कैलाली डुबान अपडेट

बस्तीमा पानीको सतह घट्दै

भजनीमा दोस्रो दिन पनि उद्धार
मोहन बुडाऐर

धनगढी — कैलालीको दक्षिणीपूर्वी क्षेत्रको डुबान प्रभावित बस्तीमा पछिल्लो समय पानीको सतह घट्दै गएको छ । घरमा चुल्हो बाल्नसक्ने अवस्था नभए पनि अधिकांश परिवार घर फर्कन थालेका छन् । भजनी नगरपालिका ८ का बासिन्दाहरू भने घर फर्कन सकेका छैनन् ।

बस्तीमा पानीको सतह घट्दै

डुबानका कारण घरभित्र पानी पसेकाले उनीहरु अझै घर फर्कनसक्ने स्थिति नरहेको बताइएको छ । कैलारी गाउँपालिकाका अध्यक्ष रामसमज चौधरीले शनिबार बेलुकादेखि वर्षा रोकिएपछि नदीमा बाढीको सतह घटेको बताए ।

‘नदीको बाढी घटेसँगै घरभित्रको पानी बगेको त छ तर घरभित्र हिलाम्य छ । चुलो बाल्न सक्ने स्थिति छैन । तर पनि भुसा मिसाएर हिलाम्य घरभित्र बस्ने गरी अधिकांश परिवार फर्कँदै छन्,’उनले भने ।

घर फर्कन नसक्ने परिवारका लागि घर नजिकै अग्लो सुरक्षित स्थानमा त्रिपाल मुनि बस्ने व्यवस्था मिलाइराखेको पनि अध्यक्ष चौधरीले बताए । उनका अनसार वडा नम्बर ७ का केही बस्तीका २०/३० परिवार मात्रै घर बाहिर त्रिपालमुनि बस्नु परेको छ । ‘उनीहरुलाई घर फर्कने अवस्था नभएसम्म गाउँपालिकाबाट त्रिपाल र खाद्यान्नको व्यवस्था गरेका छौं’उनले भने, ‘आइतबार आजदेखि नै पालिकाले सम्पूर्ण क्षतिको विवरण संकलन गर्न लागेका छौं । यकिन विवरण ३/४ दिनभित्र आइपुग्छ ।’

उनले पालिकाभित्र ३ सय परिवारको घर डुबानमा परेको बताए । डुबानमा परेका घरभित्रको अन्न लत्ताकडा सबै भिजेको स्थानीयहरूको भनाइ छ । जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले पनी आइतबार डुबानग्रस्त बस्तीमा पानीको सतह घटेकाले अधिकांश परिवार आफ्नै घरभित्र बस्न सुरु गरेको जानकारी दिए । ‘घर भिजेको र हिलाम्य भए पनि डोरीखाट (पलङ)को प्रयोग गरेर आफ्नै घरभित्र बस्न सुरु गरेका छन्,’ उनले भने, ‘भुसा र हिलो माटो मुछेर सुकाएर चुलो बाल्ने ठाउँ बनाएका छन् ।’

अध्यक्ष चौधरीका अनुसार तीन दिनको वर्षाले जोशीपुरका ३ हजार ३ सय ९ परिवार प्रभावित भएका छन् । अब २० परिवार मात्रै घरभित्र बस्नै नसक्ने अवस्थामा रहेको बताइएको छ । यस्तै हाल सम्पूर्ण क्षतिको विवरण लिने काम भइरहेको बताइएको छ । स्थानीयहरूको घरभित्र खाद्यान्न भिजेकाले उनीहरुलाई एक सातासम्म खाद्यान्नको व्यवस्था गर्ने पनि अध्यक्ष चौधरीले बताए ।

त्यस्तै जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले पानीको सतह घटिसकेकाले विस्थापित परिवार घर फर्कन थालेको बताए । उनका अनुसार ३ सयभन्दा बढी घर शनिबार डुबानमा परेका थिए । घर फर्कन नसक्ने परिवारलाई पालिकाले सम्बन्धित वडाको सुरक्षित स्थानमा खाने र बस्ने व्यवस्था मिलाएको छ । ‘आइतबार पनि घरमा चुल्हो बाल्न नसक्ने परिवारका लागि खानाको मेस चलाएका छौं,’उनले भने, घर फर्कन नसक्नेलाई सुत्ने प्रवन्ध मिलाइराखेका छौं ।’

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौराले पनि आइतबार अधिकांश परिवार घर फर्किसकेको बताए । ‘घर फर्केका परिवारको खाद्यान्न र लत्ताकपडा भिजेको छ । खाद्यान्न र एकसरो लुगा बदल्ने गरि कपडाको समेत व्यवस्था गरिरहेका छौं,’ उनले भने ।

भजनीमा दोस्रो दिन पनि उद्धार

भजनीको वडा नम्बर ८ का केही बस्तीबाट आइतबार पनि केही परिवारलाई उद्धार गरिएको छ । वडा नम्बर ८ को गोरुचरुवा, खैरा वडा नम्बर ६ को नवलपुर लगायतका केही बस्तीमा नदीको बाढीले भरिएको पानी घटेको छैन । पक्की घरको छतमा बसेर रात काटेका परिवारलाई आइतबार उद्धार गर्ने काम गरिएको नगरपालिकाका मेयर केवुल चौधरीले बताए ।

‘पानी रोकिएसँगै बाढी बढेको त छैन, सर्लक्क पानी नबग्दा घर र खेत पूरै जलमग्न नै छ,’ उनले भने,‘केही परिवार छिमेकीको पक्की घरमा बसेका थिए । उनीहरुलाई उद्धार गरियो । तर उनीहरु बाहिर निस्कन नसक्ने अवस्थामा रहेकाले ड्राइफुड वितरण गर्ने काम भएको छ ।’

यसैबीच प्रमुख जिल्ला अधिकारी किरण थापाले आइतबार डुबानग्रस्त क्षेत्रको अवलोकन गरेका छन् । उनले भजनी बाहेक अन्य स्थानमा बाढीको समस्या समान्य हुँदै गएको बताए ।

प्रकाशित : आश्विन २, २०७९ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?