भारतमा पाएको दुःखले बने व्यवसायी

‘गुजारा चलाउनै मुस्किल भएको मलाई अहिले घरपरिवारको खर्चका लागि समस्या छैन’
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर–४ का विष्णुदेव जोशी दिल्लीमा रोजगारी गर्थे । १० वर्षसम्म उनले दिल्लीमै बिताए । वर्षमा एक/दुई महिना घरमा बिताउँथे । एक पटक छोरीको उपचार गराउन उनी दिल्ली लगेर गए । रक्त क्यान्सर भएकी छोरीको उपचारका क्रममा उनले पनि रेल दुर्घटनामा खुट्टा गुमाए ।

एउटा अस्पतालमा छोरी र अर्कोमा बुबा भए । छोरी उपचार गराउन गएका आफैं खुट्टा गुमाएर अलपत्र परे । उपचारकै क्रममा छोरीको मृत्युपछि उनी झनै विरक्तिए । त्यसपछि दिल्लीको नोकरी पनि छाडेर उनी घरमै बरालिन थाले । लामो समय बेरोजगार बस्दा घर खर्च चलाउन नसकिने भयो । एकातिर खुट्टा गुमाएर अपांग हुनुपरेको पीडा त अर्कोतिर रोजगारी नहुँदा घरपरिवारको गुजारा चलाउन पनि समस्या । कृत्रिम खुट्टा हालेर हिँडडुल गर्न पनि समस्या हुने भएकाले उनी घर बाहिर निस्कँदैनथे ।

परिवारको खर्च चलाउनसमेत समस्या भएपछि उनले अपांगताकै बीच अगरबत्ती, नमकिन र चाउमिन बनाउने तालिम लिए । त्यसपछि आफू पनि तालिम दिन थाले । कोरोना संक्रमणपछि यसको माग झनै बढ्न थाल्यो । स्थानीय तहहरूले पनि सीपमूलक तालिम भन्दै नमकिन, पापड, चाउमिन र अगरबत्ती बनाउने तालिम दिन थाले । त्यसपछि जोशीलाई भ्याइनभ्याई भयो ।

तालिम दिन जान थालेपछि उनले कृष्णपुर नगरपालिका–५ को गुलरियामा नमकिन र मिठाई पसल थापे । त्यसबाट समेत उनको सम्पर्क बढ्दै गयो र तालिमका लागि आउने बढ्न थाले । ‘अहिले पसलमै राम्रो भइरहेको छ, तालिम दिन पनि गइरहन्छु,’ जोशीले भने, ‘गुजारा चलाउनै मुस्किल भएको मलाई अहिले घरपरिवारको खर्चका लागि समस्या छैन ।’

जोशीले दैनिक हजार/पन्ध्र सयसम्म बचत गर्छन् । तालिम दिन गएका बेला पनि पाँच/सात हजार बचत हुन्छ । उनीसँग कृष्णपुर नगरपालिका–४ मा ५ कट्ठा जमिन छ । त्यसबाट वर्षभरि खान पुग्दैन । पिठो, चामलदेखि अन्य खाद्यान्न खरिद गर्ने र छोराछोरीको पढाइ खर्च अहिले उनले नै चलाएका छन् । कृष्णपुर नगरपालिका–४ का सुरेन्द्र राना पनि भारतमै रोजगारी गर्थे । एक पटक उनी घर फर्किंदा बाटोमै लुटिए । त्यसपछि उनले कामका लागि भारत जाने कहिल्यै सोचेनन् । अहिले उनी गाउँकै विद्यालयमा अध्यापन गराउँछन् । यसका साथै उनले बाख्रापालन पनि गरेका छन् । श्रीमती हीराले बाख्रापालनमा सघाएकी छन् ।

‘घर फर्किंदा ल्याएको अलि–अलि पैसा र लुगा कपडा सबै लुटियो,’ ५ वर्षअघि भारतमा मजदुरी गरेर घर फर्किंदाको पीडा सम्झिँदै रानाले भने, ‘त्यही बेलादेखि कामका लागि भारत नजाने सोच बनाएँ ।’ उनी त्यसपछि केही समय बेरोजगार पनि बसे । गाउँकै एक स्कुलमा अध्यापनको काम पाएपछि उनमा हौसला बढ्न थाल्यो । जसले घरमै बाख्रापालनदेखि अन्य काम गर्न सघायो ।

प्रकाशित : श्रावण ३१, २०७९ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?