कोसेलीमा अल्लोको सामान

ब्यास, दुहु, नौगाड र अपीहिमाल गाउँपालिकामा अल्लोको उत्पादन बढी 
मनोज बडू

दार्चुला — दार्चुला पुग्ने जोसुकै पाहुनालाई यहाँको स्थानीय उत्पादन अल्लोबाट बनेका वस्तु कोसेलीको रूपमा दिने चलन बढेको छ । अल्लोबाट बनेका ढाकाटोपी, कोटपिस, सल, झोला यहाँका बासिन्दाले बाहिरका आफन्तलाई मायाको चिनो र कोशेलीका रुपमा दिने गरेका छन् । 

कोसेलीमा अल्लोको सामान

जिल्लामा निरीक्षण भ्रमणका लागि आउने कर्मचारीलाई यहाँका सरकारी कार्यालयहरूले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न अल्लोबाट बनेका वस्तु उपहार दिने गरेको स्थानीय कर्मचारी मदनराज जोशीले बताए । जिल्लामा आउने जुनसुकै पाहुना तथा अतिथिलाई यहाँका सबैजसो निकायले अल्लोको वस्तु उपहार दिएर स्वागत गर्छन् । स्थानीय उत्पादनको प्रचारका लागि अल्लोका सामान मायाको चिनो स्वरूप दिने गरिएको जोशीको भनाई छ ।

ब्यास गाउँपालिका ५ स्याकुका कमलसिह धामीले काठमाडौंमा बस्ने आफ्नो साथीका लागि स्थानीयस्तरमै उत्पादन हुने अल्लोको कपडा किनेर लगेका छन् । ‘साथीलाई मन पर्ने कोट सिलाउनका लागि अल्लोबाट बनेको कपडा किनेर लग्दै छु’ एक गैरसरकारी कार्यालयमा कार्यरत अम्बादत्त जोशीले भने । उनले दार्चुला पुगेका बेला साथीका लागि अल्लोका कोट पिस र आमालाई अल्लोबाट बनेको सल किनेको बताए । उनले भने, ‘स्थानीय उत्पादन प्रयोग गर्न र स्वास्थ्यका लागि लाभदायक चिज किनियो । सबैले अवश्य मन पराउने आस छ ।’

बाहिरी जिल्लाबाट आएकाहरूले अल्लोका उत्पादन किनेर लैजाने गरेका छन् । जंगलमा पाइने अल्लोबाट कपडा बुनेको जानकारी पाएपछि धेरै पाहुनाले नौलो मानेर चासो राख्ने गर्छन् । जिल्ला बाहिरबाट कार्यक्रमका लागि आउने जो कोही सामान किन्नका लागि आउने गरेको अपीनाम्पा अल्लो उद्योगका संचालक कृष्णानन्द जोशीको भनाइ छ ।

दार्चुला उद्योग वाणिज्य संघका महासचिव सर्पराज बडूले जिल्लामै उत्पादन भएको बस्तुले बजार पाउनुका साथै व्यवसायहरू पनि उत्पादनमा लगानी गर्न सघाउ पुग्ने बताए । यसले अल्लो धागो तयार गर्नेदेखि कपडा बुन्ने सबैको आम्दानी बढेको उनले बताए ।

कपडा बुन्ने कामले धेरै महिलाले रोजगार पाएका छन् । जिल्लाका सबै सरोकारवाला निकायले सहयोग गर्न थालेपछि अल्लो कपडा उद्योगीहरू उत्साहित भएका छन् । ‘अल्लो धागो संकलन, प्रशोधनको काम गर्न थालेको झन्डै २० वर्ष हुन थाल्यो,’ अपीनाम्पा अल्लो उद्योगका सञ्चालक जोशीले भने, ‘राम्रो कमाइ भइरहेको छ  ।’ काठमाडौंदेखि प्रदेश राजधानीमा धनगढीमा हुने प्रदर्शनीमा उत्कृष्ट कृषकको सम्मान पाइसकेको जोशीले बताए । उद्योग सञ्चालकमा साविकको घरेलु तथा साना उद्योग कार्यालय, अपीनाम्पा संरक्षण क्षेत्रले विभिन्न समयमा तालिम लगायत प्राविधिक सहयोग प्रदान गर्दै आएको उनको भनाइ छ ।

जिल्लामा केही बर्ष यता अल्लोको कपडाबाट तयार हुने कोट, टोपी, पर्स, सल, झोलालगायतका सामग्रीको खपत बढेको छ । ‘ऊनीका कपडाको माग घटेपछि अल्लोको उत्पादनमा अग्रसर भएका हौ’ नौगाड गाउँपालिका २ का गौरसिह धामीले बताए । ‘पुरै परिवार अल्लोका सामग्री उत्पादनमा व्यस्त छौं,’ उनले भने, ‘कच्चा पदार्थ खरिद गरी सामग्री उत्पादनमा जोड दिदै आएका छौ ।’ उच्च पहाडी क्षेत्रमा पाइने अल्लो लोकप्रिय बन्दै गएपछि व्यावसायिक उत्पादनतर्फ आकर्षण बढेको छ । यहा पहिले रसी र नाम्लो बनाउन अल्लो प्रयोग गर्दै आएका थिए ।

जिल्लाका ब्यास, दुहु, नौगाड र अपीहिमाल गाउँपालिकामा अल्लोको उत्पादन बढी हुन्छ । सबै ठाउँमा व्यावसायिक रूपमा उत्पादन कमै भएको पाईन्छ । तर केहि ठाउमा अल्लोको व्यावसायिक उत्पादनबाट राम्रो आम्दानी भएको स्थानीय बताउछन् । बलियो, टिकाउ, जाडोमा न्यानो र गर्मीमा शीतल हुने भएका कारण पनि यसको खरिद बिक्री हुने अपीनाम्पाका सञ्चालक जोशीले बताए । जोशीका अनुसार उद्योगमा ११ जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा २५ जनाले रोजगारी पाएका छन् ।

प्रकाशित : भाद्र २६, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?