कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बिजुली चम्किँदा तर्सन्छन् पहिरोपीडित

‘अहिले यहाँका धेरैजसो मान्छे मानसिक रुपमा कमजोर भएका छन्, राहत मात्रै नभएर उनीहरुलाई काउन्सिलिङ गर्न जरूरी छ’ 
मेनुका ढुंगाना

अछाम — मुसलधारे वर्षासँगै शुक्रबार राति ३ बजेतिर एक्कासि आकाश गड्याङगुडुङ भयो । अछामको कमलबजार नगरपालिका–६ ठाटीखाँदमा घरमाथिबाट पहिरो खस्दा ४० वर्षीया डिक्रादेवी कामी र ४२ वर्षीय इन्द्रसिंह कामी दम्पतीको घरमात्रै बगाएन, उनीहरूको जीवनमै ठूलो पहिरो गयो । हुर्काइबढाइ दुःख गरेर पढाउँदै गरेका तीन छोरीको पहिरोमा च्यापिएर ज्यान गयो । डिक्रादेवीकी जेठी छोरी सञ्जिता, माइली सरिता र कान्छी गीताको मृत्यु भएपछि उनी विक्षिप्त बनेकी छन् । 

बिजुली चम्किँदा तर्सन्छन् पहिरोपीडित

छोरीहरूको ज्यान गएको चार दिन भइसक्दा पनि उनको होस् खुलेको छैन । अर्धचेत अवस्थामा उनी कतिबेला जेठी छोरीलाई बोलाउँछिन् त कतिबेला माइली छोरीलाई घाँस काट्न जाउ भन्छिन् । कान्छी छोरीको नामले चिच्याउँदै गाउँमा निस्किन्छिन् । जेठी छोरी सञ्जिता कक्षा १२ र ओभरसियरको पढाइ सकेर कमलबजार नगरपालिकामा केही समयअघि ओजेटी सकेकी थिइन् ।

गाउँको बालक्लबकी सचिवसमेत रहेकी सञ्जिताले बहिनी सरितालाई पनि गाउँका विभिन्न कार्यक्रममा सक्रिय बनाएकी थिइन् । उनले १७ वर्षीया छोरी सञ्जिता, कक्षा १२ मा पढ्ने १६ वर्षीया सरिता र कक्षा ८ मा पढ्ने १४ वर्षीया गीतालाई कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर पढाएकी थिइन् । दुःख गरेर हुर्काएका तीन छोरीको मृत्यु भएपछि उनीसँग १० वर्षको एक छोरा र ३ वर्षकी एक छोरी छन् ।

त्यही पहिरोमा परेर घाइते भएका इन्द्रसिंह अहिले बाँचेका आफ्ना परिवारलाई लिएर आफन्तको घरमा आश्रय लिएर बसेका छन् । पहिरो गएको ठाउँमा ३ घर मात्रै थिए । ‘एक घर मेरो हो, त्यहाँ १४ जना बस्थ्यौं । ७ जनाको मृत्यु भयो अब ७ जना बाँचेका छौं । अर्को घरमा भएकाहरू पनि जोखिममा छन् । उनीहरूले पनि घर छोडेर आफन्त कहाँ बसिरहेका छन्,’ इन्द्रसिंहले भने, ‘८५ वर्षका बुवा भक्त कामी बिहान ३ बजे नै ब्युँझिसकेका रहेछन् । ठूलो पानी परेर जमिन थर्किएपछि घर पछाडिको ठूलो ढुंगा घरमा आयो । बुवा बाहिर आएर चिच्याउनुभयो । त्यतिबेला हामी च्यापिसकेका रहेछौं । बुवाले वरपरका मान्छेलाई बोलाए । हामीलाई बिहान ४ बजे उद्धार गरेर बाँच्यौं ।’

सोही घरमा बसिरहेका मैनकला कामी, उनकी गर्भवती बुहारी धना कामी, छोरा ईश्वर, छोरी सिर्जनाको पनि पहिरोमा च्यापिएर मृत्यु भयो । कमलबजार नगरपालिका–६ का वडाध्यक्ष लालबहादुर शाहीका अनुसार २१ वर्षीया धना आठ महिनाकी गर्भवती थिइन् । ‘यो अछामकै लागि ठूलो घटना हो । अहिले यहाँका धेरैजसो मान्छे मानसिक रूपमा कमजोर भएका छन् । राहत मात्रै नभएर उनीहरूलाई मानसिक रूपमा पनि काउन्सिलिङ गर्न जरुरी देखिन्छ,’ वडाध्यक्ष शाहीले भने ।

‘एकातिर पहिरोमा च्यापिएर परिवारका २ जनाको मृत्यु भएको छ । अर्कोतिर घरमा बस्न नपाएर बिचल्ली भएको छ । यतिबेला हामीलाई सरकारको अभिभावकत्व चाहिएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार पहिरोपीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट तत्काल राहतका लागि प्रतिपरिवार एक लाख रुपैयाँ, खाद्यान्न, लत्ताकपडा उपलब्ध गराइएको छ । शुक्रबार पहिरोले घर पुरिँदा कमलबजार नगरपालिका–८ मा पाँच, कमलबजार–६ मा सात, तुर्माखाँद गाउँपालिका–५ मा आठ र ढकारी गाउँपालिका–६ मा दुई जना गरी २२ जनाको मृत्यु भएको थियो । तुर्माखाद–५ नाडाका एक जना अझैसम्म बेपत्ता छन् । पहिरोले तीनवटै स्थानीय तहका २३ परिवार विस्थापित भएका छन् ।

प्रकाशित : आश्विन ५, २०७९ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?