वातावरणीय परीक्षणबिनै संरचना निर्माण

इको पार्क निर्माणका लागि गत वर्ष ६० लाख र यो वर्ष ३० लाख छुट्याएको छ 
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको लालझाडी मोहना संरक्षित वन क्षेत्रअन्तर्गतको गडविजुला सामुदायिक वनमा ठूलो संरचना निर्माणाधीन अवस्थामा छन् । प्रारम्भिक वातावरणीय परीक्षण (आईई) बिना नै निर्माण भइरहेको उक्त संरचनाको काम ६ महिनादेखि अलपत्र छ ।

वातावरणीय परीक्षणबिनै संरचना निर्माण

कृष्णपुर नगरपालिका र पर्यटन मन्त्रालयको लगानीमा निर्माण हुन लागेको इको पार्कको काम डिभिजन वन कार्यालले गत माघदेखि रोकेको छ । जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरेरै र आईई समेत स्वीकृत नभएको अवस्थामा काम भएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले काम रोकेको हो । पूर्व पश्चिम राजमार्ग छेउमै मछेली खोला किनारमा करिब अढाई हेक्टर वन क्षेत्रमा इको पार्कका नाममा संरचना निर्माण हुन लागेको छ ।

‘वन क्षेत्रमा त्यत्रो संरचना निर्माण भइरहेको छ, तर जग्गा प्राप्ति भएको छैन,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भु तिवारीले भने, ‘आईई रिपोर्ट पनि स्वीकृत भएको छैन ।’ उनका अनुसार पर्यटन मन्त्रालयले जग्गा प्राप्तिपछि मात्रै संरचना निर्माणको काम गर्न भनेको छ । नगरपालिकाले जग्गा प्राप्ति त के आईईसमेत स्वीकृत नगरेको उनले बताए ।

गडबिजुला सामुदायिक वन उपभोक्ता समितिले इको पार्क निर्माणको निर्णयपश्चात् कृष्णपुर नगरपालिकाले उक्त कार्य अगाडि बढेको हो । तर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसम्मले आईई गर्नुपर्नेतर्फ भने ध्यान नै दिएनन् । ‘त्यतिबेला हतारमा काम गर्नुपर्ने भएकाले आईई स्वीकृत हुन नसकेको हो,’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवसिंह भण्डारीले भने, ‘अहिले आईई स्वीकृतिको प्रक्रियामा छ, यस वर्ष पनि नगरपालिकाले बजेट छुट्याएको छ ।’

पर्यटन मन्त्रालयको २ करोड ४० लाख र कृष्णपुर नगरपालिकाको १ करोड २८ लाखमा उक्त इको पार्क निर्माणको प्रक्रिया अघि बढेको हो । चालु आर्थिक वर्षमो फागुन भित्रै निर्माण सक्ने गरि ठेक्का सम्झौता पनि भएको हो । तर प्रक्रियाबिना नै थालिएको काम ६ महिनादेखि अलपत्र परेको छ । घना वन क्षेत्रका बीचमा निर्माण भइरहेको संरचनाले भविष्यमा वन क्षेत्र प्रभावित हुन सक्ने जोखिमसमेत रहेको संरक्षणकर्मीहरू बताउछन् ।

इको पार्क निर्माण स्थलकै छेउमा एउटा ताल पनि छ । सोही ताललाई लक्षित गरि पर्यटकीय गतिविधि बढाउने सकिने लक्ष्यका साथ पार्क निर्माणको निर्णय भएको सामुदायिक वनका अध्यक्ष अक्कल बोहराले बताए । उनले सुरुमा नगरपालिकाले आईईदेखि सबै प्रक्रिया पूरा गरेर ढाँटने काम गरेको बताए ।

डिभिजन वन प्रमुख तिवारीले ताल संरक्षणका लागि केही सामान्य गतिविधि मात्रै भए जग्गा प्राप्ति नगर्नुपर्ने भए पनि ठूलो संरचना निर्माणको काम जग्गा प्राप्तिबिना नै नहुने बताए । इको पार्कको शिलान्यासका दिन तिवारी आफैं पनि उक्त क्षेत्रमा पुगेका थिए । त्यसपछि पनि निर्माण स्थलमा पुगेर कामका बारेमा सोधपुछ गरेको अध्यक्ष बोहराले बताए । निर्माण सुरु भएको एक/डेढ महिनामै प्रक्रिया नपुगेको र माथिबाटै दबाब आएको भन्दै रोक्न लगाएको उनले बताए ।

कृष्णपुर नगरपालिकाले इको पार्क निर्माणका लागि गत वर्ष ६० लाख रकम छुट्याएको थियो । यस वर्ष पनि गौरवको आयोजनामा राखेर ३० लाख छुट्याएको नगर प्रमुख हेमराज ओझाले बताए । उनले निर्माणका लागि प्रक्रिया पुर्‍याउने काम पनि भइरहेको छ । ‘सबै प्रक्रिया पुर्‍याएर छिट्टै काम सुचारु हुन्छ,’ उनले भने, ‘विगतमा कसले के गरे कहाँ कमजोरी भयो आफ्नो ठाउँमा छ ।’

संरक्षित क्षेत्रको वनभित्र संरचना निर्माणको प्रक्रियाका विषयमा जनप्रतिनिधि चुके पनि नगरपालिकाका प्राविधिक र प्रमुख प्रशासकीय अधिकृतले ध्यान दिनुपर्ने वनकर्मीहरू बताउँछन् । उनीहरूकै लापरबाहीका कारण कारण वन क्षेत्रमा बिना प्रक्रिया संरचना निर्माण भएको र अहिले अलपत्र परेको अध्यक्ष बोहरा बताउँछन् ।

प्रकाशित : भाद्र १, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?