अछामको बिनायकमा युवक मृत भेटिए, हत्या आरोपमा आफन्तद्वारा सडक बन्द

मेनुका ढुंगाना

अछाम — अछामको पञ्चदेवल बिनायक नगरपालिका –२ मा पर्ने मध्यपहाडी सडक खण्डमा एक जना युवक मंगलबार राति ११ बजे मृत फेला परेका छन् ।

बिनायक बजारबाट नजिकै रहेको मध्यपहाडी सडक खण्डको छेउमा पञ्चदेवल बिनायक नगरपालिका २ का २५ वर्षीया बम धामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी नारायण डाँगीले बताए ।

उनका अनुसार घटनास्थलमा रहेको शवको प्रकृति हेर्दा मृत्यु शंकास्पद देखिएको छ । मृतकका आफन्तले हत्या भएको भन्दै विरोधस्वरुप सडक बन्द गरेका छन् भने घटनास्थलको मुचुल्का समेत उठाउन दिएका छैनन् ।

‘स्थानीयले घटना स्थलको मुचुल्का उठाउन दिएका छैनन् । शव प्रहरीको निगरानीमा छ ’ प्रहरी प्रमुख डाँगीले भने ,‘ प्रारम्भिक अनुसन्धानले घटना शंकास्पद देखाउँछ । हिजो (मंगलबार) दिउँसो उनीसँगै बसेर मदिरा सेवन गरेका ४ जनालाई नियन्त्रणमा लिएका छौं । शव उठाउन नदिँदासम्म अनुसन्धान गर्न पनि गाह्रो हुन्छ ।’

यसअघि पञ्चदेवल बिनायक नगरपालिका ३ मा रहेको मध्यपहाडी लोकमार्गभन्दा करिब ३ सय मिटर तल १५ वर्षीय विनोद शाहीकोसमेत शव भेटिएको थियो । उनको हत्या भएको भन्दै अहिले पनि आन्दोलन भइरहेको छ । त्यसअघि पञ्चदेवल बिनायक नगरपालिका २ का तत्कालीन वडा अध्यक्ष पदम धामीको पनि सोही ठाउँमा हत्या भएको थियो ।

प्रकाशित : भाद्र १५, २०७९ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?