भूमिगत जीवनपछि केरा किसान

मोहन बुडाऐर

टीकापुर, कैलाली — नेपाल सरकारको प्राथमिक तहको शिक्षक पद छोडेर तत्कालीन माओवादी पार्टीमा संलग्न भई भूमिगत भएका कैलालीको टीकापुरका दीपेन्द्र चौधरी अहिले सफल किसान बनेका छन् । मोती निमावि टीकापुरमा पढाउँदै गरेका बखत ०५९ कात्तिकमा उनी तत्कालीन विद्रोही माओवादीमा प्रवेश गरेर भूमिगत भएका थिए ।

भूमिगत जीवनपछि केरा किसान

एक वर्षकी काखे नानीसहित श्रीमती र ५० वर्षकी आमालाईसँगै लिएर उनले कात्तिक १० गतेको मध्यरातमा घर छोडेका थिए । सुरुमा पार्टी उनी आफू पढाउने स्कुल जाँदा र फर्कंदा दुई पटक इलाका प्रहरी कार्यालयमा तारिख लगाउँथे । परिवारका बुवा, भाइ र बहिनी तत्कालीन माओवादी पार्टीमा भूमिगत भएकाले उनलाई माओवादी समर्थक भएर स्वतन्त्र जीवन बाँच्न सुरक्षाकर्मीले मुस्किल बनाएको उनको भनाइ छ । उनका अनुसार स्थानीय स्कुलमा पढाइरहेका चौधरीलाई तत्कालीन शाही नेपाली सेनाले माओवादी समर्थक भनेर दिनहुँ दुःख दिँदै आएको उनले बताए । उनका बुवा मंगल चौधरी ०५५ मा माओवादीमा प्रवेश गरी भूमिगत भएका थिए । माओवादीमा कैलालीका पहिला सहिद पनि उनकै बुवा हुन् । उनका बुवा २०५६ मा सरकारी सुरक्षाकर्मीबाट मारिएका थिए ।

माओवादीमा लागेका बुवा सुरक्षाकर्मर्बीाट मारिएपछि उनकी १० कक्षा पढ्दै गरेकी बहिनी रूपा र भाइ दीपक चौधरी पनि ०५७ मा माओवादीमा प्रवेश गरेका थिए । बहिनी भूमिगत भएको केही महिनामा पक्राउ परिन् । २ वर्षपछि तत्कालीन पुनरावेदन अदालतको आदेशबाट रिहा भइन् । रिहा भएपछि उनी पुनः माओवादीमा लागिन् । माओवादीमा रहँदै तत्कालीन जनमुक्ति सेनामा कमान्डर नेपबहादुर चौधरीसँग उनको विवाह भयो । उनले बेवारिसे अवस्थामा छोडेको घर १० वर्षपछि फर्कंदा जीर्ण भएकाले मर्मत गर्न अघि टीकापुरमा डेरा लिएर सपरिवार एक वर्ष बसेको बताए । ‘एक दशकपछि उनी घरमा फर्कंदा छोरी १२ वर्षकी थिइन् । आमा वृद्ध भत्ता खान सुरु गरेकी थिइन् । उनको उमेरले ४० कट्न थालेको थियो । घर फर्केपछि उनले राजनीतिलाई भन्दा केराखेतीमा मन दौडाउन पुगे । ‘त्यसबेला कालु हमालले टीकापुरमा निकै प्रगति गरेको थिए,’ उनले भने, ‘केराखेतीका बारेमा धेरैसंँग छलफल कुराकानी पनि गरे ।’

उनीसँगैका सहिद भएका बुवा र भाइको राहत रकम १० लाख बुझेका थिए । त्यही १० लाख लिएर उनले केराखेती वा अन्य केही व्यवसायको जग बसाउने सोच बनाए । ‘जेठान सिहराज, माओवादी पार्टीकै अर्का साथी रामबहादुर कुँवरसँगको छलफलपछि केरा खेतीमा लगानी गर्ने कुरा भयो,’ उनले भने, ‘तिनै जनाले १०/१० लाखको लगानी गर्ने सहमति पनि भयो ।’ त्यसबेला कुँवरले द्वन्द्व पीडित र जेठान सिहराजले अवकाश लिँदा पाएको रकम १०/१० लाख पनि पाएका थिए । तिनै जनासँग बीउ पुँजीका रूपमा पैसा पनि भएकाले सुरु गरी हाल्न कुनै समस्या पनि नभएको उनले बताए ।

दीपेन्द्रले तिनैको साझेदारीमा २०६९ मा स्थानीय राष्ट्रिय मावि दहबेरिया टीकापुरको १० बिघा जग्गा भाडामा लिएर केरा खेती गर्न सुरु गरे । पहिलो सालमैं भएको आम्दानीबाट उनले जर्जर भएको घरलाई मर्मत गरेर २०७० सालबाट आफनै घरमा सपरिवार फर्केको बताए । दीपेन्द्रका साझेदार कुँवरले आफैंले पनि अर्को ठाउँमा केरा खेती सुरु गरेका थिए । केराबारीमा उनले गरेको प्रगतीबाट उनी राष्ट्रपतिबाट असल र राम्रो किसानको रुपमा पुरस्कृत भएको देख्दा दीपेन्द्रले पनि केरा उत्पादनमा बढी ध्यान दिए ।

साझेदारी केरा फर्मबाट राम्रै भइरहेको बेला २०७३ मा उनी मोटरसाइकल दुर्घटनामा परेको बताए । ‘मोटरसाइकल दुर्घटनाबाट पुनर्जीवन त पाए,’ दीपेन्द्रले भने, ‘तर यता केरा फर्मका साझेदार अलग भए ।’ उनले त्यसपछि पनि हिम्मत नहारेको भन्दै केराखेतीमा जम्न मन लागेर १० बिघा जग्गा थप भाडामा लिएर बसेको बताए । ‘अहिले पनि १० बिघा जग्गामा केराखेती गरेर बसेको छु,’ उनले भने, ‘घरखर्च, केटाकेटीको शिक्षादिक्षा सबै केरा उत्पादनबाट भएको छ । राम्रै भएको छ ।’ उनले समयले मागेको आवश्यकता आफनो क्षमताले प्रदर्शन गरिरहेको बताए । शिक्षकदेखि भूमिगत, खुल्ला राजनीति हुँदै मेहनती किसान बन्ने रंगमञ्चमा नाचिरहेको मूल्यांकन बारम्बार समाज र मिडियाबाट भएकाले खुसी रहेको दीपेन्द्र बताउँछन् । उनी भूमिगत हुँदाको पीडाको कथा कान्तिपुरले छापेको थियो । अहिले पनि उनले त्यो पत्रिका घरमा सजाएका छन् ।

प्रकाशित : भाद्र २९, २०७९ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?