मानसिक विचलनमा पहिरोपीडित

मेनुका ढुंगाना

अछाम — गत शुक्रबार राति ३ बजेतिर मुसलधारे वर्षासँगै एक्कासी आकाश गड्याङगुडुङ गर्‍यो । अछामको कमलबजार नगरपालिका-६ ठाटीखाँदमा घरमाथिबाट पहिरो खस्दा ४० वर्षीया डिक्रादेवी कामी र ४२ वर्षीय इन्द्रसिंह कामी दम्पतीको घरमात्रै बगाएन‚ उनीहरूको जीवनमै ठूलो पहिरो गयो । हुर्काइबढाई‚ दुःख गरेर पढाउँदै गरेका तीन छोरीको पहिरोमा च्यापिएर ज्यान गयो । डिक्रादेवीकी जेठी छोरी सञ्जिता, माइली सरिता र कान्छी गीताको एकै चिहान भएपछि उनी विक्षिप्त बनेकी छन् ।

मानसिक विचलनमा पहिरोपीडित

छोरीहरूको ज्यान गएको चार दिन भइसक्दा पनि उनको होस पूर्ण रुपमा अझै खुलेको छैन । अर्धचेत अवस्थामा उनी कतिबेला जेठी छोरीलाई बोलाउँछिन् त कतिबेला माइली छोरीलाई घाँस काट्न जाऊ भन्छिन् । कान्छी छोरीको नामले चिच्याउँदै गाउँमा निस्किन्छिन् । जेठी छोरी सञ्जिता कक्षा १२ र ओभरसियरको पढाइ सकेर कमलबजार नगरपालिकामा केही समयअघि ओजेटी सकेकी थिइन् । गाउँको बालक्लबकी सचिवसमेत रहेकी सञ्जिताले बहिनी सरितालाई पनि विभिन्न कार्यक्रममा सक्रिय बनाएकी थिइन् । उनले १७ वर्षीया छोरी सञ्जिता, कक्षा १२ मा पढ्ने १६ वर्षीया सरिता र कक्षा ८ मा पढ्ने १४ वर्षीया गीतालाई कहिले दाउरा बेचेर त कहिले गिट्टी कुटेर पढाएकी थिइन् । दुःख गरेर हुर्काएका तीन छोरीको पहिरोमा परी मृत्यु भएपछि उनीसँग १० वर्षको एक छोरा र ३ वर्षकी एक छोरी बाँकी छन् ।

त्यही पहिरोमा परेर घाइते भएका इन्द्रसिंह आफ्ना परिवारलाई लिएर आफन्तको घरमा आश्रय लिएर बस्दै आएका छन् । ‘पहिरो गएको ठाउँमा ३ घरमात्रै थिए । एक घर मेरो हो, त्यहाँ १४ जना बस्थ्यौं । ७ जनाको मृत्यु भयो, अब ७ जना बाँचेका छौं । अर्को घरमा भएकाहरू पनि जोखिममा छन् । उनीहरूले पनि घर छाडेर आफन्त कहाँ बसिरहेका छन्,’ इन्द्रसिंहले भने । ८५ वर्षका उनका बुबा भक्त कामी बिहान ३ बजे नै ब्युँझिसकेका रहेछन् । ‘ठूलो पानी परेर जमिन थर्किन थालेपछि घर पछाडिको ठूलो ढुंगा घरमा आयो । बुबा बाहिर आएर चिच्याउनुभयो । त्यतिबेला हामी च्यापिइसकेका रहेछौं । बुबाले वरपरका मान्छेलाई बोलाउनुभयो । हामीलाई बिहान ४ बजे उद्धार गरियो र बाँच्यौं ।’

सोही घरमा बस्दै आएका मैनकला कामी, उनकी गर्भवती बुहारी धना कामी, छोरा ईश्वर, छोरी सिर्जनाको पनि पहिरोमा च्यापिएर मृत्यु भयो । ‘यो अछामकै लागि ठूलो घटना हो । अहिले यहाँका धेरैजसो मान्छे मानसिक रुपमा कमजोर भएका छन् । राहतमात्रै नभएर उनीहरुलाई मानसिक रुपमा पनि काउन्सिलिङ गर्न जरुरी देखिन्छ,’ कमलबजार नगरपालिका-६ का वडाध्यक्ष लालबहादुर शाहीले भने ।

यता ढकारी गाउँपालिका-६ ढुंगाचाल्नामा पहिरोपीडितहरू विद्यालयमा आश्रय लिएर बसिरहेको स्थानीय निर्मल बुढाले बताए । ‘हामी अष्टसिद्ध माविको भवनमा १० भन्दा बढी परिवार बसिरहेका छौं । हाम्रा घरहरू पहिरोको उच्च जोखिममा छन् । त्यहाँ फर्किन सक्ने अवस्था छैन,’ उनले भने, ‘विद्यालयमा बसेको ४ दिन भइसक्यो । कति दिनसम्म यसरी बस्ने भन्ने तनाव भएको छ । सानोतिनो राहतले हामीलाई केही दिन खान त पुग्ला तर पछिसम्म हामीले के गर्ने भन्ने चिन्ता थपिएको छ ।’ अलिकति वर्षा सुरु हुँदा पनि महिला, बालबालिका, वृद्धवृद्धाहरू चिच्याउने गरेको बुढाले बताए । ‘एकातिर पहिरोमा च्यापिएर परिवारका २ जनाको मृत्यु भएको छ । अर्कोतिर घरमा बस्न नपाएर बिचल्ली भएको छ । यतिबेला हामीलाई सरकारको अभिभावकत्व चाहिएको छ ।’

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार पहिरोपीडित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट तत्काल राहतका लागि प्रतिपरिवार एक लाख रुपैयाँ, खाद्यान्न, लत्ताकपडा उपलब्ध गराइएको छ । शुक्रबार पहिरोले घर पुरिँदा कमलबजार नगरपालिका-८ मा पाँच, कमलबजार-६ मा सात, तुर्माखाँद गाउँपालिका-५ मा आठ र ढकारी गाउँपालिका-६ मा दुई जना गरी २२ जनाको मृत्यु भएको थियो । तुर्माखाद-५ नाडाका एक जना अझैसम्म बेपत्ता छन् । पहिरोले तीनवटै स्थानीय तहका २३ परिवार विस्थापित भएका छन् ।

प्रकाशित : आश्विन ४, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?