सडक अवरुद्धले हिँड्नै सकस

मनोज बडू

दार्चुला — दुहु र ब्यास गाउँपालिकालाई सदरमुकाम जोड्ने खलंगा–टिंकर सडक ठाउँ–ठाउँमा अवरुद्ध छ । सडक अवरुद्ध हुँदा यातायात ठप्प भएर यहाँका स्थानीय जोखिम मोलेर सदरमुकाम आवतजावत गर्न बाध्य छन् ।

सडक अवरुद्धले हिँड्नै सकस

बाढीपहिरोले बाटोघाटोमा क्षति पुग्दा पैदल हिाड्नसमेत समस्या छ । असारको सुरुकै वर्षाले ग्रामीण सडकहरू बन्द भइसकेका छन् । सडक तथा पैदल हिड्ने बाटोमा बाढी र पहिरोले धेरै ठाउँमा क्षति पुगेको स्थानीयले बताएका छन् । वर्षाका कारण सडकमा पहिलो खस्दा यस क्षेत्रमा स्थानीयबासिन्दाहरू गाउँदेखि जिल्ला सदरमुकाम खलंगा जान समस्या झेल्न बाध्य बनेका हुन् ।

दुहु गाउँपालिकाका सबै बस्तीको सदरमुकाम आउने सडक तथा पैदल मार्ग टिंकर सडक नै हो । ब्यास गाउँपालिकाका केही बस्तीका मानिसहरू मात्र टिंकर सडकको प्रयोग गरेर जिल्ला सदरमुकाम पुग्छन् । ‘दुहु गाउँपालिकाका सबै ठाउँका मानिसहरू टिकर सडकबाट नै खलंगा जानुपर्छ’ दुहु गाउँपालिका–१ पिपलचौरीका तोयराज जोशीले भने, ‘यो मार्गको ठाउँ–ठाउँमा पहिरो खसेको तथा सडक भासिएको छ ।’ यातायातको साधन त परै जाओस्, पैदल हिड्नलाई समेत समस्या भईरहेको छ । गाउँदेखि सदरमुकाम पुग्न भिरको बाटो भएकोले जोखिम मोलेर आवतजावत गर्नुपरेको उनको भनाई छ ।

यस सडकको दुहु र ब्यास गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खसेपछि पैदल हिँड्नसमेत अप्ठ्यारो भएको स्थानीयले बताएका छन् । जोशीका अनुसार माथिबाट ढुङगा खस्ने र हतारले हिड्दा चिप्लिएर तल खस्ने डर उत्तिकै छ । स्थानीय उत्पादन नपुगेर सबै चिज सदरमुकामबाट नै ल्याएर आपूर्ति गर्नुपर्ने भएकोले ब्यास र दुहु गाउँपालिकाले स्थानीयले सदरमुकाम आवतजावत गर्न धेरै ठाउँमा जोखिम मोल्नुपरेको हो, उनले भने । उनले स्थानीय सरकारलाई खसेको पहिरो पञ्छाई आवतजावतमा सहजता ल्याउन भनिए पनि चासो नदेखाएको गुनासो गरे ।

‘टिंकर सडक विभिन्न ठाउँमा अवरुद्ध हुँदा सामान ढुवानी भएको छैन’ दुहुका स्थानीय व्यापारी शिवराज जोशीले भने, ‘सुरुमा स्थानीयबाट नै सामान ढुवानी हुँदै आएको र अहिले सडक अवरुद्ध हुँदा सामान बोक्ने साधन नहुदा धेरैजसो सामान सकिन लागेको छ ।’

शिवराजका अनुसार दुहु गाउँपालिकाको हिकिला, पिपलचौरी क्षेत्रमा सामान ढुवानी गर्ने ट्याक्टर लगायतका सवारीसाधन नचल्दा चामल, तेललगायत दैनिक उपभोग्य सामान संकट बढ्दै गएको छ । चाडै सडक संचालन नभए केहि दिनमै खाद्यान्न संकटको अवस्था सृजना हुन सक्ने सम्भावना रहेको उनले बताए । ढुवानीको समस्या देखाएर स्थानीय व्यापारीहरूले महंगोमा सामान बेचिरहेका छन् । स्थानीयलाई आवश्यक परेको सामानको बढी भाउ भने पनि किन्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै गाउघरमा बाटो बन्द भएर औषधी उपचारका लागि सदरमुकाम पुग्नसमेत समस्या भएको दुहु गाउपालिका १ पिपलचौरीका चक्रदेव भट्टले बताए ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?