कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कोही खुला आकाशमुनि, कोही फर्किए घर

‘बाढी पसेर घरभित्र खाद्यान्नलगायत लत्ताकपडा केही बाँकी राखेको छैन, सबै भिजेका छन्’

धनगढी,कञ्चनपुर — कैलालीको दक्षिण–पूर्वी क्षेत्रको बाढीले डुबान भएका बस्तीमा पानीको सतह घट्दै गएपछि स्थानीय विस्तारै घर फर्कन थालेका छन् । घरभित्रको हिलाम्यलाई भुसा र परालले मुछेर पोतेर बस्न लायक बनाउँदै घर फर्कन थालेको बाढी प्रभावित क्षेत्रका स्थानीय तहले जनाएको छ । भजनी नगरपालिका–३ र ८ का केही बस्तीका विस्थापित परिवार भने अझै घर फर्कन सक्ने स्थितिमा नभएको नगरप्रमुख केवल चौधरीले बताए ।

कोही खुला आकाशमुनि, कोही फर्किए घर

‘भजनी नगरपालिकाका दुई वडामा अझै आवागमन सहज भएको छैन,’ नगरप्रमुख चौधरीले भने, घरभित्र, सडक र खेतमा अझै कम्मरसम्म पानी थुनिएर छ ।’ उनले होचो स्थानमा रहेका दुई वडामा जमेको पानी नबग्ने भएकोले पनि घर डुबानमै रहेको उनले बताए ।

उनका अनुसार ती दुई वडामा सोमबार पनि घर फर्कन नसक्ने परिवार ५ सय बढी हुन सक्ने अनुमान छ । उनीहरू दुई ताले भवन भएको स्थानीय विद्यालयको माथिल्लो तलामा र हुलाकी सडक मा रहेको उनले बताए । अन्य वडा र बस्तीको डुबान घटिसकेकोले घर फर्कन सक्ने स्थितिमा रहेका परिवार फर्कन सुरु गरेको नगरप्रमुख चौधरीले जनाए । ‘घर फर्कन नसक्ने परिवारलाई पनि रासनपानीको व्यवस्था मिलाउनुपरेको छ,’ उनले भने, ‘बाढी पसेर घरभित्र खाद्यान्नलगायत लत्ताकपडा केही बाँकी राखेको छैन । सबै भिजेको अवस्थामा छ ।’ उनले यतिबेला डुबानग्रस्त भजनीवासीलाई सहयोग गर्न पनि सबैलाई अपिल गरेका छन् ।

कैलारी गाउँपालिकाका अध्यक्ष रामसमज चौधरीले बाढीले घर भिजेकै अवस्थामा रहे पनि अधिकांश परिवार आफ्नै घर फर्किसकेको बताए । उनका अनसार वडा ७ का केही बस्तीका २०/३० परिवार मात्रै घर बाहिर त्रिपालमुनि बसिराखेका छन् । ‘खाद्यान्न भिजेका परिवारलाई पनि केही दिनका लागि रासन दिने व्यवस्था मिलाइराखेका छौं,’ उनले भने, ‘आइतबारदेखि नै पालिकाले सम्पूर्ण क्षतिको विवरण संकलन गर्न लागेका छौं । यकिन विवरण ३/४ दिनभित्र आइपुग्छ ।’

जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले पनि आइतबार डुबानग्रस्त बस्तीमा पानीको सतह घटेकाले अधिकांश परिवार आफ्नै घर फर्कन सुरु भएको बताए । ‘घर भिजेको र हिलाम्य भए पनि डोरीखाटको प्रयोग गरेर आफ्नै घरभित्र बस्न सुरु गरेका छन्,’ उनले भने, ‘भुसा र हिलो माटो मुछेर सुकाएर चुलो बाल्ने ठाउँ बनाएका छन् ।’ उनले बाढीले अधिकांशको घर दुईतिन दिनसम्म सफा गर्न नै समय लाग्ने बताए ।

अध्यक्ष चौधरीअनुसार बिहीबारदेखिको वर्षाले जोशीपुरका ३ हजार ३ सय ९ परिवार प्रभावित भएको बताए । घरभित्र बस्नै नसक्ने परिवारको संख्या २० परिवार जति मात्रै बाँकी रहेको बताए । खाद्यान्न भिजेकाले उनीहरूलाई एक सातासम्मका लागि रासनपानीको व्यवस्था गर्ने तयारी गरिरहेको उनले जनाए । त्यस्तै जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले डुबान क्षेत्रमा पानी घटिसकेकाले विस्थापित परिवार घर फर्कन थालेको बताए । उनका अनुसार ३ सय बढी घर बाढी बस्तीमा पसेर शनिबार डुबानमा परेका थिए । घर फर्कन नसक्ने परिवारलाई पालिकाले सम्बन्धित वडाको सुरक्षित स्थानमा खान र बस्ने व्यवस्था मिलाएको उनले बताए । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले पनि सोमबारसम्म अधिकांश परिवार घर फर्किसकेका छन् । ‘घर फर्केका परिवारको खाद्यान्न र लत्ताकपडा भिजेको छ,’ उनले भने, ‘खाद्यान्न र एकसरो लुगा बदल्ने गरी कपडाको समेत व्यवस्था गरिरहेका छौँ ।’

घर फर्किन थाले विस्थापित

कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले विस्थापित भएका परिवारघर फर्किन थालेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा विस्थापित भएकाहरू आइतबारदेखि नै घर फर्किन थालेका हुन् । शुक्रबार राति दोदा, बनहरा र मछेली खोलामा आएको बाढीले ४ सय बढी परिवार विस्थापित भएका थिए । दोदा नदीको बाढीले लालझाडी गाउँपालिका पूरै डुबानमा परेको थियो । लालझाडीमा डेढ सय बढी परिवार विस्थापित भएका थिए । यसैगरी दोदा नदीकै बाढीले पुनर्बास नगरपालिका ५ सिमरीमा पनि डेढ सय परिवार विस्थापित भएका थिए ।

कृष्णपुर नगरपालिका ५ को मुक्तकमैया बस्तीमा ८० परिवार विस्थापित भएका थिए भने सोही नगरपालिकाको वडा नं. ४ मा ७० परिवार विस्थापित भएका थिए । शुक्लाफाँटा नगरपालिका ११ र १२ का ५० परिवार विस्थापित भएका थिए । ‘मौसम सुधार भएसँगै नदी नालाहरूमा जलस्तर घटेको छ, विस्थापितहरू घर फर्किएका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने, ‘बाढीले घर भत्काएका केही परिवार भने नजिकैको सामुदायिक विद्यालयमा बसेका छन् ।’ बनहरा नदीको बाढीले शुक्लाफाँटा नगरपालिका ११ को सुकुम्बासी शिविरका एक दर्जन बढी घर टहरा भत्काएपछि उनीहरू विस्थापित भएका छन् ।

बाढीले धानबालीमा क्षति

बाढीले धानबालीमा पनि क्षति पुर्‍याएको छ । नदी किनारमा कटानसँगै कतिपय ठाउँमा पटानसमेत गरेका कारण धानबालीमा क्षति पुगेको हो । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीले अहिले नै क्षतिको विवरण संकलन हुन नसकेको बताए ।

उनका अनुसार दोदा, बनहरा, मछेली लगायतका नदी किनारमा जमिन कटान गरेर धानबालीसमेत बगाएको छ । यकिन विवरण संकलन भएपछि मात्रै कति क्षति भयो भन्ने थाहा हुने उनले बताए । अहिलेको वर्षाले पाकेको धानलाई असर गरे पनि पसाउन लागेको धानलाई फाइदा पुग्ने जोशीले बताए ।

प्रकाशित : आश्विन ४, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?