नाकामा बढ्दै कोरोना संक्रमित

कान्तिपुर संवाददाता

कञ्चनपुर — भारतबाट घर फर्किने क्रम बढेसंँगै नाकामा संक्रमितको संख्यापनि बढ्न थालेको छ । साउन लागेयता दिनहुँ बढ्दै गएको संक्रमण अहिले झनै तीब्र भएको छ । गड्डाचौकीस्थित हेल्थ डेस्ककाअनुसार शुक्रबार ८५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको छ ।

नाकामा बढ्दै कोरोना संक्रमित

साउनयता भारतबाट घर फर्किनेको संख्या दिनहुँ बढ्दै गएको छ । एकातिर रोपाइँको काम सकिएपछि काम खोज्दै भारत जानेको लर्को लागेको छ भने अर्कोतर्फ तीज र गौरालगायतका चाडपर्व नजिकिन थालेपछि घर फर्किने पनि बढ्न थालेका छन् । हेल्थ डेस्कका हेल्थ असिस्टेण्ट विशाल भट्टका अनुसार बिहीबार पनि गड्डाचौकी नाकाबाट ६५३ जन ाभित्रिएका थिए । सबैको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको थियो । ‘अहिले घर फर्किनेको संख्या बढेको छ, चाडपर्व नजिकिएपछि चाप बढेको हो,’ भट्टले भने, ‘अब गौरा र दसैंसम्मै यो क्रम बढ्नेछ ।’

साउन दोस्रो सातासम्म भारतबाट दैनिक ४/५ सय घर फर्किने गरेका थिए । त्यतिकै संख्यामा भारत जाने गर्थे । त्यतिबेलासम्म भारतबाट घर फर्किनेमध्ये केहीको मात्रै परीक्षण हुने गर्थ्यो । प्रभावित क्षेत्रबाट आएका, लक्षण देखिएका र शंकास्पदको मात्रै परीक्षण हुने गरेको थियो । भारतमा संक्रमण तीब्र बढ्दै गएपछि घर फर्किने सबैको परीक्षण हुन थालेको हो । ‘अहिले परीक्षणमा कडाइ गरेका छौं, भारतबाट घर फर्किने सबैको परीक्षण भइरहेको छ,’ हेल्थ असिस्टेण्ट भट्टले भने, ‘त्यहि भएर संक्रमित पनि बढी देखिएका छन् ।’ नाकामा संक्रमण देखिएकालाई एम्बुलेन्समार्फत महाकाली अस्पताल पुर्‍याइन्छ । तर अस्पतालबाट संक्रमितहरू सार्वजनिक यातायात चढेर घर जाने गरेका छन् ।

नाकामामात्रै होइन सुदूरपश्चिममै कोरोना संक्रमण बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार एण्टिजेन परीक्षणबाट २५ र पीसीआर परीक्षणबाट १२ गरी ३७ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार १ हजार ५१ को एण्टिजेन र ५६ को पीसीआर परीक्षण गरिएको थियो । सुदूरपश्चिममा बिहीबार १६८ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?