपले भनिन्, ‘जंगलभरि पूरै पानी थियो, भाग्ने ठाउँ पनि कतै पाइएन ।’ अहिले पनि बनहरा नदी छेउमै पाल टाँगेर बसिरहेको उनले बताए । बाजुरामा पहिरोका कारण बसाइँ सरेकी उनलाई तराईमा पनि विपत्तिले छाडेन ।

स्थानीय तहको निर्वाचनका बेला हरेक राजनीतिक दलका नेता तथा उम्मेदवारहरू उचित व्यवस्थापन गर्ने भन्दै दिनहुँ आउने गरे पनि अहिले भने कोही नआएको उनीहरू बताउँछन् । ‘भोट माग्ने बेला त दिनहुँ कोही न कोही आउँथे, तपाईंलाई हेर्छौं भन्थे,’ बोहराले भनिन्, ‘तर अहिले वडाध्यक्षसमेत आएका छैनन् ।’ बाढीबाटै विस्थापित लक्ष्मी सुनारले मंगलबार चौथो दिन चुलो बालिन् । पकाउने भाँडाकुँडा ठेगानमा नभएका कारण उनले तीन दिनसम्म चिउरा, चाउचाउ र भुजामै दिन काटिन् । विस्थापित भएको दोस्रो दिन वडाले ५ किलोग्राम चामल दिए पनि पकाउने भाँडाकुँडा नभएका कारण चिउरा र चाउचाउ खाएरै बसेको उनले बताइन् ।

बनहरा सुकुम्बासी शिविरमा बसोबास गर्नेहरू बर्सेनि विस्थापित हुने गरेका छन् । उनीहरूको उचित पुनःस्थापनाका लागि विभिन्न संघ संस्थादेखि नगरपालिकाले समेत पहल गर्दै आएको छ । तर हालसम्म उनीहरू नदी किनारमै र पुलमुनि बस्न बाध्य छन् । पछिल्लो पटक राष्ट्रिय भूमि आयोगमा समेत आवेदन दिएका उनीहरू बसोबासको ठेगान हुने आसमा छन् । तर त्यो पनि कति समय लाग्ने हो कुनै ठेगान छैन ।

गत वर्ष पनि बनहराको बाढीसँगै कृष्ण सामुदायिक वनबाट निस्किने नालाको बाढीले समेत यहाँका सुकुम्बासी विस्थापित भएका थिए । बर्खामा पानी पर्नेबित्तिकै खोला उर्लेर आउने तथा जंगलको पानीसमेत घर छाप्राको बीचबाट बग्ने गर्दछ । ‘आकाशको पानी पर्‍यो कि घरभित्रै पस्छ,’ देवकी विष्टले भनिन्, ‘हिउँदमा जाडोले कठ्यांग्रिन्छौं, बर्खामा बाढीले रुझाउँछ ।’ शुक्रबार राति आएको बाढीले उनको अटो रिक्सासमेत बगाएको थियो । श्रीमान् लक्ष्मण विष्टले त्यही अटो चलाएर घरपरिवारको गुजारा चलाएका थिए । बाढीले बगाएर ५ सय मिटर तल पुर्‍याएको अटो नचल्ने भएको छ । खानका लागि पिठो, चामल किन्नसमेत पैसा नभएको अवस्थामा अटो कसरी मर्मत गर्ने भन्ने चिन्ता छ ।

प्रकाशित : आश्विन ६, २०७९ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?