कैलालीमा थपिँदै ठूला होटल

साना–ठूला गरी तीन हजार होटल, करिब ५ अर्ब रूपैयाँभन्दा बढी लगानी 
अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशको व्यापारिक ‘हब’ मानिएको धनगढीमा पछिल्लो समय होटल व्यवसायमा लगानी बढेको छ । कैलालीको अत्तरिया नजिक हरैयामा आइडिया ग्रुपले निर्माण गर्न लागेको पाँच तारे होटलको शनिवार कांग्रेस नेता डा. शशांक कोइरालाले शिलान्यास गरे ।

कैलालीमा थपिँदै ठूला होटल

दुई बिघा क्षेत्रफलमा बन्ने उक्त होटल सुदूरपश्चिममा अहिलेसम्मकै ठूलो हुने आइडिया ग्रुपको भनाइ छ । करिब दुई अर्ब बढीको लगानी रहने उक्त होटलमा एक सय ५० वटा कोठा हुने र १५ औं तलामा हेलिप्याड निर्माण गरिने सञ्चालकको दाबी छ ।

प्रदेशको पर्यटन विकासमा सहयोग पुर्‍याउने उद्देश्यले होटल व्यवसायमा बर्सेनि लगानी थपिँदै गएको होटल व्यवसायीहरूको भनाइ छ । होटल व्यवसायी संघ कैलालीका अनुसार हालसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चालित होटलमा करिब ५ अर्बभन्दा बढी लगानी भइसकेको छ ।

धनगढीमै पनि केही वर्षअघिसम्म होटल व्यवसाय परम्परागत र गुजारामूलक व्यवसायमै सीमित थियो । पछिल्ला दुई वर्ष यो व्यवसाय थला पर्‍यो । अहिले फेरि तंग्रिएको छ । अहिले सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लामा आधुनिक र सुविधायुक्त होटल निर्माण हुने क्रम बढ्दो छ ।

सुदूरपश्चिममा पर्यटकीय सम्भावनालाई मध्यनजर गरेर ठूला लगानीका होटल निर्माण तथा सञ्चालनमा आकर्षण बढेको होटल ब्यवसायी संघ कैलालीका अध्यक्ष कलमबहादुर बम बताउँछन् । धनगढीमा तीन तारेसम्मका होटल सञ्चालनमा छन् । धनगढीमा फ्लोरा, द होटल डिभोटी, रुबस, साथी, जलशा ठूलो लगानीका होटल हुन् । मध्यम स्तरका होटलहरू अनेक छन् ।

राजमार्ग क्षेत्रमा अत्तरिया, टीकापुर, लम्की, सुखड, बौनिया बजारमा पनि करोड लगानीका होटल चलिरहेका अध्यक्ष बम बताउँछन् । होटल र पर्यटन व्यवसाय एक अर्काको परिपूरक रहेकाले होटल व्यवसायमा लगानी गर्नेक्रम तीव्र रहेको संघका अध्यक्ष बमले बताए । ‘सुदूरपश्चिममा आर्थिक समृद्धिको मूल आधार पर्यटन व्यवसाय हो,’ उनले भने ‘पर्यटन व्यवसाय फस्टाउन सुविधायुक्त होटल हुनै पर्छ ।’

होटल ब्यवसायी संघका अनुसार कैलालीमा मात्र साना–ठूला गरी तीन हजारको हाराहारीमा होटल सञ्चालनमा छन् । यकित तथ्यांक नभएपनि होटल व्यवसायले करिब ८ हजार व्यक्तिलाई रोजगारी दिएको अनुमान छ । राज्यले लगानीको वातावरण बनाएमा निजी लगानीकर्ताहरू खप्तड क्षेत्रमा समेत होटल व्यवसाय गर्न इच्छुक रहेको डोटीका स्थानीय पर्यटन व्यवसायी दीपक खड्का बताउँछन् । उनले डोटीको मार्गबाट खप्तड जाने आधार क्षेत्र मानिने झिग्रानामा होमस्टे सुरु गरेका छन् ।

सुदूरपश्चिममा खप्तड, बडिमालिका जस्ता प्राकृतिक मनोरमस्थलहरू, विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल, टीकापुर पार्क, चिसापानी पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा–चाादनी झोलुंगे पुल, रामारोशन, सैपाल अपीनाम्पा संरक्षण क्षेत्रलगायत मनै लोभ्याउने थुप्रै पर्यटकीय स्थल छन् । सुदूरपश्चिममा पर्यटन विकासका लागि अथाह सम्भावना भएपनि सोचे अनुरूप अझै पर्यटक भित्र्याउन नसकिएको नाटा सुदूरपश्चिमका अध्यक्ष पदमबहादुर सिंह बताउँछन् । उनले यहाँका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारलाई प्राथमिकता दिएर काठमाडौंका व्यवसायीको सहकार्यमा टुर प्याकेज निर्माण गर्न आवश्यक रहेको औल्याए ।

सुदूरपश्चिममा भारत बाहेक तेस्रो मुलुकका पर्यटकहरू आकर्षित गराउन सकिने प्रचुर सम्भावना रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए । ‘तर अहिले भारतीय पर्यटकलाई नै फोकस गरे पनि सुदूरपश्चिमले थुप्रै आम्दानी गर्न सक्छ,’ उनले भने । कैलालीसँगै जोडिएको छिमेकी भारतको उत्तर प्रदेशमै विशाल जनसंख्या छ ।, दिल्ली र उत्तराखण्ड पनि नजिकै छन् । भारतको यी तीन राज्यका पर्यटकलाई मात्रै आकर्षित गर्न सके सुदूरपश्चिमको कायापलट हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?