कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्चिममा फैलिँदै डेंगी संक्रमण

डोटी, कञ्चनपुर, बैतडी — सुदूरपश्चिममा तराईसहित पहाडी जिल्लामा समेत डेंगी संक्रमण बढिरहेको छ । डोटीमा १६ दिनमा २९ जनामा डेंगी सक्रमण पुष्टि भएको छ । यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका रहिस श्रेष्ठले बताए ।

सुदूरपश्चिममा फैलिँदै डेंगी संक्रमण

स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डिल्लीरमण जोशीले लामखुट्टेबाट बच्न समयमै सजग हुन अनुरोध गरेका छन् । डेंगीका संक्रमित मध्ये दिपायल सिलगढी नगरपालिकाका १३ जना, शिखर नगरपालिकाका ७ जना, पुर्विचौकी गाउँपालिकाका ६ जना, सायल गाउँपालिकाका २ जना र केआइसिंह गाउँपालिकाका एक जना भएको जिल्ला अस्पताल डोटीले जनाएको छ । सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेंगीको संक्रमण फैलिने गरेको छ । यो वर्ष डोटीमा यसको संक्रमण उकालो लाग्ने क्रममा छ । एडिस एजिप्टाइ र एडिस एल्वीकिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगी संक्रमण हुने जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए ।

भाइरसजन्य यो रोगको विशिष्ट उपचार पद्धति विकास नभए पनि लक्षणको आधारमा डाक्टरको निगरानीमा उपचार गरे निको हुने डाक्टर शाहको भनाइ छ । ज्वरो आउने, जोर्नी दुख्ने, टाउको दुख्ने, आखाका गेडी दुख्ने, सामान्यतया बान्ता हुने, शरीर दुख्ने यस रोगका मुख्य लक्षण हुन् । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न डाक्टर शाहले आग्रह गरे । डेंगी कडा खालको ज्वरो भएकाले सतर्कता अपनाउनु पर्ने चिकित्सकको भनाई छ । राति सुत्दा झुलको प्रयोग गर्ने, घर वरपर रहेका पानी जमेका खाल्डाखुल्डी पुर्ने, गमला, गाडीका टायर लगायतका ठाउामा पानी जम्न नदिने घर वरपर सफा राखेमा पनि केही हदसम्म डेंगीबाट बच्न सकिने डाक्टर शाह बताए ।

परीक्षण कीट अभाव

कञ्चनपुरमा डेंगु परीक्षण कीटको अभाव देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार साउनयता ४२ जनामा संक्रमण देखिएको छ । कीट नहुँदा शंकास्पद बिरामीको परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालयका औलो निरीक्षक सिद्धराज भट्टले बताए । उनका अनुसार भदौ सुरुमा आएको एक सय कीट जिल्लाका ९ वटै पालिकामा वितरण गरियो । त्यसपछि कीट अभावले केही दिन परीक्षण नै हुन सकेन । सोमबार प्रदेश प्रयोगशालाबाट थप ३० किट प्राप्त भएको थियो । ‘थोरै मात्रै कीट आएको छ, हामीसँग खरिद गर्न बजेट पनि छैन,’ भट्टले भने, ‘पालिकाहरूले पनि खरिद गर्न चासो दिएका छैनन् ।’ उनका अनुसार गएको वर्ष औलो, डेंगीलगायतको परीक्षणका लागि कीट खरिद गर्न मात्रै करिब चार लाख बजेट आउने गरेको थियो । यस वर्ष उक्त बजेट कटौती भएको छ । स्क्रब टाइफस परीक्षणका लागि पनि कीट अभाव रहेको उनले बताए ।

हालसम्म सबैभन्दा बढी दोधारा चाँदनी नगरपालिका १९, महाकाली प्रादेशिक अस्पतालमा १२, बेलडाडी गाउँपालिकामा ४, कृष्णपुर नगरपालिकामा ३, बेदकोटमा १ र लालझाडी गाउँपालिकामा १ जनामा डेंगी संक्रमण देखिएको छ । कृष्णपुरमा संक्रमण देखिएकाहरू काठमाडौंबाट र दोधारा चाँदनीमा संक्रमण देखिएकामध्ये ५ जना भारतका विभिन्न ठाउँबाट फर्केका हुन् । महेन्द्रनगरस्थित महाकाल् ीप्रादेशिक अस्पतालमा अहिले डेंगी संक्रमित ७ जनाको उपचार भइरहेको छ । अस्पतालमा पनि कीटको अभाव रहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टले बताए ।

स्क्रब टाइफसको पनि डर

पहाडी जिल्ला बैतडीमा डेंगीसँगै स्क्रब टाइफसका बिरामी पनि बढेका छन् । अहिले दैनिक १५ जनासम्ममा स्क्रब टाइफस देखिन थालेको जिल्ला अस्पतालले जनाएको छ । भाइरल ज्वरो र रुघाखोकीका बिरामी जिल्ला अस्पतालमा मात्र दैनिक ५० देखि ६० जनासम्म आउने गरेका छन् । दैनिक १ सयभन्दा बढी आउने गरेकामा आधाभन्दा बढी भाइरल ज्वरोका हुने सूचना अधिकारी हरिश पन्तले बताए ।

डिलाशैनीको गोकुलेश्वर स्वास्थ्यचौकीकी इन्चार्ज निर्मला जोशीका अनुसार ज्वरोका बिरामीको चाप स्वास्थ्य संस्थामा बढेको छ । ‘गाउँघरतिर भाइरल ज्वरोले सबैलाई सताएको छ,’ उनले भनिन्, ‘दैनिक आउने आधाजति त ज्वरो र रुघाखोकीकै बिरामी हुन्छन् ।’ यहाँको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मुकेशकान्त दयालले ८० प्रतिशत बिरामी भाइरल ज्वरोमा आउने गरेका बताए ।

जिल्लामा डेंगी दुई/तीन दिनमै बढेर १३ जनामा देखिइसकेको छ । जिल्ला अस्पतालमा अहिले ८० प्रतिशत ज्वरो र रुघाखोकीका छन् । जाँच गर्दा दिनमा ३ देखि ४ जनासम्मलाई डेंगी देखिन थालेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार १२ बिरामीको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । एक जनाको अवस्था जटिल भएकाले धनगढी रेफर गरिएको छ । डेंगीको संक्रमण बढेपछि जनचेतनाका कार्यक्रम सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

प्रकाशित : आश्विन ३, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?