कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यार्चाको आम्दानीले वर्षभरि खर्चको जोहो

मनोज बडू

दार्चुला — दार्चुलाको व्यास गाउँपालिका–४ का जयादत्त भट्ट वर्षौंदेखि यार्चागुम्बु टिपेर खर्च जुटाउँछन् । उनी एक महिना यार्चागुम्बु टिपेरै वर्षभरिको खर्चको जोहो गर्दै आएका छन् । १७ वर्षदेखि यार्चागुम्बु संकलनबाट नै पारिवारिक खर्च जुटाउने गरेको भट्टले बताए । ‘यार्चागुम्बु संकलनबाहेक अन्य आम्दानीको स्रोत छैन,’ उनले भने, ‘एक महिनाको जोखिमपूर्ण कमाइले घर खर्च चलाउने गरेको छु ।’ 

यार्चाको आम्दानीले वर्षभरि खर्चको जोहो

उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित विभिन्न पाटनमा यार्चागुम्बु टिप्न जाँदा वर्षभरलाई खर्च जुटाउँछन् । उनले वर्षमा ११ महिना घरको काम गर्ने, एक महिनामात्रै पाटनमा गएपछि एक लाख बढीको कमाइ हुन्छ । यो सिजनमा उनले यार्चागुम्बु संकलनबाट २ लाख १५ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

दुहु गाउँपालिका–५ का जमनसिंह बडाल पनि एक महिना यार्चागुम्बु संकलन गरेर वर्षभरिलाई घर खर्च जुटाउँछन् । ‘यार्चागुम्बु संकलनको एक महिनाको कमाइबाट ६ जना परिवारको लालनपालनसँगै केटाकेटीको पढाइ खर्च जुटाउँछु,’ उनले भने, ‘चार जना बालबच्चालाई पढाउनुपर्छ ।’ घर पनि हेर्नुपर्ने हुँदा मजदुरी गर्न बाहिर जान नसकिने र घरनजिक मजदुरी गर्न काम नपाइने उनले गुनासो गरे । ‘१३ वर्षबाट यार्चागुम्बु संकलन गरेर खर्च जोहो गरेको छु,’ बडालले सुनाए, ‘तीन/चार वर्षदेखि दुई बच्चाले पनि यार्चागुम्बु संकलन गर्न सघाउँछन् ।’ तीन जनाको यार्चागुम्बु संकलनबाट वर्षभरिको खर्च व्यहोरिँदै आएको उनले बताए ।

जिल्लाका अपी हिमाल, व्यास, नौगाड, दुहु र मार्मा गाउँपालिकाका अधिकांश गाउँबस्तीका मानिस यार्चागुम्बुको कमाइबाट घर खर्च चलाउँछन् । यार्चागुम्बु संकलनको सिजनमा घरको काम छाडेर हिँड्न सक्ने मानिस गाउँभन्दा यार्चा पाटनमा बढी हुन्छन् । जिल्लाका माथिल्लो क्षेत्रका स्थानीयको अधिकांशको घर खर्च यार्चागुम्बु संकलनबाट चलेको गौरीलमाडौं माध्यमिक विद्यालयका शिक्षक बिसनदत्त जोशीले बताए । ‘जिल्लाका सबै ठाउँका मानिस यार्चागुम्बु संकलन गर्छन् । तर, माथिल्लो भेगका स्थानीयको मुख्य आम्दानीको स्रोत नै यार्चागुम्बा हो,’ उनले भने, ‘यार्चागुम्बु संकलन नगरे घर चलाउनै सकिँदैन ।’ यार्चागुम्बु सिजनमा विद्यालयमा विद्यार्थी न्यून हुने गरेको उनी बताउँछन् ।

यार्चागुम्बा संकलनको समयमा महिला, पुरुष, स्कुले बालबालिका लेकतिर जान्छन् । दुई वर्ष कोरोनाका कारण यार्चागुम्बु संकलनमा समेत असर पर्‍यो । संकलन गरेकाहरूले अहिले यार्चागुम्बु बिक्री गरिरहेका छन् ।

धेरैजसोले यतिबेला यार्चागुम्बु बिक्री गरिसकेका छन् । यार्चागुम्बुकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने घटेका छन् । अपी हिमाल गाउँपालिका–१ का जगदीश धामीले एक महिना मिहिनेत गर्‍यो भने वर्षभरि खान, लगाउन पुग्ने बताए ।

प्रकाशित : श्रावण ३१, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?