कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

क्यान्सरपीडितलाई उपचार खर्च अभाव

वसन्तप्रताप सिंह

बझाङ — उपचार खर्च अभावमा एक क्यान्सरपीडित बिरामी राजधानीस्थित अस्पताल शय्यामा छटपटाइरहेका छन् ।

क्यान्सरपीडितलाई उपचार खर्च अभाव

बोनम्यारोको क्यान्सर भएका बझाङको जयपृथ्वी नगरपालिका–१ कैलाशका चक्रबहादुर शाहीलाई रकम अभाव हुँदा उपचार हुन सकेको छैन । उनी काठमाडौंको सिभिल अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना भए पनि अस्पतालले तोकेको खर्च जम्मा गर्न नसक्दा उपचार सुरु हुन नसकेको उनले सुनाए । ‘किमो चढाउनका लागि १ लाख ७० हजार सुरुमै जम्मा गर्नुपर्ने रहेछ । किमोले गर्दा हुने इन्फेक्सनको उपचार गर्नका लागि पनि पहिले नै चार लाखजति अस्पतालमा बुझाएपछि मात्रै उपचार हुन्छ भनिरहेका छन्,’ उनले भने, ‘मसँग अहिलेसम्म भएको खर्च तिर्ने पैसा पनि छैन । कसरी उपचार गराउने हो ।’ उनले सुरुमा चार/पाँचपटक किमो लगाइसकेपछि मात्रै बोनम्यारो प्रत्यारोपण हुने र बोनम्यारो प्रत्यारोपण गर्दा २० देखि ३० लाख थप खर्च लाग्ने अस्पतालले जानकारी दिएको बताए ।

सुरुमा घाँटी पाक्ने, हातगोडा पोल्ने, कमजोरी महसुस हुने समस्या देखिएका ३० वर्षीय शाहीले यसअघि बझाङ, धनगढी र काठमाडौंका विभिन्न अस्पतालमा उपचार गर्दा तीन लाख रुपैयाँ ऋण लागिसकेको बताए । कुनै मनकारी दाताले सहयोग गरेर जीवन रक्षा गरिदिने आशामा बसिरहेको उनले बताए । ‘अब ऋण पाउने ठाउँ पनि कतै छैन । कसैले सहयोग गरेर उपचार गरिदिए बाँचिएला नत्र यसै मरिने भयो,’ उनले भने ।

शाहीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि बझाङ जिल्ला अस्पताल लगिएको थियो । बझाङ जिल्ला अस्पतालले धनगढीको निःसर्ग अस्पतालमा रेफर गरेको थियो । धनगढीको निसर्ग अस्पतालले क्यान्सरको आशंका गरेर काठमाडौंमा रेफर गरेको थियो । काठमाडौंको सिभिल अस्पतालमा परीक्षण गर्दा उनलाई बोनम्यारोको क्यान्सर देखिएको हो ।

प्रकाशित : भाद्र २, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?