१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रदेश रोज्दैनन् ‘सिनियर’

धनगढी‚ बैतडी — ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमका अनुभवी नेता कसैले पनि प्रदेश रोजेनन् । प्रदेश संरचना स्थापनाअघि मन्त्रीको अनुभव भएका वा पार्टीको केन्द्रीय पदमा पुगिसकेका सुदूरपश्चिमका कुनै पनि दलका नेताले प्रदेश सभाका लागि उम्मेदवारी दिएनन् ।

प्रदेश रोज्दैनन् ‘सिनियर’

केन्द्र सरकारमा मन्त्रीको अनुभव भएका एमालेका कर्णबहादुर थापाले प्रदेशसभामा समानुपातिकतर्फ उम्मेदवारी दिए पनि सांसद हुन पाएनन् । त्यसबेला पनि राष्ट्रिय राजनीति र आफ्नो दलभित्र प्रभाव राख्ने एमालेका भीम रावल, कांग्रेसका रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर, दिलेन्द्र बडू, रामजनम चौधरी, माओवादी केन्द्रका लेखराज भट्ट (अहिले एमाले) ले प्रदेशसभा रोजेर प्रदेश सरकारको नेतृत्व गर्न अग्रसर भए प्रदेशले गति लिन सक्ने धेरैको बुझाई थियो । तर, उनीहरू कसैले पनि प्रदेश रोजेनन् र प्रतिनिधिसभाका लागि उम्मेदवार बने ।

आसन्न निर्वाचनका लागि पनि पार्टीको केन्द्रीय तहमा पुगिसकेका र संघ सरकारमा मन्त्रीको अनुभव प्राप्त कसैको रोजाइमा प्रदेश परेको छैन । कांग्रेस नेता लेखक, साउद, प्रदेश सभापति बीरबहादुर बलायर, बडू वा चौधरी कसैको पनि चर्चा प्रदेशसभाका लागि छैन । उनीहरूले आफूलाई प्रतिनिधिसभाकै उम्मेदवार बन्न जिल्ला तहबाट सिफारिस गराइसकेका छन् ।

एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री प्रेम आलेको पनि प्रतिनिधिसभाकै लागि हानाथाप छ । आले र कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायरको निर्वाचन क्षेत्र एउटै भएकाले अरूभन्दा डोटीमा बढी समस्या छ । उनीहरूका निकटस्थका अनुसार दुवै जना कुनै पनि प्रतिनिधिसभाकै लागि उम्मेदवार बन्न चाहन्छन् । एमालेमा पार्टी कमिटिमा उपलल्लो तहमा पुगिसकेका र यसअघि मन्त्रालय सञ्चालनको समेत अनुभव प्राप्त नेताहरू कसैले पनि प्रदेशसभा रोजेका छैनन् । भीम रावल, लेखराज भट्ट, कर्ण थापा, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, गौरीशंकर चौधरी मन्त्री पदको अनुभव प्राप्त नेताहरू हुन् । उनीहरू सबै प्रतिनिधिसभाकै लागि सिफारिस भएका छन् । एमालेको सुदूरपश्चिम प्रदेशका सहइन्चार्जसमेत रहेका पूर्वमन्त्री कर्णबहादुर थापाले आफ्नो रोजाइ प्रतिनिधिसभामै रहेको बताए । ‘राष्ट्रिय राजनीतिमै रहने उद्देश्य भएकाले प्रदेशसभामा मेरो रुचि नै छैन,’ उनले भने ।

एमाले प्रदेश कमिटि अध्यक्षसमेत रहेका पूर्वअर्थ राज्यमन्त्री दामोदर भण्डारी बैतडीबाट प्रतिनिधिसभाका लागि एकल उम्मेदवार सिफारिस भएका छन् । उनी आफ्नै रोजाइले यसपटक पनि प्रतिनिधिसभाकै लागि सिफारिस भएका हुन् । भण्डारीले पार्टीले केन्द्रमै आवश्यकता महसुस गरेकाले संघीय सांसदमै आफ्नो नाम सिफारिस भएको बताए ।

‘व्यक्तिगत रुचिभन्दा पनि पार्टीले आवश्यकता महसुस गरेको हो,’ उनले भने, ‘पार्टीले मलाई तपाईं संघमा जानुस् भनेर पठाएको होला ।’ तर पनि पार्टी केन्द्रको निर्णय अन्तिम हुने उनको भनाइ छ । एमालेका केन्द्रीय सदस्यसमेत रहेका गणेशसिंह ठगुन्ना ओली सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । उनले पनि संघमा जानु पार्टीकै आवश्यकता भएको बताए । ‘रुचिभन्दा पनि आवश्यकताको आधारले हो,’ उनले भने ।

प्रकाशित : भाद्र २९, २०७९ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?