आयुर्वेदिक उपचारमा आकर्षण- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आयुर्वेदिक उपचारमा आकर्षण

मनोज बडू

दार्चुला — पछिल्लो समय स्थानीयमा आयुर्वेदिक औषधि र उपचार पद्धतिप्रति आकर्षण बढेको छ । अहिले आयुर्वेदिक उपचार गर्न र औषधि लिन दैनिकजसो २० देखि ३० बिरामी पुग्ने गरेका छन् । दिनमा एक/दुई जना सेवाग्राही आउने कार्यालयमा दैनिक २० जनाभन्दा बढी मानिस सेवा लिन आउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जनाएको छ ।

स्वास्थ्य केन्द्रमा ग्याष्ट्रिक, बाथरोग, कब्जियत, पायल्स, हातखुट्टा दुख्ने, रुघाखोकीजस्ता समस्या लिएर बिरामीहरू आउने गरेको केन्द्रका निमित्त प्रमुख रंगलाल महतले बताए । उनका अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा आयुर्वेद स्वास्थ्य केन्द्रबाट १० हजार ५ सय २६ जनाले सेवा लिएका थिए । जसमा महिला ५ हजार १ सय ४२ जना र पुरुष ५ हजार ३ सय ८४ जना छन् । यो तथ्यांक गत विगतका वर्षहरूभन्दा धेरैले बढि भएको उनको भनाई छ ।

प्रायःजसो सुनसान रहने आयुर्वेद संस्थाहरू देश संघीयतामा गई सकेपछि सरकारको लगानी तथा जनताको पहुँच बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको संख्या पछिल्लो समयमा बढ्दै गएको केन्द्रका निमित्त प्रमुख महतले बताए । घरेलु रुपमा आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरू पनि अहिले आयुर्वेद स्वास्थ्य केन्द्र आइपुग्ने गरेका छन् ।

जिल्लाको मार्मा, नौगाड, ब्याास गाउँपालिका र लेकम गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रहरूबाट स्थानीयले सेवा पाएका छन् । अन्य जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद सेवा सञ्चालनमा रहेको केन्द्रले जनाएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारण बिरामी नागरिक आरोग्य सेवा केन्द्रहरूबाट सेवा दिइरहेको महतको भनाइ छ । उनले स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटी जस्तै कालो हलेदो, ऐरेन्टको प्रयोग गर्दै स्टिम वाथ सञ्चालनमा ल्याई उपचार गरिरहेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा महिला बिरामीको लागि महिला अभ्यंगकर्ता र पुरुष बिरामीका लागि पुरुष अभ्यंगकर्ता कर्मचारीबाट स्टिम वाथ सेवा प्रदान गरिने उनले बताए । पछिल्लो समय कार्यालयले ल्याव सेवासमेत सञ्चालनमा ल्याएको छ । ‘केन्द्रमा आउने बिरामीहरूको निःशुल्क ल्याव परिक्षण गरी आयुर्वेदिक औषधिहरू प्रदान गरिएको छ’ निमित्त प्रमुख महतले भने, ‘केन्द्रबाट नियमित बिरामी जाँच, विशेषज्ञसहितको निःशुल्क आयुर्वेद शिविर, विद्यालय आयुर्वेद कार्यक्रम, योग शिविरहरू सञ्चालन गरी सेवा दिँदै आएका छौँ ।’

केन्द्रका अनुसार यस्तै ‘स्वस्थ जीवन’ कार्यक्रमअन्तर्गत प्रत्येक दिन जिल्ला सदरमुकामस्थित विकास संगठनको हलमा योग प्रशिक्षकबाट योगका प्रोटोकलहरू सिकाइन्छ । योगका प्रोटोकल समापनपछि कार्यक्रममा सहभागी सबैलाई एक क्याप्सुल शिलाजितसहित अमृत चिया पनि पिलाउने गरिएको छ ।

प्रत्येक शनिबारको दिन प्राविधिक कर्मचारीबाट सहभागीहरूको मधुमेह, रक्तचाप, तौल आदिसमेत चेकजाँच गर्ने गरिन्छ । केन्द्रले अहिले दैनिक बिरामी चेकजाँच, पन्चकर्म तथा परामर्श लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित : श्रावण २८, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा मनाइयो गाईजात्रा

विप्लव महर्जन

सल्यान — नेवार समुदायले सल्यानमा धुमधामका साथ गाईजात्रा पर्व मनाएका छन् । एक सातासम्म लगातार विभिन्न किसिमका जात्रा गरेर संस्कृतिको संरक्षण गर्दै जिल्लाबासीलाई मनोरन्जन दिलाउँदै आएका नेवार समुदायले जनै पूर्णिमाको दिन शुक्रबार र शनिबार दुई दिन गाईजात्रा पर्व मनाएका हुन् ।

मृतकको सम्झना स्वरुप गाई निकालेर नेवार समुदायले सदरमुकाम खलंगा बजार परिक्रमा गरेका थिए । गाईजात्रा हेर्नका लागि जिल्लाका विभिन्न क्षेत्रबाट सयौं मानिस सहभागी थिए ।


संस्कृतिको जगेर्णा गर्ने उद्देश्यका साथ गाईजात्रा पर्व मनाइएको गाईजात्रा सञ्चालन समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठले बताए । उनले शान्त र सौहार्दपूर्ण रुपमा गाईजात्रा पर्व मनाइएको जानकारी दिएए । ‘सल्यानमा दुई दिन गाईजात्रा पर्वसँगै एक सातासम्म रोपाइँ, सिपाही, बाघ, गणेश, भैरव र दही जात्रा मनाउने गरिन्छ,’ उनले भने, ‘गाईजात्रा उल्लासका साथ मनाउने गरेपनि अन्य जात्राहरुमा भने पहिलाको जस्तो रौनक भने छैन । विस्तारै लोप हुँदै गएको छ ।’


परम्परागत संस्कृतिको जर्गेना गर्न अति आवश्यक भएकाले ओझेलमा पर्न नदिन गाईजात्रा निकालेको नेवार समाजका बुद्धिजिवी टेकबहादुर श्रेष्ठले बताए । उनका अनुसार वि.स. १८३५ मा त्यसबेलाका बडाहाकिमसँग व्यापार गर्ने क्रममा काठमाडौं, भक्तपुर, कीर्तिपुर र पाल्पाबाट नेवारहरु सल्यान आएका थिए । सदरमुकाममा बस्ती बसेसँगै झन्डै तीन वर्ष पहिलेदेखि सल्यानमा गाईजात्रा पर्व मनाउँदै आइएको छ ।


काठमाडौं लगायत अन्य जिल्लाको तुलनामा सल्यानमा निकालिने गाईजात्रा विशेष खालको र केही फरक हुने गरेको नेवार समुदायका अर्का सल्लाहकार मिश्री प्रधानले बताए । पछिल्लो समयमा नेवार समुदायको पर्वमा क्षेत्री, ठकुरी लगायत अन्य जाती पनि सहभागी हुँदै आएको उनले बताए । उनका अनुसार डोकोमा बाँस बाँधेर त्यसलाई कपडा लगाएर सिँगारी मानव आकारको गाई तयार पारिन्छ । त्यसमा गाईको र मृतकको तस्बिर राखिन्छ । चारजना नाच्ने, चार मादले र एक डोके हुन्छन् । डोकेलाई डोकोभित्र छिराई मादलेको मादलको तालमा नर्तकहरु नाच्ने गर्छन र बजार घुमाइन्छ । मृतकको सम्झनामा एक मानव बच्चालाई सिँगारेर बाच्छा बनाइन्छ । जनैपूर्णिमाको दिन गाईको पुच्छर समातेर बैतर्नी पार गर्दै मरेका व्यक्ति स्वर्ग पुग्छन् र मुक्ति पाउँछन् भन्ने जनविश्वास रहेकाले सिंगारिएको गाईमा गाईको तस्बिर राख्ने गरिएको उनको भनाइ छ ।


मल्लकालीन राजा प्रताप मल्लकी रानीले छोराको मृत्यु भएपछि विलाप गर्न थालेपछि उनको मन शान्त पार्न राजाले गाईजात्रा निकाल्न लगाई गाईजात्रा पर्व मनाउन थालिएको जनविश्वास रहेकै कारण मृतकको आत्माले शान्ति पाओस् भनेर गाईजात्रा पर्व मनाउने धार्मिक तथा परम्परागत विश्वास रहेको छ ।


प्रकाशित : श्रावण २८, २०७९ ११:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×