२७ वर्षदेखि भएन धनगढी-डडेलधुरा राजमार्गको स्तरोन्नति

पहाडी जिल्ला जोड्ने अर्को वैकल्पिक सडक पनि बनेन, बनेको एक मात्र राजमार्ग पनि नाम मात्रको छ 
डीआर पन्त

धनगढी — कैलालीको गोदावरीबाट माथि उक्लनेबित्तिकै सुदूरपश्चिमका पहाड र तराई जोड्ने भीमदत्त राजमार्गको पहाडी खण्ड सुरु हुन्छ । २०१८ सालतिर सडक निर्माणको चर्चा सुरु भयो । बिसको दशकमा सडक रेखांकन र ट्र्याक खोल्ने काम सुरु भई २०२९ सालमा पहिलो पटक डडेलधुरामा गाडी पुगेको हो ।

२७ वर्षदेखि भएन धनगढी-डडेलधुरा राजमार्गको स्तरोन्नति

सुदूरपश्चिमको लाइफलाइनका रूपमा रहेको यो सडकको ट्र्याक खुलेपछि २०४६ सालमा सुरु भएको कालोपत्रे गर्ने काम २०५२ मा सम्पन्न भयो । तर २७ वर्षदेखि सडक स्तरोन्नतिको काम भने हुन सकेको छैन ।

स्तरोन्नति हुन नसकेको यो पहाडी राजमार्ग अवस्थाले गर्दा यात्रुहरूले गन्तव्यमा सहज तरिकाले पुग्न सकियोस् भन्दै ईश्वरसँग प्रार्थना गर्छन् । यो राजमार्गमा हालसम्म दर्जनौं पटक ठूलाठूला सवारी दुर्घटना हुने गरेकाले दुर्घटनाको समाचार सुनेका र जानकारी पाएका यात्रुहरूको मनमा डडेलधुरा नपुग्दासम्म संशय नै हुन्छ । अझ घुम्तीपिच्छे देखिने मृत्युस्तम्भले उनीहरू सकभर यो राजमार्गमा सुरक्षित तवरले गन्तव्यमा पुग्ने चिन्तामा हुन्छन् ।

‘पहिलो पटक यो राजमार्गमा यात्रा गरेर डडेलधुरा पुगेको हुँ,’ प्यूठान रातामाटाका गोपाल शर्मा भन्छन्, ‘हालसम्म सयौंको ज्यान जाने गरी एउटै सडकमा यति धेरै दुर्घटना कसरी हुन्छ होला भन्ने लाग्थ्यो, सडकको दुर्दशा देखेर सहज अनुमान भयो ।’

राजमार्गमा दुर्घटनापछि बनाइएका मृत्युस्तम्भ गन्दै डडेलधुरा आइपुगेका दाङ उरहरीका शोभाकर थापा पनि सुदूरका सात पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्गको दुर्दशा देखेर अचम्मित भएको बताउँछन् । ‘पत्याउन पनि गाह्रो भयो,’ उनले भने, ‘प्रदेशका ९ जिल्लामध्ये सात पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्गको दुर्दशा देखेर दुःख लाग्छ ।’ कैलालीको गोदावरीदेखि डडेलधुरा पुग्दासम्म उनले ८२ वटा मृत्युस्तम्भ गन्न भ्याएको पनि बताए । थापाले भने, ‘यात्रा गर्ने जोसुकै पनि झस्किनु स्वाभाविक हो ।’ कुनै यस्तो घुम्ती भेटिँदैन जहांँ दुर्घटनामा मरेकाहरूको सम्झनामा बनाइएका मृत्युस्तम्भहरू नबनेका हुन् ।’

सडक कालोपत्रे भएको ३० वर्षसम्म सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने एक मात्र भीमदत्त राजमार्गको अहिलेसम्म स्तरोन्नति र सुधार हुन सकेको छैन । ‘२०२९ सालमा पहिलो पटक डडेलधुरा गाडी पुगेको हो,’ तत्कालीन सडक विभागका कर्मचारी रामचन्द्र अवस्थीले भने ‘२०४६ सालमा कालोपत्रे बन्न सुरु भएको हो, ०५२ मा कालोपत्रे भइसकेपछि अहिलेसम्म पनि सडकको स्तरोन्नति हुन सकेको छैन ।’ यसबीचमा यो राजमार्गमा दुर्घटनामा परी सयौंले ज्यान गुमाइसकेका छन् । राजमार्ग सुधारका नाममा हरेक वर्ष टालाटुली हाल्नेबाहेक योजनाबद्ध रूपमा सडकको स्तरोन्नति गर्ने काम कहिले पनि हुन सकेको छैन ।

एक वर्षअघि मोड सुधार गर्ने भन्दै गैरा भात्काँडा खण्डमा डोजरको प्रयोग गरे पहाड काटिएपछि झन् बढी सास्ती भोग्नुपरेको छ । २१ वर्षदेखि धनगढी डडेलधुरा सडकमा गाडी चलाउँदै आएका डडेलधुराका चालक हरिसिंह बोहरा भन्छन्, ‘पहाडी जिल्ला जोड्ने अर्को वैकल्पिक सडक पनि बनेन, बनेको एक मात्र राजमार्ग नाम मात्रको राजमार्ग भएको छ ।’

उनका अनुसार कालोपत्रे हुँदा बनेका अधिकांश संरचना भत्किसकेका छन् । ‘हरेक वर्ष पिच भत्केको ठाउँमा टाला हाल्दाहाल्दै सडकको अवस्था ग्राभेल सडकभन्दा पनि दयनीय भएको छ ।’ दुर्घटना हुने मुख्य कारण पनि सडकको लेभल नमिल्नु भएको बोहरा भन्छन् । ‘गाडी चलाउँदा उकालो–ओरालो बाटोमा हिँडेजस्तो हुन थालेको छ । चालकले कुन ठाउँमा सडकको लेभल कस्तो छ भन्ने थाहा नपाउँदा बढीजसो दुर्घटना हुनेका गरेका छन्,’ उनले भने ।

‘प्राविधिक दृष्टिकोणले हरेक ६ वर्षमा योजना बनाएर सडकको मर्मतसम्भार हुनुपर्छ,’ सडक विभागका पूर्वइन्जिनियर महेन्द्र पन्तले भने, ‘कुन प्रविधिबाट बनेको सडक हो, त्यसै प्रविधिअनुरूपको मर्मतसम्भारको व्यवस्था नहुँदा समस्या देखिएको हो ।’ अत्तरिया धनगढीजस्तो सडकमा हरेक १० वर्षमा मर्मतसम्भार गर्दा पुग्छ तर भीमदत्त राजमार्ग त्यो पनि पुरानो प्रविधिले बनेको सडकमा योजनाबद्ध स्तरोन्नति हुन नसक्दा समस्या देखिएको पन्तले बताए । ६ वर्षको अन्तरालमा यो राजमार्गको स्तरवृद्धि गर्ने र मर्मतसम्भार गर्नुपर्ने भए पनि अहिलेसम्म त्यसअनुरूप काम नभएको सडक विभागका अधिकारीहरू नै बताउँछन् ।

पछिल्लो समय राजमार्ग पुनर्स्थापना तथा सुधार कार्यक्रमअन्तर्गत कैलालीको गोदवारीदेखि फल्टुडेसम्म उक्त सडकको काम हेरिरहेका इन्जिनियर पीयूष चटौत पनि राजमार्गको स्तरोन्नति लेन बढाउनेजस्ता योजनाबद्ध कार्यक्रम नभएको बताउँछन् । इन्जिनियर चटौतले भने, ‘सामान्य मर्मत गर्ने, पहिरो सफा गर्ने र भत्केका ठाउँमा सामान्य मर्मतसम्भार गर्नेबाहेक अन्य कुनै पनि कार्यक्रम छैनन् ।’ ट्राफिक चापअनुसार सडक चौडा गर्ने, लेन बढाउनेजस्ता काम नीतिगत निर्णय लिने विभागीय अधिकार क्षेत्रभित्र पर्ने भएकाले त्यस विषयमा आफूहरूलाई जानकारी नहुने पनि चटौतले बताए । उनले भने, ‘यो नेतृत्व तहको कुरा हो हामीलाई जानकारी हुँदैन, बजेटअनुसार आएको कार्यक्रम गर्ने दायित्व मात्र हो ।’

राजमार्गलाई तीन भागमा बाँडेर कैलाली, डोटी र बैतडीमा रहेका सडक डिभिजनले छुट्टाछुट्टै काम गरिरहेका कारण पनि राजमार्ग सुधारका ठोस कार्यक्रम बन्न सकेका छैनन् । सरकारले सेती लोकमार्ग, महाकाली करिडोर, खुटिया–दिपायल द्रुतमार्ग, चिसापानी–जंगलघाट–मंगलसेन सडकजस्ता पहाडी जिल्ला जोड्ने वैकल्पिक सडक निर्माण थालेको दशकौंसम्म पनि केही प्रगति हुन नसक्दा एक मात्र भीमदत्त राजमार्गले सुदूर पहाडलाई तराईसँग जोडेको छ ।

प्रकाशित : भाद्र २६, २०७९ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?