१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

धनगढीमा ओझा र राणाको चर्चा

आरजुले कैलाली–५ मा सुरक्षित जीतको अवस्था नदेखे डडेल्धुरा, कञ्चनपुर–३ र बर्दियाबाट
मोहन बुडाऐर

धनगढी — मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभा निर्वाचन घोषणा भएसँगै सुदूरपश्चिमको प्रमुख सहर तथा प्रदेश राजधानी धनगढीमा दुई नेताबारे चुनावी बहस हुन थालेको छ । यहाँका चियापसलदेखि चोकचौतारामा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा र पूर्वराज्यमन्त्री तथा कांग्रेस नेता पुष्करनाथ ओझाबारे राजनीतिक विषयमा चासो राख्ने बीच मात्रै होइन सर्वसधारणमा पनि चासो बढेको छ ।

धनगढीमा ओझा र राणाको चर्चा

०७४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजु एमालेका नारदमुनि रानासँग करिब ४ हजार मतले पराजित भएकी थिइन् । त्यतिबेला दाबेदार रहेको नेता ओझाले आरजुलाई असहयोग गरेको आरोप लागेको थियो । त्यही आरोपले ओझा पार्टीबाट कारवाहीमा परेका थिए । ‘कांग्रेस समर्थक मतदाता बढी भएको मानिने धनगढी क्षेत्रबाट आरजु हारेपछि त्यसको दोष पुस्करनाथलाई लागेको थियो,’ कांग्रेस कैलालीका जानकार एलआर ओझाले भने, ‘आरजु हराएको आरोपमा कांग्रेसले ओझालाई साधारण सदस्यबाट निष्काशित गरेको कारबाही अहिलेसम्म फुकुवा भएको छैन ।’ उनका अनुसार कैलाली–५ मा कांग्रेसभित्रको आन्तरिक विवाद त्यसबेलादेखि देखा परेको हो । त्यतिबेला कारबाहीमा परेका सबैजसोको गत स्थानीय तह निर्वाचनमा फुकुवा भए पनि ओझाको हालसम्म कारबाही फुकुवा भएको छैन । ओझा माथिको कारबाही फुकुवा नगर्दा एकथरी नेता कार्यकर्तामा आरजुप्रतिको धारणा नकारात्मक भएर बसेको पूर्वविद्यार्थी नेता पुष्प ओझाको भनाइ छ ।

ओझाले मंसिर ४ मा कैलाली ५ बाट उम्मेदवार बन्ने अनौपचारिक घोषणा गरिसकेका छन् । उनले कांग्रेसका सक्रिय सदस्यहरूलाई आफ्नो उम्मेदवारी रहने जानकारी गराएको पूर्वविद्यार्थी नेता पुष्पले बताए । ‘कांग्रेसले टिकट नदिए पनि स्वतन्त्रबाट उम्मेदवारी पर्छ,’ उनीनिकट मानिएका पूर्वविद्यार्थी नेता पुष्पले भने । उनका अनुसार मतदाताबीच पनि नेता ओझाले भेटघाट बढाएका छन् । ‘आफ्नो उम्मेदवारीका विषयमा पार्टी सभापतिलगायतलाई जानकारीसम्म गराउन नेता ओझा काठमाडौं गएका छन्,’ उनले भने, ‘कैलाली ५ नम्वर क्षेत्रमा पार्टी सभापति बाहेक अरुको हकमा ओझा पछाडि जादैनन् होला ।’ दोस्रो संविधानसभा निर्वाचनमा प्रधानमन्त्री देउवा कैलाली ५ बाट पनि निर्वाचित भएका थिए । उपनिर्वाचनमा संविधानसभा सदस्य भएका थिए ।

आउँदो निर्वाचनमा स्वतन्त्रबाट भए पनि उम्मेदवार बन्ने ओझाको घोषणा र कांग्रेसबाट उम्मेदवार बन्ने चर्चामा रहेकी प्रधानमन्त्री पत्नी आरजुका कारण धनगढीको राजनीतिक बहस गर्माएको छ । ‘ओझाको स्वतन्त्र उम्मेदवारीले आरजुको जितहारमा प्रभाव पर्छ,’ कांग्रेस कैलालीका पूर्वसचिव दीपक जोशीले भने, ‘अहिलेको परिवेशसमा चोकचौतरामा दुई जनाबारे चर्चा हुनु स्वाभाविक हो ।’ गत स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल अत्यधिक मतका साथ निर्वाचित भएका थिए । हमालका प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख तथा केन्द्रीय सदस्य नृपबहादुर वड १२ हजार मतान्तरले पराजित भएका थिए । अधिकांश कांग्रेस कार्यकर्ताले वडलाई दोहोर्याउन नहुने सल्लाह दिँदा पनि आरजुकै बलमा टिकट दिएकोले कांग्रेसले धनगढीमा पराजय व्यहोर्नुपरेको धेरैजसो कार्यकर्ताको भनाइ छ ।

मंसिर ४ को निर्वाचनमा आरजुको चुनावी विश्लेषण गर्नेहरूले ओझा फ्याक्टर मात्रै नभएर पार्टीको गत फागुनमा सम्पन्न जिल्ला अधिबेशनको असर समेत पर्ने बताउँछन् । अधिवेशनयता बिग्रिएको निवर्तमान जिल्ला सभापति तथा प्रदेश महामन्त्री नरनरायण शाह र आरजु बीचको सम्बन्ध चुनौती थपिने कांग्र्रेसका जानकारहरू बताउँछन् । कैलाली–५ बाट उममेदवार बन्न आरजुले शाह र ओझा दुवै जनालाई मिलाएर लैजानुपर्ने धनगढी–५ का कांग्रेस क्षेत्रिय प्रतिनिधि नारायण सत्याल बताउँछन् । उनले यसो गर्दा कैलालीमा कांग्रेस एक ढिक्का हुने समेत दाबी गरे ।

कांग्रेसकै अर्का कार्यकर्ता दिपक कठायत धनगढीका मतदाता र बौद्धिक बर्गले आरजुबाट यस क्षेत्रको विकासका लागि धेरै आशा गरेकाले ओझाको स्वतन्त्र उम्मेदवारीले कुनै क्षति नहुने धारणा राख्छन् । ‘तर आरजु अघिल्लो चुनावमा एउटा घेरामा बस्नुभयो, चाकरीचाप्लुसीको घेरामा बस्दा हार ब्यहोर्नु परेको हो,’ कठायतले भने, ‘यसपटक घेराभित्र बसेर चुनावी मैदानमा उत्रिनु हुँदैन । आममतदाताले भेट्न सहज पहुँच दिनु पर्छ । आरजु भाउजूबाट धेरै फाइदा धनगढीले उठाउन सक्छ । मतदाता एक पटक त्यो अवसर दिन पनि चहान्छन् ।’ उनका अनुसार ओझा बारम्बार टेस्ट गरिसकेको नेता भएकोले जनताको आकर्षण नभएको बताए । ‘कांग्रेसभित्रका एकथरीलाई ओझाप्रति सहानुभूति रहेकाले कारबाही फुकुवा गरी अर्को सम्मानको ठाउँ दिन सकिन्छ,’ उनले भने, ‘ओझाबाहेक धनगढीमा अर्को जित्दै जित्दैनन् भन्ने भ्रम फैलाइरहेका छन् ।’

त्यस्तै, धनगढी–१ का वडाध्यक्ष प्रकाश विष्टले उनले जातीय र क्षेत्रीय कुरा गरेर राजनीतिक लाभ लिने तत्त्वले रैथानेको नारा लगाएको बताए । ‘आदिवासी जनजाति थारू र रानाबाहेक कैलाली–५ मा कोही पनि रैथाने होइनन्,’ उनले भने, ‘कोही पहाडबाट कोही पूर्वबाट बसाइसरेका छन् ।’ नेता ओझाको पुर्ख्यौली घर डोटी हो । यसैबीच, आरजुले कैलाली–५ मा सुरक्षित जितको अवस्था नदेखे डडेल्धुरा, कञ्चनपुर–३ र बर्दियाबाट उम्मेदवार हुन सक्ने चर्चा पनि छ । डडेलधुराबाट देउवाले कैलाली ५ मा आउने सक्ने र आरजु डडेलधुरा जाने कार्यकर्तावृत्तमा चर्चा छ ।


प्रकाशित : श्रावण २७, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?