कर्मकाण्डी वृक्षरोपण, हुर्काउन छैन पहल- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मकाण्डी वृक्षरोपण, हुर्काउन छैन पहल

‘रोपिएका जति सबै बिरूवा हुर्केका भए अहिलेसम्म कैलालीको आवादीलाई ढाकिसक्थ्यो’
मोहन बुडाऐर

धनगढी — साउनको दोस्रो साता कैलालीमा नेतादेखि समाजसेवी र उच्चपदस्थ सरकारी कर्मचारीलाई भ्याइनभ्याई थियो । जिल्लाका सबैतिर वृक्षरोपणको यस्तो लहर चलेको थियो, मानौं सिंगो जिल्ला अब केही वर्षमा हरियालीले भरिनेछ ।

साउन ६ देखि १० सम्म नेपाली कांग्रेस कैलालीले धनगढी चौराहदेखि हसनपुर पञ्चोदय स्कुल पछाडिसम्म ४० औं बीपी स्मृतीको अवसरमा वृक्षरोपण गर्‍यो । यी दुवै वृक्षरोपणमा कांग्रेसका स्थानीयदेखि जिल्लास्तरीय नेतासम्म उपस्थित थिए । कांग्रेसले बीपीको स्मृतिमा वृक्षरोपण गरेको यो पहिलो वर्ष होइन । तर रोपेको सबै बिरुवा हुर्किंदैनन् । तर पनि हरेक वर्ष सनातनी परम्पराझैं वृक्षरोपणको कार्यक्रम जारी छ । सहायक वन अधिकृत पूर्णशंकर यादव नै वृक्षरोपण ‘फेसन’ भएको स्विकार्छन् । उनले भने, ‘रोपिएका बिरुवा जति सबै हुर्किएको भए, दर्जन बढी बीपी ‘प्लानटेसन’ क्षेत्र बनी सक्थ्यो होला ।’

१ साउनमा धनगढी उपमहानगरले भन्सार रोडको ६ लेन सडकमा पनि वृक्षरोपण कार्यक्रम गरेको थियो । १२ साउनमा पनि नैनादेवी क्लबले धनगढी रंगशालामा सय बिरुवा रोपेको थियो । यी सबैजसो कार्यक्रममा रोपिने बिरुवाको संख्याभन्दा धेरै मान्छेहरूको उपस्थिति त छ नै, उनीहरू बिरुवा रोप्नमा भन्दा बढी टिकटक बनाउन र सेल्फी खिच्न बढी व्यस्त देखिन्छन् । वृक्षरोपणका लागि कुदाकुद कतिसम्म छ भने धनगढी उपमहानगरका मेयर गोपाल हमाल साउन महिनामा प्रत्येक साता दुई वटाको दरले वृक्षरोपण कार्यक्रममा सहभागी भएको देखिन्छ ।

साउन र भदौका दुई महिनालाई जिल्लास्थित वन विभागका कर्मचारी वृक्षरोपण महिनाका रूपमा चिन्छन् । तर वृक्षरोपण गरिएका सबै रुख हुर्किएको देखिन्नन् । संरक्षणकर्मी विजयकुमार श्रेष्ठ वृक्षरोपण भन्दा त्यसलाई हुर्काउनु ठूलो काम भएको बताउँछन् । उनले भने, ‘रोपिएका जति सबै बिरुवा हुर्केका भएँ, ‘प्लानटेसन’ क्षेत्रले कैलालीको आवादीलाई ढाक्थ्यो होला ।’ वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका अनुसार एउटा विरुवाका निम्ती ४ देखि ५ मिटर क्षेत्रफल चाहिन्छ ।

वृक्षरोपणको यस्तो फेसनका निम्ति जिल्लास्थित वन कार्यलय पनि उत्तिकै जिम्मेवार देखिन्छ । किनकि धेरैजसो वृक्षरोपणमा वन कार्यालयले नै बिरुवा उपलब्ध गराउँछ । तर ती रोपेका बिरुवा हुर्काउने जिम्मेवारी न वृक्षरोपण गर्ने संघसंस्था वा समूहले लिन्छ न वन कार्यलयले नै त्यसको नियमन गर्छ । फलतः सरकारी ढुकुटी खर्चेर लगाइएका बिरुवा त्यसै मर्छन् । संरक्षणकर्मी श्रेठले भने, ‘बर्खामा वन कार्यालयबाट निःशुल्क पाउने बिरुवालाई खाली ठाउँमा वृक्षरोपण गर्ने एक प्रकारको रहर र लहर चलेको छ । यसरी त बिरुवा उत्पादनमा हुने लगानी खेर मात्रै गइरहेको छ ।’

जिल्लामा धनगढी र पहलमानपुरमा दुईवटा डिभिजन वन कार्यालय छन् । यी दुवै वन कार्यालयले हरेक वर्ष लाखौंको संख्यामा बिरुवा उत्पादन गर्छन् । धनगढी डिभिजन वन कार्यालयका योजना शाखाका सहायक वन अधिकृत डवलबहादुर बोहराले कैलालीमा हरेक वर्ष १० लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने र त्यही हाराहारीमा वृक्षरोपण गर्ने गरी बजेट विनियोजित हुने गरेको बताए । धनगढी डिभिजन वन कार्यालयसँग गत आर्थिक बर्ष ८८ लाख ५० हजार बजेटमा ८ लाख ८५ हजार बिरुवा उत्पादन गरेको थियो.। जसमध्ये यसले विभिन्न जातका करिब २ लाख बिरुवा वृक्षरोपण गरिसकेको छ । जसमा १ करोड ८४ लाख ४८ हजार खर्च भएको देखिन्छ । कार्यलयले ९२ हजार बिरुवा विभिन्न चार सामुदायिक वनमा वृक्षरोपण गरेको र अन्य करिब ७ लाख बिरुवा सामुदायिक वन, संघसस्था, ब्यक्तिहरूलाई निःशुल्क वृक्षरोपणका लागि दिएको देखिन्छ ।

पहलमानपुर डिभिजन कार्यालयले २१ लाख बजेटमा २ लाख १० हजार बिरुवा उत्पादन गरेको देखिन्छ । जसमध्ये कार्यालयले यही वर्षामा ९ हेक्टर जमिनमा करिब १२ हजार बिरुवा वृक्षरोपण गरेको र बाँकी १ लाख ९० हजार बिरुवा वृक्षरोपणका लागि सामाजिक संस्था, सामुदायिक वन र व्यक्तिलाई वितरण गर्‍यो । ‘वृक्षरोपणका लागि ५० लाख बजेट थियो,’ सहायक वन अधिकृत सुरेन्द्र कठायतले भने, ‘तारबारसहितको १२ हजार बिरुवा वृक्षरोपणमा ३४ लाख खर्च भएको छ ।’

कैलालीको गोदावरीको लक्ष्मी सामुदायिक वनको अतिक्रमित २१ हेक्टर खाली क्षेत्रमा गत वर्ष १० लाखको लगानीमा १० हजार बिरुवा रोपिएको थियो । तर बिरुवा हुर्केनन् । उनले भने, ‘यो वर्ष पुनः १० लाखको बजेटमा १२ हजार बिरुवा रोपिएका छन् ।’ कार्यालयले यही क्षेत्रको नयाँ खाली ठाउँमा थप १६ हजार बिरुवा रोप्न १३ लाख बढी रकम छुट्याएको छ । वन कार्यालयको वृक्षरोपणको कामसँग सामुदायिक वनका सदस्य भने खुसी देखिन्नन् । राधाकृष्ण सामुदायिक वनका अध्यक्ष खुमबहादुर खड्काले सामुदायिक वनलाई नै वृक्षरोपणका लागि लगातार बजेट पार्नु डिभिजन वन कार्यालयको गलत नीति रहेको बताए । उनले भने, ‘रोपिएका बिरुवा हुर्काउन नसक्नेलाई दोस्रो पटक नदिने नीति बनाउनुपर्छ ।’

रोपेका बिरुवा हुर्के/नहुर्केको हिसाब केही नराखी वन कार्यालयले बिरुवा रोप्ने काम मात्र गरिरहेको देखिन्छ । धनगढी वन डिभिजन कार्यालयले यो वर्ष उपमहानगरको १७ र कैलारी गाउँपालिकाको ९ नम्वर वडाको सामुदायिक वनको अतिक्रमित ११ हेक्टर क्षेत्रमा १४ लाख २४ हजार खर्चेर १६ हजार बिरुवा रोपेको देखिन्छ । त्यस्तैं गौरीगंगा ५ अन्डैयामा १३ हेक्टर खाली क्षेत्रमा १३ लाख २४ हजारको बजेटमा १६ हजार बिरुवा र सहजपुर मथुराको ४ हेक्टरमा ५ लाखको बजेटमा पनि १६ हजार बिरुवा रोपेको देखिन्छ ।

वृक्षरोपणमा सरकारी निकायले गरिरहेको खर्च माथि पनि सामुदायिक बनका नेतृत्वकर्ता प्रश्न गर्छन् । तेधरी सामुदायिक वनका पूर्व अध्यक्ष कैलासकुमार जोशीले गौरीगंगा ५ अण्डैयामा १३ लाख २४ हजार विरुवा रोप्दा १३ लाख २४ हजार खर्च हुने र सहजपुर मथुरामा १६ हजार बिरुवा रोप्दा ५ लाख खर्च हुने कसरी भयो भनेर प्रश्न गरे । उनले भने, ‘वृक्षरोपणको नाममा केही गडबड भईरहेको छ ।’ डिभिजन वन कार्यालयका प्रमुख डीएफओ केशव पराजुलीले सामुदायिक वन उपभोक्ता समितिबाट श्रमदान भएको ठाउँमा कम बजेटमा धेरै बिरुवा रोपिएको हुनाले खर्चमा फरकपना देखिएको बताए । कैलालीमा निजी क्षेत्र र बन कार्यालयले मात्रै वृक्षरोपण गरिरहेका छैनन । राष्ट्रपति चुरे कार्यक्र ले समेत जिल्लामा वृक्षरोपण गर्दै आइरहेका छन् । चुरे संरक्षणअन्तर्गत जिल्लामा १६ सय बिरुवा वृक्षरोपण गरिएको कार्यक्रमका प्रमुख भरत भट्टले बताए । उनले २ लाख बढी खर्च गरेर कैलालीको घोडाघोडी नगरपालिका ९ भगतपुरमा १६ सय सिसौं, खयर र मसलाका बिरुवाको वृक्षरोपण गरिएको बताए ।

प्रकाशित : श्रावण ३०, २०७९ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

रातभर ऐतिहासिक नाच

झन्डै चार दशक बन्द भएको भैल प्याखः लाई मध्यपुरवासीले २०७२ सालमा ब्युँताएका थिए
कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमिमा भैल प्याखः (भैरव नाच), महाकाली, नीलवाराही, इन्द्रअप्सरा, भस्मासुर र अष्टमातृका देवगण नाच प्रदर्शन सुरु भएको छ । झन्डै चार दशक बन्द हुन पुगेको यी नाचलाई मध्यपुरवासीले २०७२ सालमा ब्युँताएका थिए । थिमिको लायकु (दरबार) बाट निस्किने भैल प्याखः को अवलोकन गर्न शनिबार राति उपराष्ट्रपति नन्दबहादुर पुनसमेत पुगेका थिए । 


नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार करिब चार दशकसम्म सञ्चालन हुन नसकेको भैल प्याखः स्थानीयको पहलमा ०७२ सुरु भए पनि अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण सञ्चालनमा आउन सकेको थिएन ।

तान्त्रिक विधिअनुसार नचाइने भैल प्याखः चार दिनसम्म प्रत्येक साँझदेखि रातभर विभिन्न टोलमा प्रस्तुत गर्ने चलन छ । यस नाचमा दुई जना भैलः, दाःगिं (कुमारी) दुई जना र ज्यापुगः एक गरी पाँच देवगण सहभागी हुने गर्छ । यस वर्ष ज्यापुगः मा रिसल श्रेष्ठ, न्हापा भैलमा उज्वल श्रेष्ठ, लिपा भैलमा रोमन श्रेष्ठ, न्हापा दाःगिंमा सुजल श्रेष्ठ तथा लिपा दागिंमा श्रयण श्रेष्ठले नाचिरहेका छन् ।

भैलले खड्ग, कुमारीले डमरु र ज्यापुगःले कपासको यिबाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गर्छन् । नाचका क्रममा भैल र दागिंले क्रोधित मुद्रा प्रस्तुत गर्ने गर्छन् । त्यसपछि ज्यापुगःले ताय्ले हानेपछि उनीहरू शान्त हुन्छन् ।

भैल (भैरव) अत्यन्तै शक्तिशाली देवता मानिन्छ । नेपालभाषी बसोबास गर्ने टोलटोलमा भैलको पूजा हुन्छ । नृत्य हुन्छ । तर, ती सबै प्रचलन बिस्तारै लोप हुँदै गएको लाय्कु भैल प्याखः (भैरव जात्रा) सञ्चालन समितिका संयोजक एंव नाच प्रशिक्षक अर्जुन श्रेष्ठ बताउँछन् । थिमिमा देखाइने लाय्कु भैल प्याखः का गुठियारको जग्गा रैतानी गरिएपछि गुठी जग्गा मासिन पुगेको थियो । पःमा (प्रधान नाइके) लगायतको आयस्ता नै खोसिएपछि जात्रा सञ्चालन कठिन भएको स्थानीयको भनाइ छ ।

लाय्कू भैल प्याखःका साथै दिगुटोलमा महाँकाली, बोडेमा नीलवाराही, इन्द्रअप्सरा, भष्मासुर र अष्टमातृका देव गण नाच सुरु भएको छ । ऐतिहासिक नाच प्रदर्शनबाट आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न मध्यपुर पर्यटन विकास र प्रवर्द्धन फोरमसमेत गठन गरेको उपप्रमुख श्रेष्ठले बताए । नेपाल संवत् ६३३ मा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, लाय्कु भैल र महाकाली नाच सुरु गरेका थिए । किंवदन्तीअनुसार थिमिमा भूतप्रेत, दैत्य दानवले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधाना गरी देवीकै आज्ञाबमोजिम नाच सुरु गरेको भैल प्याखका प्रशिक्षक निरन्जन श्रेष्ठ बताउँछन् ।

प्रकाशित : श्रावण ३०, २०७९ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×