कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

द्रुतमार्गको ट्र्याक खोल्नै २० वर्ष

८६ किलोमिटर ट्र्याक खोल्न १ अर्ब बढी रकम खर्च
डीआर पन्त

धनगढी — सुदूरपश्चिमको तराई क्षेत्रलाई पहाडी जिल्लासँग जोड्न निर्माण सुरु भएको द्रुतमार्गको ट्र्याक खुल्नै दुई दशकभन्दा बढी समय लागेको छ । कैलालीको खुटियादेखि डोटीको दिपायलसम्म ८६ किलोमिटर लामो द्रुतमार्ग निर्माणमा भएको अनियमितता र नीतिगत त्रुटिका कारण चार वर्षभित्रै ट्र्याक खुल्नुपर्नेमा २० वर्ष लागेको हो ।

द्रुतमार्गको ट्र्याक खोल्नै २० वर्ष

कैलालीको खुटिया नदीदेखि चुरे हुँदै डोटीको बर्छैन, खसरे र कफल्लेकीदेखि दिपायलसम्म जम्मा ८६ किलोमिटर दूरीको सडक निर्माण ०६० मा खुटिया—दिपायल फास्ट ट्र्याक निर्माण सुरु भएको थियो । लामो समयसम्म वन मन्त्रालयले चुरे क्षेत्रमा रुख कटानीको स्वीकृति नदिएका कारण सडक निर्माण सुरु हुन सकेन भने वनको स्वीकृतिपछि निर्माण कम्पनीहरूको लापरबाही र अनियमितताका कारण सडक निर्माण हुन सकेन । ‘०७४ भन्दाअघि लागेका ठेक्कामा अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन,’ आयोजनाका सूचना अधिकृत दिनेश रैखोलाले भने, ‘कहिले प्रदेश, कहिले स्थानीय तह र कहिले सडक डिभिजन कार्यालयले ठेक्का लगाएका कारण पनि सडक निर्माणमा ढिलाइ भएको देखिन्छ ।’ उनका अनुसार प्रदेश सरकार गठन भएपछि दुई वर्ष द्रुतमार्ग प्रदेश सरकारको मातहत थियो । उनले भने, ‘२०७६ पछि मात्र द्रुतमार्ग आयोजनाको कार्यालय खुलेपछि काम सुरु भएको हो ।’

रैखोलालले भने जस्तै द्रुतमार्ग निर्माणका लागि सुरुमा कैलाली र डोटी जिल्ला विकास समितिमार्फत काम भयो । त्यसपछि कुलपाते सडक डिभिजन कार्यालयले केही वर्ष जिम्मा लियो । त्यसपछि महेन्द्रनगर सडक डिभिजन कार्यालय मातहत यसको निर्माण कार्य अगाडि बढ्यो । ०७४ मा प्रदेश सरकारको भौतिक मन्त्रालयअन्तर्गत पनि काम भएको देखिन्छ ।

०७६ सम्म यो सडकमा विभिन्न कार्यालयमार्फत ७० करोडभन्दा बढी बजेट खर्च भएको छ । ट्र्याक खोल्न मात्र यति धेरै रकम खर्च भएको यो पहिलो सडक पनि हो । एक कन्सलटेन्ट इन्जिनियर हरिकृष्ण रेग्मी भन्छन्, ‘द्रुतमार्गमा पर्ने विभिन्न स्थानीय तहले आफ्नो क्षेत्रमा निर्माण गरेका ग्रामीण सडक पनि द्रुतमार्गमा जोडिएका छन् । स्थानीय तहको लगानी पनि जोड्ने हो भने ८६ किलोमिटर ट्र्याक खोल्न १ अर्ब बढी रकम खर्च भएको छ ।’

ट्र्याक खोल्ने ठेक्का पाएका ४ वटा निर्माण कम्पनीले अहिलेसम्म पनि आफ्नो काम सम्पन्न गरेका छैनन् । सूचना अधिकृत रैखोलाका अनुसार अहिले पनि विभिन्न ठाउंँमा कल्भर्ट निर्माणका काम त्यतिबेलाकै ठेक्कामा काम भइरहेको छ । ०६४ मा ठेक्का पाएका निर्माण कम्पनीहरूका कारण नै यो सडक निर्माणमा ढिलाइ भएको पनि सूचना अधिकृत रैखोलाले बताए ।

पछिल्लो समय धनगढीमा द्रुतमार्ग निर्माण आयोजनाको कार्यालय खुलेपछि सडक कालोपत्र गर्ने काम सुरु गरिएको छ । आयोजना कार्यालयका अनुसार डोटी र कैलाली दुवैतिरबाट सडक कालोपत्र गर्ने काम सुरु भइसकेको छ । सूचना अधिकृत रैखोलाका अनुसार २० किलोमिटर डोटीबाट र २९ किलोमिटर कैलालीबाट कालोपत्र बनाउन ठेक्का लागिसकेको छ । तर, यसअघि १३ किलोमिटर कैलाली र ७ किलोमिटर डोटीबाट सुरु भएको कालोपत्र गर्ने काम पनि सुरु हुन सकेको छैन । वर्षात्का कारण काम सुरु हुन नसकेको आयोजनाले जनाएको छ । ‘भदौबाट द्रुतगतिमा काम सुरु हुन्छ,’ सूचना अधिकृत रैखोलाले भने ‘यस वर्ष लागेका ठेक्कामा पनि काम सुरु हुन्छ ।’

प्रकाशित : श्रावण ३१, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?