कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बैतडीमा बढे डेंगुका बिरामी

तृप्ति शाही

बैतडी — पहाडी जिल्ला बैतडीमा पनि डेंगुका बिरामीहरु बढ्दै गएका छन् । जिल्ला अस्पतालमा उपचारको लागि आउने बिरामीहरुमा जाँच गर्दा डेंगुका बिरामी देखिन थालेका छन् । केही दिनअघिसम्म जिल्लामा ६ जनामा मात्र देखिएको डेंगु दुई/तीन दिनमै बढेर अहिले जिल्लामा १३ जनामा देखिसकेको छ ।

बैतडीमा बढे डेंगुका बिरामी

लामखुट्टेका कारण सर्ने यो रोगको संक्रमण यसअघि विशेषगरी तराईका जिल्लाहरुमा बढि हुने गथ्र्यो । तर यो वर्ष पहाडी जिल्लाहरुमा पनि संक्रमण विस्तार भइरहेको छ ।

जिल्ला अस्पतालमा अहिले ८० प्रतिशत बिरामीहरु ज्वरो र रुघाखोकीमा आउने गरेका छन् । डेंगुसँग लक्षण मिल्ने बिरामीहरुलाई जाँच गर्दा दिनमा ३ देखि ४ जना सम्मलाई डेंगु देखिन थालेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । उनका अनुसार १२ जना बिरामीहरुको जिल्ला अस्पतालबाटै उपचार भइरहेको छ । एक जनाको अवस्था जटिल भएर थप उपचारका लागि धनगढी रेफर गरिएको थियो ।

जिल्लामा दिनप्रतिदिन डेंगुको संक्रमण बढेपछि जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न थालिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनका उनुसार शनिबारबाट यहाँका मुख्य बजारमा डेंगुका लार्भा नष्ट गर्ने अभियान थालिएको छ । योसँगै स्थानीयलाई जनचेतना पनि जगाउन थालिएको उनले बताए ।

बैतडीसँगै सुदूरपश्चिका अन्य सबै जिल्लामा डेंगुको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । स्वास्थ्य निर्देशनालय डोटीका फोकल पर्सन हेमराज जोशीका अनुसार सुदूरका ९ वटै जिल्लामा डेंगुका बिरामीहरु देखिएका छन् । एक जनाको मृत्यु समेत भएको छ । मृत्यु हुनेका कैलालीकी एक ३५ वर्षीया महिला रहेकी उनले बताए । उनको निसर्ग अस्पतालमा डेंगुको कारण मृत्यु भएको उनले बताए ।

आइतबारसम्म सबैभन्दा बढी दार्चुलामा ४६ जनामा डेंगु देखिएको उनले बताए । यस्तै कैलालीमा ३८ र कञ्चनपुरमा ३० जनामा डेंगु देखिएको छ । डोटीमा १५ र अछाममा १० जनामा देखिएको रेकर्ड आफूसँग आएको उनले बताए । बाजुरा र बझाङमा ७/७ जना डेंगुका बिरामी छन् भने डडेल्धुरामा ५ जना छन् ।

स्क्रबटाइफसका बिरामी पनि बढ्दै

यस्तै बैतडीमा आजभोलि स्क्रबटाइफसका बिरामीहरुको संख्या पनि बढेको छ । वर्षायाम सुरु भएसँगै देखिन थालेका बिरामीहरु आजभोलि झनै बढेका हुन् । केही दिनयता स्क्रबटाइफसका बिरामीहरु दैनिक १५ जनासम्म देखिन थालेका जिल्ला अस्पतालले जनाएको छ ।

जिल्लाभर भाइरल ज्वरोका बिरामी

जिल्ला अस्पतालसँगै जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुका आजभोलि भाइरल ज्वरो र रुघाखोकीका बिरामीहरुको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । घरघरै भाइरल ज्वरोका बिरामीहरु जिल्लामा छन् । भाइरल ज्वरो र रुघाखोकीका बिरामीहरु जिल्ला अस्पतालमा मात्र दैनीक ५० देखि ६० जनासम्म आउने गरेका अस्पतालले जनाएको छ । दैनिक १ सय बढी जना बिरामी आउने अस्पतालमा आधाभन्दा बढी बिरामी भाइरल ज्वरोका हुने गरेका सूचना अधिकारी पन्तले बताए । वर्षातको समयमा जिल्ला अस्पतालमा जहिल्यै भाइरल ज्वरो र रुघाखोकीका बिरामीहरु पनि देखिने गरेका उनले बताए ।

दैनिक आउने बिरामीहरुमा आधाजति ज्वरो र रुघाखोकीकै हुने गरेका डिलाशैनीको गोकुलेश्वर स्वास्थ्यचौकीकी इन्चार्ज निर्मला जोशीले बताइन् । आजभोलि ज्वरोका बिरामीहरु स्वास्थ्य संस्थामा धेरै आउने गरेका उनले बताइन् । गाउँघरतिर भाइरल ज्वरोले सबैलाई सताएको उनको भनाइ छ ।

स्वास्थ्य संस्थामा ८० प्रतिशत बिरामीहरु भाइरल ज्वरोमा मात्र आउने गरेका मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मुकेशकान्त दयालले बताए । उनले भने, ‘आजभोलि हाम्रोका १२० देखि १८० जनासम्म बिरामीहरु दैनिकजसो आउने गर्छन् । यसमा अधिकांश भाइरल ज्वरोकै छन् । वर्षायाम सुरु भएसँगै पहाडी जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढ्न सुरु हुन्छ । यो वर्ष पनि आजभोलि बढेका छन् ।’

प्रकाशित : भाद्र २८, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?