कैलालीमा गठबन्धनभित्र तानातान

कैलाली–१ मा कांग्रेस, एमाले, माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीका कारण आफूले जित्नेमा चुनौती देखेका छन्

धनगढी — पाँच वटा संघीय निर्वाचन क्षेत्रमध्ये कैलालीको क्षेत्र नम्बर २ र ४ सत्तागठबन्धनभित्र तानातानमा परेको छ । कैलाली–५ प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणाको भागमा छुट्याइएको छ । कैलालीमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबन्डा भएको छ ।

कैलालीमा गठबन्धनभित्र तानातान

कांग्रेसको भागमा निर्विवाद क्षेत्र नम्बर ५ परेको छ । त्यहाँ आरजुलाई संघमा दिएपछि माओवादीले प्रदेशको एक सिटमा दाबी गरेको छ । माओवादीले कैलाली–३, २ र ४ क्षेत्रमा दाबी गरेको छ । कैलाली–३ बाट यसअघि पनि माओवादीले नै जितेकोले गठबन्धनभित्र ठूलो विवाद पनि छैन । तर कांग्रेस जिल्ला पार्टी सभापति नारायणदत्त भट्टले स्थानीय तह निर्वाचनका आधारमा क्षेत्र नम्बर ३ मा पनि कांग्रेसको दाबी रहेको बताए । तर, कांग्रेस र एकीकृत समाजवादी दुवैले क्षेत्र नम्बर ३ माओवादीकै कोटामा राखेको छ ।

माओवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिबहादुर चौधरीले तीन वटा निर्वाचन क्षेत्रमा दाबी गरे पनि दुइटा कुनै पनि हालतमा नछोड्ने बताए । ‘क्षेत्र नम्वर ३ माओवादीले जितेको निर्वाचन क्षेत्रनै हो,’ उनले भने, ‘क्षेत्र नम्बर २ र ४ मा माओवादीको जित्ने आधारमा दाबी गरेका छौं ।’ कांग्रेसले नेता मिलाउने समस्याका कारण पनि क्षेत्र नम्बर २ लाई नछोड्ने भएको छ ।

कैलाली–२ मा कांग्रेसका पूर्वराज्यमन्त्री मोहनसिंह राठौर र कमल शाह दाबेदार छन् । एकीकृत समाजवादीले कैलाली–४ मा दाबी गरेको छ । उक्त क्षेत्रका प्रदेश सांसद तथा प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले प्रतिनिधिसभाको लागि दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलका नेतासमेत रहेका सोडारीले गठबन्धनभित्र एउटा सर्तमा संघको सिट छोड्न सक्ने संकेत गरेका छन् । गठबन्धनले आफूलाई प्रदेश मुख्यमन्त्री बनाउने लिखित सहमति गरेमा संघमा कांग्रेसलाई दिन सक्ने सोडारीले गठबन्धनभित्र कुरा राखेको स्रोतको दाबी छ ।

सुदूरपश्चिममा सहजै देखेकाले कैलाली–४ कुनै पनि हालतमा कांग्रेस छोड्न तयार छैन । क्षेत्र नम्बर ४ मा माओवादीले सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई ल्याउने गरी उक्त क्षेत्रमा दाबी गरेको स्रोतको भनाई छ । कांग्रेस कैलालीका सभापति भट्टले अहिलेको अवस्थामा कैलालीका पाँच वटै क्षेत्र कांग्रेसले पाउनुपर्ने दाबी गरे । ‘स्थानीय तहको मत परिणामलाई विश्लेषण गर्दा कांग्रेसबाहेक माओवादी र समाजवादीले जित्ने आधार छैन,’ उनले भने, ‘देशका अन्य जिल्लामा भागबन्डा मिलाएर कैलालीका ५ वटै क्षेत्र कांग्रेसलाई दिनुपर्छ ।’

माओवादीका प्रदेश अध्यक्ष चौधरीले कैलालीमा कांग्रेस र माओवादीले संघको निर्वाचन क्षेत्र लिएर एकीकृत समाजवादीलाई प्रदेशमा मिलाउनुपर्ने बताए । ‘समाजवादी गठबन्धनभित्र हिस्सेदार मात्रै हो,’ उनले भने, ‘त्यसकारण प्रदेशका केही सिट दिऔं ।’ उनले केन्द्रको सरकारमा सिट संख्या बढाउन गठबन्धनको पक्षमा बनाउन कांग्रेस र माओवादीले कैलालीमा क्षेत्र बाँड्नुपर्ने बताए । कैलाली–१ लाई भने गठवन्धन भित्रका तिनै दल सहमतिका लागि छाड्न सहजै तयार छन् । कांग्रेस सभापति भट्टले क्षेत्र नम्बर १ मा कांग्रेस कमजोर नभए पनि जित्ने आधार बलियो नभएकाले अर्को गठबन्धनको साथीले लैजान सक्ने बताए । माओवादी र एकीकृत समाजवादीले भने क्षेत्र नम्बर १ मा कुनै दाबी गरेका छैनन् ।

गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर १ मा पर्ने टीकापुर र जानकी गाउँपालिकामा जित निकालेको नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेशको चुनावमा पनि आफूले जित्ने दाबी गरेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीका कारण आफूले जित्न चुनौती देखेका छन् । माओवादी प्रदेश अध्यक्ष चौधरीले नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनमा मिलेर आए क्षेत्र नम्बर १ छोडिने बताए । ‘गठबन्धन दलसंँग सहकार्य गरेमा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा नागरिक उन्मुक्तिलाई दिन तयार छौं,’ उनले भने, ‘थप प्रदेशसभाका २/३ सिट पनि दिन सकिन्छ ।’ एमालेले पनि क्षेत्र नम्बर १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीसँग मिल्न सक्ने बताएको छ । एमालेले प्रतिनिधिसभाको सिटमा कैलाली–१ र ३ उन्मुक्ति पार्टीलाई दिएर सहकार्यको प्रस्ताव गरेको एमालेनिकट एक कार्यकर्ताले बताए ।

प्रकाशित : आश्विन ३, २०७९ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?