२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पहिरो पीडित परिवारलाई १ लाख २० हजार

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारलाई जनही एक लाख २० हजार रुपैयाँ दिने निर्णय गरेको छ । सोमबार बसेको प्रदेश विपद् कार्यसमिति बैठकले मृतकका परिवारलाई जनही एक लाख र २० हजार थप किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, प्राकृतिक विपदका कारण घर क्षति भएका परिवारलाई जनही ५० हजार क्षतिपूर्ति दिने निर्णय भएको मन्त्रालयका सुचना अधिकारी लक्ष्मीराज जोशीले बताए । कार्यविधिले तोके अनुसार राहत तथा क्षतिपूर्ति दिने निर्णय भएको उनको भनाई छ ।

हाल डेंगीको प्रकोप रहेको र प्राकृतिक विपदको पीडामा रहेका परिवारहरूलाई थप समस्या हुनसक्ने आकलन गर्दै उनीहरूका लागि १० लाख बराबरको झुल, १० लाख बराबरको म्याट र १० लाखको त्रिपाल खरिद गरेर उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा गत शुक्रबार आएको बाढी पहिरोबाट अछाम र कैलाली गरी २५ जनाको मृत्यु भएको छ । अछाममा २२ जनाको मृत्यु भएको छ । १ जना अझै बेपत्ता छन । कैलालीमा तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्राकृतिक विपद्कै कारण कैलाली, कञ्चनपुर र अछाममा गरी साढे चार हजार बढी परिवार विस्थापित भएको जानकारी प्राप्त भएको सूचना अधिकारी जोशीले बताए ।

बिहीबारयताको वर्षाका कारण अछाममा पहिरोमा परेर २२ जनाको मृत्यु भएको थियो । बाढीका कारण कैलालीमा तीन जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएका अछामको ढकारी गाउपालिकाका एक जना अझै बेपत्ता छन् ।

प्रकाशित : आश्विन ५, २०७९ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?